वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएकी छन् ।
उपाध्यक्ष विष्ठले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै जारी गरेको ध्यानाकर्षणपत्रमा अध्यक्षको व्यक्तिगत स्वार्थ र प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विवादका कारण पालिकाको खाता सञ्चालन हुन नसकेको आरोप लगाएकी छन् ।
उनका अनुसार खाता सञ्चालन नहुँदा साउन महिनादेखि गाउँपालिकाअन्तर्गत कार्यरत कर्मचारी तथा शिक्षकले तलब, भत्ता र अन्य सेवा–सुविधा पाउन सकेका छैनन् । त्यसैगरी, गाउँपालिका तथा वडा तहका योजना र कार्यक्रमसमेत प्रभावित भएका छन् ।
विष्ठले प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी नदिइएका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या उत्पन्न हुन सक्ने बताएकी छन् । वृद्धवृद्धा, विधवा, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने अवस्था आउन लागेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।
हिन्दुहरूको महान् पर्व दसैँ सुरु भइसकेको र तिहार तथा छठ नजिकिँदै गरेको अवस्थामा कर्मचारीको तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।
उपाध्यक्ष विष्ठले गाउँपालिकाको एम्बुलेन्स निःशुल्क सञ्चालन गर्ने घोषणा गरिए पनि इन्धन अभावमा एम्बुलेन्स सञ्चालन हुन नसकेको आरोपसमेत लगाएकी छन् । अध्यक्षको व्यक्तिगत स्वार्थका कारण शिक्षा क्षेत्र प्रभावित भएको र अब स्वास्थ्य क्षेत्रसमेत प्रभावित हुने जोखिम रहेको उनले उल्लेख गरेकी छन् ।
ध्यानाकर्षणपत्रमार्फत विष्ठले व्यक्तिगत स्वार्थ, रिसराग र घमण्ड त्यागेर तत्काल गाउँपालिकाको खाता सञ्चालन गराउन अध्यक्ष जसवन्त यादवसँग आग्रह गरेकी छन् । उनले पालिकाको विकास निर्माण, सेवा प्रवाह र कर्मचारीको सेवा–सुविधा नियमित बनाउन आवश्यक पहल गर्नसमेत अनुरोध गरेकी छन् ।









