रौतहट । बैंक तथा डिजिटल वालेटको केवाईसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले घटनाबारे जानकारी दिँदै हालसम्म २२ वटा उजुरी परेको र ती उजुरीका आधारमा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको बताए ।
प्रहरीका अनुसार गत असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका–३ स्थित पोखरिया टोल र वडा नं. ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैगनियाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् । साहिल र सोनी गौर नगरपालिका–३ मा डेरा गरी बस्दै आएका थिए ।
प्रहरीले उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाका मुख्य योजनाकार तथा अन्य संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको एसपी रिजालले जानकारी दिए ।
विभिन्न सामग्री बरामद
पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ र तीन हजार २३६ भारतीय रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठगीमा प्रयोग भएको हुन सक्ने रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन सेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत नियन्त्रणमा लिएको छ ।
यसैगरी, प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात पनि बरामद भएका छन् ।
स्क्रिन सेयर नगर्न प्रहरीको आग्रह
ठगीमा परेको कुल रकम, अन्य पीडितको संख्या र रकम स्थानान्तरणमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगीको रकम कहाँ–कहाँ स्थानान्तरण भयो र डिजिटल कारोबारमा अन्य को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको एसपी रिजालले बताए ।
प्रहरीले बैंक वा डिजिटल वालेटको केवाईसी अपडेट गर्ने बहानामा अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । अपरिचित व्यक्तिलाई मोबाइलको स्क्रिन सेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण नदिन र शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ ।
अनलाइन ठगीमा परेका व्यक्तिहरूलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिनसमेत प्रहरीले अपिल गरेको छ ।








