Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

spot_img
spot_img

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र भने सकिएको थिएन। सामान्यतया कुनै चलचित्र हेरेपछि कथाको सुरुवात, कलाकारको अभिनय वा अन्त्यबारे सोचिन्छ तर Euphoria हेरेपछि मेरो मनमा भने एउटा अधिवक्ताका रूपमा अदालतमा उभिएर बहस गर्दा बारम्बार आउने प्रश्नहरू घुमिरह्यो। एउटा अभियुक्त अदालतसम्म आइपुग्दा त्यसको पछाडि उसको परिवार, साथी, विद्यालय, समाज र स्वयं उसको निर्णयमध्ये कुन/कुन कुराले भूमिका खेलेको हुन्छ? आखिरमा हामीले आफ्ना सन्तानलाई सफल बनाउन खोजिरहेका छौ कि असल मानिस बनाउन?

गुणशेखर निर्देशित Euphoria को कथा पाँच प्रभावशाली परिवारका किशोरहरूबाट सुरु हुन्छ। चैतरा नामकी युवतीमाथि पाँच युवकबाट भएको सामूहिक बलात्कारपछि कथा अनुसन्धान, प्रमाण, प्रभावशाली परिवार, प्रहरी, अदालत, परिवार र सामाजिक दबाब हुँदै अगाडि बढ्छ। चलचित्रमा चैतरा पात्रलाई सारा अर्जुनले र विकाश पात्रलाई विघ्नेश गविरड्डीले अभिनय गरेका छन भने विकाशकी आमा विन्ध्या पात्रमा भूमिकाले अभिनय गरेकी छन। चलचित्रले २०२२ मा हैदराबादको जुबली हिल्समा भएको चर्चित घटनाबाट प्रेरणा लिएको बताइएको छ।

म एउटा कानुन व्यवसायीका रूपमा यस्तो चलचित्र हेर्दा मेरो पहिलो ध्यान भावनामा भन्दा प्रमाणमा जान्छ। बलात्कार वा सामूहिक बलात्कार जस्तो गम्भीर फौजदारी मुद्दामा अदालतले सामाजिक आक्रोश वा भीडको धारणा होइन, प्रमाण, बयान, वैज्ञानिक परीक्षण, परिस्थितिजन्य तथ्य र प्रचलित कानुनका आधारमा निष्कर्ष निकाल्नुपर्छ। नेपालमा पनि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ले मञ्जुरीबिनाको करणीलाई जबर्जस्ती करणीको कसूर मानेको छ र १८ वर्षभन्दा कम उमेरकी बालिकाको हकमा मञ्जुरीको प्रश्नसमेत कानुनले अलग ढंगले सम्बोधन गरेको छ। त्यसैले बलात्कारको मुद्दा केवल “समाजले के भन्यो?” भन्ने प्रश्न होइन; यो प्रमाण र कानुनी जिम्मेवारीको प्रश्न हो।

Euphoria को सुरुवातमै अर्को महत्वपूर्ण पक्ष आउँछ। अभियुक्तहरू प्रभावशाली परिवारका सन्तान हुन्छन। यहीबाट चलचित्रले अपराध र शक्तिको सम्बन्धमाथि प्रश्न उठाएको हुन्छ। प्रभाव, पैसा र सामाजिक प्रतिष्ठा भएको परिवारले आफ्ना सन्तानलाई कानुनी प्रक्रियाबाट जोगाउन खोज्दा न्याय कमजोर हुन्छ कि हुँदैन?  चलचित्रमा धेरै अभिभावक प्रमाण नष्ट गर्न र घटनालाई दबाउन खोज्छन। तर विकाशकी आमा विन्ध्या भने आफ्नै छोराविरुद्ध प्रमाण प्रहरीलाई बुझाउने बाटो रोज्छिन। यही क्षणले चलचित्रलाई सामान्य अपराध कथाबाट पारिवारिक र नैतिक प्रश्नमा बदलिएको देखिन्छ।

हामीले अदालतमा बहस गरि रहदा एउटा कुरा हामीमा बारम्बार स्पष्ट भैरहेकै हुन्छ की अभियुक्तको परिवार हुनु र अपराधमा संलग्न हुनु एउटै कुरा होइन। कसैको छोरा, पति, भाइ वा बाबु अभियुक्त हुँदैमा उसको सम्पूर्ण परिवार अपराधी हुँदैन। फौजदारी दायित्व व्यक्तिगत हुन्छ। त्यसैले एउटा व्यक्तिको अपराधको सजाय उसको निर्दोष परिवारले सामाजिक रूपमा भोग्नु न्यायको सिद्धान्त होइन। तर यही कुरा अर्को पक्षबाट पनि हेर्नुपर्छ। परिवारले अपराध लुकाउने, प्रमाण नष्ट गर्ने, पीडितलाई दबाब दिने वा अनुसन्धान प्रभावित गर्ने काम गर्छ भने त्यो केवल “परिवारको माया” रहदैन, त्यसको आफ्नै कानुनी र नैतिक परिणाम हुन सक्छ।

यही ठाउँमा म एउटा अधिवक्ताका रूपमा आफैलाई प्रश्न पनि गर्छु की सन्तानलाई माया गर्नु भनेको उसको गल्ती ढाक्नु हो कि गल्ती देखाएर रोक्नु? Euphoria की विन्ध्याले दिएको उत्तर कठोर छ, तर गहिरो पनि छ। उनले पहिले छोराको अपराधलाई अपराधकै रूपमा स्वीकार गर्छिन। उनले आफ्नै मातृत्वभन्दा न्यायको पक्ष रोज्छिन। तर त्यसपछि पनि उनी आमा नै हुन। छोरालाई कानुनी सजाय भोग्न दिइसकेपछि उसको जीवन पूर्ण रूपमा समाप्त होस भन्ने पनि चाहन्नन्। उनी उसको सुधार चाहन्छिन।

यहाँ चलचित्रले दण्ड र सुधारबीचको सम्बन्धलाई अत्यन्त संवेदनशील ढंगले उठाएको छ। विकाश जेल जान्छन। पछि प्यारोलको माध्यमबाट बाहिर ल्याइन्छ। आमा उसको पढाइ र BITSAT परीक्षाको तयारी गराउन खोज्छिन। तर जेलबाट फर्किएको उसको मनोविज्ञान, साथीहरूको प्रभाव र लागुऔषधतर्फको आकर्षणले उसको अवस्था झन जटिल बनाइदिएको हुन्छ। अन्ततः आमाको पीडा देखेर ऊ फेरि पढाइतर्फ फर्किन्छ। यसले हामी वीच एउटा गम्भीर प्रश्न पनि उठाएको छ की दण्डले अपराधको जवाफ दिन सक्छ, तर सुधारको ढोका पनि खुला राख्नुपर्छ कि पर्दैन?

अदालतमा हामीले प्रायः कसूर भयो कि भएन? प्रमाण पुग्यो कि पुगेन? सजाय कति हुने? जस्ता प्रश्नमा बहस गर्छौ। तर त्यसभन्दा अगाडि हामीले आफ्नो समाजसंग एउटा प्रश्न सोध्नुपर्ने हुन्छ की त्यो व्यक्ति अपराधको बाटोमा पुग्नुअघि हामी कहाँ थियौ?

अपराधी जन्मिन्छ कि बनाइन्छ भन्ने प्रश्नको सरल उत्तर छैन। प्रत्येक अपराधको कारण एउटै हुँदैन। समाजमा भोगिरहेको अभाव, प्रभाव र दबाबले पनि अपराध निम्तियाउँछ। यसरी हेर्दा कुनै पनि अपराध व्यक्तिगत निर्णय, परिवार, साथीको प्रभाव, सामाजिक वातावरण, अवसर, आर्थिक अवस्था, नशा, शक्ति प्रदर्शनको संस्कृति, डिजिटल सामग्री र व्यक्तिको आफ्नै नैतिक निर्णय जस्ता धेरै पक्षले फरक/फरक भूमिकामा असर गर्न सक्छन। त्यसैले “छोराले अपराध गर्‍यो भने आमाबाबुको गल्ती” भन्नु पनि कानुनी र सामाजिक रूपमा सही निष्कर्ष होइन। तर “अभिभावकको कुनै भूमिका नै हुँदैन” भन्नु पनि यथार्थबाट भाग्नु सरहको हुन जान्छ।

हामीले घरभित्रका साना संकेतहरूलाई कति गम्भीरतापूर्वक लिन्छौँ? बच्चाले झूट बोल्यो भने “बालक हो, सिक्दैछ” भनेर छोडिदिन्छौ। शिक्षकलाई अपमान गर्‍यो भने “आजकलका बच्चा यस्तै हुन” भन्छौ। साथीलाई कुट्यो भने “केटाकेटीको झगडा हो” भनेर टार्छौ। अरूको सामान लियो भने “सानो कुरा हो” भन्छौ। सामाजिक सञ्जालमा अश्लील वा हिंसात्मक सामग्री हेर्न थाल्यो भने “मोबाइल नचलाऊ भन्न मिल्दैन” भनेर मौन बस्छौ। गलत साथीहरूसँग राति अबेरसम्म हिँड्न थाल्यो भने “ठूला हुँदैछ” भनेर बेवास्ता गर्छौ।

तर कुनै पनि व्यक्तिको चरित्र एकै दिनमा निर्माण हुँदैन। त्यसैगरी चरित्र एकै दिनमा बिग्रिँदैन। साना गलत कामलाई बारम्बार सामान्य मान्दै जाँदा गलत र सहीबीचको सीमारेखा विस्तारै मेटिन सक्छ। त्यहाँ परिवार, विद्यालय र समाजको भूमिका सुरु हुन्छ।

आज नेपालमा पनि हामीले यस्ता घटनाहरू बारम्बार देखिरहेका हुन्छौ, जहाँ यौन हिंसा, बाल यौन दुर्व्यवहार, साथीहरूको समूह, सामाजिक दबाब र डिजिटल माध्यम एकअर्कासँग जोडिएका देखिन्छन। यसरी विभिन्न यस्ता घटनाहरु सुनिरहँदा कहिलेकाही आफ्नै बुवा र आफन्तबाट पनि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक रुपमा देखिन्छ, सुनिन्छ। यसरी यस्ता घटनाले अपराध बाहिरको अपरिचित व्यक्तिबाट मात्र हुन्छ भन्ने हाम्रो सहज धारणालाई चुनौती दिन्छ भने कहिलेकाहीँ बालबालिकाका लागि खतरा उनीहरूले विश्वास गर्ने संरचनाभित्रै पनि हुन सक्छ।

यसरी पछिलो सालमा सिरहामा एक युवतीमाथि भएको भनिएको सामूहिक बलात्कारको घटना स्थानीय तहको अनौपचारिक “पञ्चायत” मार्फत मिलाउने प्रयास भएको र पीडित परिवारलाई उजुरी गर्न दबाब परेको समाचार सार्वजनिक भएको थियो। त्यो घटना सत्य असत्यको अन्तिम न्यायिक निष्कर्षको रूपमा होइन, तर कानुनी प्रक्रियाको ठाउँमा सामाजिक मिलाप वा दबाबले फौजदारी अपराधलाई विस्थापित गर्न खोज्ने प्रवृत्तिको उदाहरणका रूपमा हेर्नुपर्ने विषय थियो। बलात्कारजस्तो कसूरलाई सामाजिक प्रतिष्ठा, परिवारको इज्जत वा गाउँको सहमतिका नाममा मिलाउने सोच आफैमा गम्भीर प्रश्न पनि हो।

मैले Euphoria हेर्दा नेपालमा सार्वजनिक भएका यस्ता घटनाहरू सम्झिनुको कारण एउटै हो की अपराधपछि समाज निकै सक्रिय हुन्छ, तर अपराधअघि समाज कहाँ थियो भन्ने प्रश्न कम उठ्छ।

अझ केही दिन अगाडी मात्र सामाजिक सञ्जालले यो प्रश्नलाई झन जटिल बनाएको थियो। २०८३ भाद्र १ गतेको बाराको गरिमा प्रकरणमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानका क्रममा रहेको नाबालिग आरोपितको भिडियो सामाजिक सञ्जालमा फैलियो। त्यसपछि अनुसन्धानको गोपनीयता, बालबालिकाको अधिकार र अभियुक्तको पहिचान सार्वजनिक गर्ने प्रवृत्तिबारे गम्भीर प्रश्न पनि उठ्यो। यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ। अभियुक्तमाथि अनुसन्धान र पीडितलाई न्याय आवश्यक छ। तर न्यायको नाममा अनुसन्धानकै क्रममा नाबालिगको पहिचान सार्वजनिक गर्नु अर्को कानुनी तथा नैतिक समस्या बन्न सक्छ।

एक अधिवक्ताका रूपमा यो विषय मेरो लागि विशेष संवेदनशील छ। किनभने हामी अदालतमा “अपराधी” भन्ने शब्द प्रयोग गर्दा पनि कानुनी अवस्थाको ख्याल गर्नुपर्छ। अनुसन्धानको क्रममा रहेको व्यक्ति “अभियुक्त” हो, अदालतबाट दोष प्रमाणित भएपछि मात्र “कसूरदार” हुन्छ। तर सामाजिक सञ्जालले भने यी दुई शब्दबीचको दूरी नै मेटाइदिन्छ। केही सेकेन्डको भिडियो, एउटा पोस्ट वा एउटा आरोपकै आधारमा मानिसको सामाजिक फैसला हुन थाल्छ। यो प्रवृत्ति पीडितको न्यायका लागि पनि स्वस्थ होइन र निष्पक्ष फौजदारी न्यायका लागि पनि होइन भन्ने कुरा हामी सबैले बुझ्नुपर्ने जरुरी छ।

नेपालको अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ६ ले जबरजस्ती करणी, हाडनाता करणी, मानव बेचबिखन तथा यौन दुर्व्यवहारजस्ता कसूरमा पीडितको गोपनीयताको अधिकार सुनिश्चित गरेको छ र पहिचान सार्वजनिक गर्न नहुने व्यवस्था समेत गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि कसूरबाट पीडित वा कसूरको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ। त्यसैले “जनतालाई सबै कुरा थाहा हुनुपर्छ” भन्ने नाममा पीडित वा नाबालिग अभियुक्तको पहिचान सार्वजनिक गर्नु न्यायको विकल्प पनि होइन।

यही सन्दर्भमा Euphoria को सबैभन्दा महत्वपूर्ण पक्ष चैतरा हो। चलचित्रले चैतरा पात्रलाई केवल “बलात्कार पीडित” बनाएर छोड्दैन। उसलाई एउटा प्रश्न गर्ने मानिसका रूपमा प्रस्तुत गर्छ की गल्ती मेरो थिएन भने लाज मैले किन बोक्ने? यो प्रश्न नेपालमा पनि उत्तिकै सान्दर्भिक छ। यौन हिंसाको पीडितमाथि “कहाँ गएकी थियौ?, कससँग थियौ?, किन त्यहाँ गयौ?,  कस्तो कपडा लगाएकी थियौ?” जस्ता प्रश्न उठाउनु पीडितमाथि दोस्रोपटक सामाजिक हिंसा गर्नु पनि हो।

नेपालमा चर्चित भएका केही यौन हिंसासम्बन्धी मुद्दाहरूले पनि सामाजिक सञ्जाल कसरी पीडितलाई नै प्रश्न गर्ने माध्यम बन्न सक्छ भन्ने देखाएका छन। नेपालका चर्चित व्यक्तिहरुसँग सम्बन्धित यौन हिंसा सम्बन्धी घटनाहरूले सामाजिक सञ्जालमा न्यायबारे हाम्रो बुझाइ कति जटिल बन्दै गएको छ भन्ने पनि देखाएका छ। Gita Neupane र Bal Krishna Sharma को २०२५ मा प्रकाशित शैक्षिक अध्ययन “Rape Discourse and Slut Shaming in Nepali Social Media” ले नेपाली सामाजिक सञ्जालमा यौन हिंसाका घटनामाथि हुने बहसमा victim blaming, revictimisation र moral judgement जस्ता प्रवृत्ति देखिएको औल्याएको छ। Victim blaming अर्थात पीडितमाथि नै “किन त्यहाँ गइन? किन यस्तो गरिन? भन्दै घटनाको जिम्मेवारी थोपर्नु, revictimisation अर्थात हिंसा भोगिसकेकी पीडितलाई सामाजिक सञ्जालका टिप्पणी, आरोप र प्रश्नमार्फत फेरि मानसिक तथा सामाजिक पीडा दिनु र moral judgement अर्थात घटनाको कानुनी तथ्यभन्दा पीडितको चरित्र, व्यवहार वा नैतिकतामाथि फैसला सुनाउनु हो। अध्ययनले यस्ता डिजिटल बहसले पीडितमाथिको सामाजिक दबाबलाई थप गहिरो बनाउन सक्ने देखाएको पनि छ।

तर चलचित्र फेरि त्यही ठाउँमा फर्किन्छ जहाँ कानुन र न्यायको मूल अर्थ सुरु हुन्छ जुन हो प्रमाण।

यसै सन्दर्भमा नेपालको घटनालाई हेर्दा मिति २०८२/०३/१० मा सर्वोच्च अदालतले मोरङमा करिब एक दशकअघि अर्थात मिति २०७३/१०/१० गते भएको सामूहिक बलात्कार मुद्दामा अजय पासवान, सुजित चौधरी, राजेश कामत र रविन कामतलाई दोषी ठहर गर्दै प्रत्येकलाई नौ वर्ष कैद सजाय सुनाएको समाचार सार्वजनिक भयो। सर्वोच्च अदालतले पीडितले आफ्नो पहिलेको बयान परिवर्तन गरेको वा hostile witness भएको मात्र कारणले भौतिक, वैज्ञानिक र परिस्थितिजन्य प्रमाणबाट कसूर स्थापित भएको अवस्थामा अभियोजन असफल नहुने ठहर गरेको थियो। यो घटनाले अदालतमा भावनाभन्दा प्रमाणको भूमिका किन निर्णायक हुन्छ भन्ने कुरा फेरि सम्झाउँछ।

तर यहाँ पनि अर्को सावधानी आवश्यक छ। न्यायको नाममा पीडितको पीडा कम आँक्नु हुँदैन। त्यस्तै अभियुक्तको कानुनी अधिकार पनि हटाउनु हुदैन। न्याय भनेको पीडितको आवाज सुन्नु र अभियुक्तलाई निष्पक्ष प्रक्रिया दिनु दुवै हो। अदालतको काम भीडको आक्रोशलाई कानुनी फैसला बनाउनु कदापी होइन प्रमाणको परीक्षण गरेर सत्य स्थापित गर्नु हो।

यही कारणले Euphoria मा विकाशकी आमाको भूमिका मलाई विशेष अर्थपूर्ण लाग्छ। उनले आफ्नो छोरालाई बचाउन प्रमाण नष्ट गरिनन्। बरु प्रमाण प्रहरीलाई दिइन। तर सजाय भोगिने क्रममा उसको सुधारका लागि फेरि उसको छेउमा उभिइन। यसले एउटा ठूलो सामाजिक सत्य पनि बताउँछ की सन्तानलाई बचाउनु र सन्तानको अपराधलाई बचाउनु एउटै कुरा कदापी होइन।

हामी कहाँ कतिपय परिवारमा “घरको कुरा बाहिर जान दिनु हुदैन, समाजमा इज्जत जान्छ, छोराको भविष्य बिग्रिन्छ, पैसाले मिलाउन सकिन्छ” भन्ने सोच अझै भेटिन्छ। तर एकपटक हामी सबैले सोचौ, आज सत्य लुकाएर हामीले छोराको भविष्य बचायौ कि उसको गलत व्यवहारलाई अझ बलियो बनायौ?

अभिभावकले छोरालाई महँगो मोबाइल, मोटरसाइकल, राम्रो विद्यालय, विदेश पढ्ने अवसर र पर्याप्त पैसा दिन सक्छ। तर उसले कसैलाई अपमान गर्दा रोक्ने समय दिएको छ कि छैन? उसले गलत साथी रोज्दा कुरा गरेको छ कि छैन? उसले कुनै युवतीलाई वस्तुजस्तो व्यवहार गर्दा “यो गलत हो” भनेर सिकाएको छ कि छैन? उसले असफल हुँदा साथ दिएको छ कि केवल सफल हुँदा फोटो खिचेको छ ?

हामीले बच्चालाई धेरै सुविधा दिएका छौ तर के हामीले उनीहरूलाई पर्याप्त समय दिएका छौ ?

आजको अभिभावकको ठूलो चुनौती यही हो। बिहान कार्यालय, दिनभर व्यापार, बेलुका सामाजिक सम्बन्ध, बैठक, राजनीति, व्यवसाय र मोबाइल तर बच्चासँग कुरा गर्ने समय ? कहिलेकाही एउटै घरमा बस्ने चार मानिस चारवटा स्क्रिनमा हुन्छन। बच्चाले आफ्ना कुरा आमाबाबुलाई भन्दा इन्टरनेटलाई भन्न थालेपछि हामीले उसलाई “अवज्ञाकारी” भन्नुभन्दा पहिले आफूले उसको कुरा सुन्न कति समय दियौ भनेर सोच्नुपर्ने हुन्छ।

अपराध केवल अदालतको फाइलमा जन्मिदैन। कहिलेकाही त्यो घरको मौनतामा, विद्यालयको बेवास्तामा, साथीहरूको गलत प्रभावमा, नशाको पहिलो प्रयोगमा, सामाजिक सञ्जालको गलत सामग्रीमा, महिलालाई सम्मान नगर्ने मजाकमा र “केटाहरूले यस्तो गर्नु सामान्य हो” भन्ने संस्कारमा विस्तारै तयार हुँदै जान सक्छ।

तर हामी फेरि स्पष्ट हौ की यसको अर्थ अपराध गर्ने व्यक्तिको कानुनी जिम्मेवारी परिवारमाथि सार्नु होइन। अपराधको कानुनी दायित्व अपराध गर्ने व्यक्तिकै हुन्छ। परिवार, साथी, विद्यालय वा समाजले प्रभाव पारेका हुन सक्छन। त्यसले अपराधको व्यक्तिगत जिम्मेवारी समाप्त गर्दैन। यही सन्तुलन कानुन र समाज दुवैले बुझ्नुपर्छ।

Euphoria को चरम दृश्यमा पुग्दा चलचित्रले सबैभन्दा ठूलो प्रश्न दर्शकको मनमा छोड्छ। विकाश परीक्षामा सहभागी हुन स्वीकृति लिन जान्छ। त्यहाँ उसले देख्ने व्यक्ति अरू कोही नभई त्यही चैतरा हुनछिन जसको जीवनमा उसले र उसका साथीहरूले अकल्पनीय पीडा दिएका थिए। आज चैतरा जिम्मेवारीको कुर्सीमा छिन र विकाश भने अपराधको परिणाम बोकेर आफ्नो अर्को सम्भावित जीवनको एउटा सानो ढोका खोजिरहेका हुन्छन।

चैतरा आफ्नो व्यक्तिगत पीडा लिएर पनि आफ्नो जिम्मेवारी पूरा गर्छिन। ऊ विकाशलाई परीक्षा दिन अनुमति दिनछिन। यही दृश्यमा चलचित्रको सम्पूर्ण दर्शन एउटा मौन संवादमा परिणत हुन्छ। विकाशको आँखामा आएको आँसु केवल डरको आँसु थिएन सायद त्यो आफूले गुमाएको जीवनको आँसु थियो। सायद उसको मनमा एउटा प्रश्न पनि उठिरहेको होला की  “म पनि सही बाटोमा हिँडेको भए आज म कहाँ हुन्थे ?”

सायद ऊ सोचिरहेको होला, यदि मैले गलत साथी रोजेको थिइनँ भने? यदि कसैले मलाई समयमै रोकेको भए? यदि मैले महिलालाई सम्मान गर्न सिकेको भए? यदि घरमा पैसा मात्र होइन, अनुशासन र संवाद पनि पाएको भए? यदि मेरो जीवनको एउटा सानो मोडमा मैले सही निर्णय गरेको भए आज म जेल, प्यारोल र परीक्षाको अनुमति खोज्दै यहाँ हुन्थे कि चैतरा बसेको जिम्मेवारीको कुर्सीमा ?

यही कारणले त्यो दृश्य मलाई अदालतको कुनै फैसला भन्दा कम शक्तिशाली लागेन। अदालतले एउटा कसूरको कानुनी परिणाम दिन सक्छ तर जीवनले कहिलेकाही मानिसलाई उसको आफ्नै सम्भावित जीवनसँग आमनेसामने गराइदिन्छ।

नेपालमा पनि हामीले अपराधपछि धेरैपटक कठोर सजायको माग गर्छौ। त्यो माग गम्भीर अपराधमा कानुनी न्यायको एउटा पक्ष हुन सक्छ। तर अपराध रोक्ने समाज बनाउन सजाय मात्र पर्याप्त हुदैन। प्रतिकारात्मक न्यायसँगै रोकथाम र सुधारको प्रश्न पनि उठाउनुपर्छ।

हामीले बालबालिकालाई कानुन पढाउनुपर्छ। तर कानुनको डर मात्र होइन, अरूको अधिकारको सम्मान पनि सिकाउनुपर्छ। “बलात्कार गरे जेल जान्छौ” भन्नु आवश्यक छ तर त्यसभन्दा अगाडि “अर्को मानिसको शरीर, इच्छा र मर्यादामाथि तिम्रो अधिकार छैन” भन्नु अझ आवश्यक छ। नशा गरे खराब हुन्छ” भन्नु आवश्यक छ तर बच्चा किन नशातर्फ आकर्षित हुदैछ भन्ने कुरा बुझ्नु पनि आवश्यक छ। “गलत साथी नबनाऊ” भन्नु आवश्यक छ तर बच्चाको साथी को हो भनेर थाहा पाउने सम्बन्ध पनि बनाउनु आवश्यक छ।

आज हामी छोराछोरीको भविष्यका लागि बैंक ब्यालेन्स बनाइरहेका छौ। तर उनीहरूको चरित्रका लागि के बनाइरहेका छौ ?

हामी उनीहरूलाई विदेश पढाउन चाहन्छौ, ठूलो विश्वविद्यालयमा पठाउन चाहन्छौ, राम्रो जागिर चाहन्छौ, व्यवसायी, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी बनाउन चाहन्छौ। तर उनीहरू असल मानिस बनून् भन्ने कामलाई त्यही स्तरको प्राथमिकता दिएका छौ ?

किनकि एउटा मानिस ठूलो पदमा पुग्नु र राम्रो मानिस हुनु एउटै कुरा होइन। ठूलो घर हुनु र सुरक्षित परिवार हुनु एउटै कुरा होइन। महँगो विद्यालयमा पढ्नु र सही गलत छुट्याउन सक्नु एउटै कुरा होइन। धेरै पैसा कमाउनु र अरूको सम्मान गर्न जान्नु एउटै कुरा होइन।

एक अधिवक्ताका रूपमा अदालतमा बहस गर्दा म प्रमाण, कानुन, नजिर र प्रक्रियाको कुरा गर्छु। तर अदालतबाहिर समाजलाई हेर्दा एउटा अर्को कुरा पनि देखिन्छ की कानुनले अपराध भएपछि प्रतिक्रिया दिन्छ तर परिवार र समाजले अपराध हुनुअघि वातावरण बनाउँछन।

त्यसैले अपराध रोक्ने पहिलो अदालत सायद हाम्रो घर हो। पहिलो न्यायाधीश अभिभावक होइनन्, तर पहिलो नैतिक शिक्षक अवश्य हुन्। पहिलो अभियोजनकर्ता विद्यालय हुन सक्छ, पहिलो साक्षी साथी हुन सक्छ, पहिलो सुधारगृह समाज हुन सक्छ। यसरी यदि यी सबै संरचनाले आफ्नो भूमिका निर्वाह गरे भने प्रहरीको फाइलमा पुग्ने अपराधका केही बाटा बाटोमै रोक्न सकिन्छ।

तर पीडितको विषयमा हामी अझ संवेदनशील हुनुपर्छ। अपराधको कारण खोज्ने क्रममा पीडितको पीडा कहिल्यै ओझेलमा पर्नु हुदैन। “अपराधी किन बन्यो?”  भन्ने प्रश्न महत्वपूर्ण छ, तर त्यसले “पीडितले के भोगिन्?” भन्ने प्रश्नलाई विस्थापित गर्न सक्दैन। Euphoria को वास्तविक केन्द्र विकाश होइन, चैतरा पनि हो किनकि उसको जीवनमा भएको क्षति उसले रोजेको थिएन। विकाशसँग सुधारको अवसर हुन सक्छ तर त्यसले चैतरा वा वास्तविक पीडितले भोगेको पीडा मेटिदैन।

यही सन्तुलन नै न्यायको सार हो जहाँ पीडितलाई न्याय, अभियुक्तलाई निष्पक्ष प्रक्रिया, दोषीलाई कानुनी सजाय, निर्दोष परिवारलाई अनावश्यक सामाजिक सजायबाट सुरक्षा र सुधार सम्भव हुने ठाउँमा सुधारको अवसर।

हिजो राति Euphoria सकिएपछि मेरो मनमा अन्ततः चलचित्रको होइन, आफ्नै समाजको प्रश्न बाँकी राख्यो की हामी आफ्ना छोराछोरीलाई कस्तो भविष्य दिइरहेका छौ ?

हामीले उनीहरूलाई पैसा दिएका छौ, सुविधा दिएका छौ, मोबाइल दिएका छौ, मोटरसाइकल दिएका छौ,  राम्रो विद्यालय दिएका छौ, विदेश पठाउने सपना दिएका छौ। तर के हामीले उनीहरूलाई आफ्नो समय दिएका छौ ? उनीहरूलाई गलत र सहीबीचको फरक बुझाएका छौ ? असफल हुँदा अँगालो हालेका छौ ? गल्ती गर्दा रोक्ने साहस गरेका छौ ?  अरूको सम्मान गर्न सिकाएका छौ ? महिलालाई व्यक्ति होइन, पूर्ण मानवका रूपमा हेर्न सिकाएका छौ? “तिमी मेरो छोरा हौ, त्यसैले तिमीले जे गरे पनि म तिम्रो पक्षमा छु” भन्ने संस्कार दिएका छौ कि “तिमी मेरो छोरा भएकाले नै गलत गर्दा म तिमीलाई रोक्छु” भन्ने संस्कार ?

सायद Euphoria को सबैभन्दा ठूलो सन्देश यही हो की अपराध भएपछि मात्र बच्चालाई सम्हाल्न खोज्नु ढिलो हुन सक्छ।

अदालतले अपराध भएपछि फैसला गर्छ। प्रहरी अपराध भएपछि अनुसन्धान गर्छ। सरकारी वकिल अपराध भएपछि अभियोजन गर्छ। जेल अपराधपछि सजाय भोगाउने स्थान हो। तर परिवारसँग अपराध हुनुअघि एउटा जीवनलाई सही बाटो देखाउने समय हुन्छ। त्यसैले प्रश्न केवल “अपराधीलाई कति सजाय?” भन्ने होइन। प्रश्न यो पनि हो की “अपराध हुनुअघि हामीले के गर्‍यौ ?” र अन्ततः एउटा अभिभावकका लागि सबैभन्दा कठिन तर सबैभन्दा आवश्यक वाक्य सायद यही हो की सन्तानलाई माया गर्नु भनेको उसको गलत कामको रक्षा गर्नु होइन, गलत काम गर्दा उसको अगाडि उभिएर ‘तिमी गलत छौ भन्न सक्ने साहस गर्नु पनि हो।

किनकि कहिलेकाही एउटा आमाले आफ्नै छोराविरुद्ध दिएको प्रमाणले उसलाई सजायसम्म पुर्‍याउँछ तर त्यही आमाले पछि उसको हात समातेर सुधारको बाटोमा ल्याउन सक्छिन र कहिलेकाही एउटा अदालतले अपराधको फैसला गर्छ तर एउटा बच्चाले भविष्यमा अपराधी बन्ने कि जिम्मेवार नागरिक बन्ने भन्ने फैसला त्यसअघिका हजारौ साना क्षणहरूले गरिरहेका हुन्छन ।

त्यसैले Euphoria केवल तेलुगु चलचित्र मात्र होइन हामीले आफ्नै घर, आफ्नै सन्तान, आफ्नै समाज र अन्ततः आफ्नै जिम्मेवारीतर्फ फर्केर हेर्नुपर्ने एउटा ऐना हो ।

लेखकः अधिवक्ता कन्हैया चौरसिया

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...