वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा आयोजित शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारीले गरेका थिए । शिविर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराकी प्रमुख ब्रह्माकुमारी मधु दिदीको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्षेत्रका अगुवा व्यक्तित्व तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका थिए । डा. रविन्द्र कुमार सिडरले सामान्य तथा विभिन्न रोगको परीक्षण गरेका थिए भने डा. पशुपतीनाथ भट्टले युरोलोजी, प्रोस्टेट तथा मिर्गौला सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए ।
त्यस्तै, डा. अशोक दासले बालरोग, डा. पन्नालाल प्रसादले नाक, कान तथा घाँटी, डा. नवीन कुशवाहले मुटु, थाइराइड तथा मधुमेह, डा. अनि पाण्डेले स्त्रीरोग, डा. मुकुन्द यादवले शल्यक्रिया तथा सर्जरी, डा. अरविन्द साहले हाडजोर्नी तथा नसासम्बन्धी, डा. मिथिलेश कुशवाहले आँखासम्बन्धी र डा. उषा महतोले दाँत, मुख तथा गिजासम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरबाट स्थानीय नागरिकले विभिन्न रोगका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष स्वास्थ्य परामर्श तथा परीक्षणको सुविधा पाएको ब्रह्माकुमारी सिमराका परमेश्वर श्रेष्ठले जानकारी दिए ।








