वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा सार्वजनिक तथा कृषि वन क्षेत्र संरक्षण गर्ने उद्देश्यले करिब २० बिघा जग्गामा वृक्षरोपण अभियान सुरु गरिएको छ ।
‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत बुधबारदेखि सुरु भएको अभियानमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक र सिसौलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको गाउँपालिकाको वन शाखाले जनाएको छ । रोपिएका बिरुवाको संरक्षणका लागि क्षेत्रलाई तारबारसमेत गरिएको छ ।
वृक्षरोपण कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले बिरुवा रोपेर गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रिजालले वृक्षरोपणले सार्वजनिक जग्गाको संरक्षणसँगै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, गाउँपालिका उपाध्यक्ष बविता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई वन व्यवस्थापन समिति अध्यक्ष सहरुम गदी, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापालगायतको सहभागिता थियो ।
फुलुवरिया माई कृषि वन सार्वजनिक जग्गा व्यवस्थापन समूहका अनुसार रोपिएका बिरुवाको संरक्षण, स्याहार तथा हुर्काउने जिम्मेवारी स्थानीय समुदाय र व्यवस्थापन समूहले संयुक्त रूपमा लिनेछन् । आगामी दिनमा क्षेत्रको थप भूभागमा वृक्षरोपण गरी हरियाली विस्तार गर्ने योजना रहेको समूहले जनाएको छ ।
यसअघि गाउँपालिका–६ औराहास्थित ७ बिघा सार्वजनिक ऐलानी पर्ती जग्गामा एक हजार ५ सय बिरुवा रोपिएको थियो । अध्यक्ष यादवका अनुसार ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत वडा नम्बर ४ को सोहपुर–सोहरीमा ६ बिघा, वडा नम्बर १ को पिडारी गुठ्ठीमा ७ बिघा तथा वडा नम्बर २ को दसौतामा १२ र १५ बिघा ऐलानी जग्गामा समेत वृक्षरोपण सम्पन्न भइसकेको छ ।








