पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट दुई थान मोटरसाइकलसमेत बरामद गरिएको छ।
एसएसबीको ४३औँ वाहिनीअन्तर्गत धनगढवा सीमा चौकीबाट खटिएको टोलीले सीमा स्तम्भ नम्बर ५४६ नजिकै बनकसिया गाउँ क्षेत्रमा गस्ती गर्ने क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
गस्तीका क्रममा दुई जना व्यक्ति मोटरसाइकलमा सामान बोकेर सीमातर्फ आउँदै गरेको देखेपछि सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीलाई देखेपछि दुवै जनाले सामान र मोटरसाइकल छाडेर भाग्न खोजेका थिए। सो क्रममा एक जना पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार भएका छन्।
एसएसबीका अनुसार पक्राउ पर्ने व्यक्ति कपिलवस्तु जिल्लाको शिवलवा भन्सार, हतिहवा थाना क्षेत्रका नेपाली नागरिक हुन्।
उनको साथबाट एक बोरा युरिया मल, ६ बोरा गहुँको बीउ गरी कुल २२० किलो सामग्री तथा दुई थान मोटरसाइकल बरामद गरिएको छ।
बरामद सामग्री, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई थप कानुनी कारबाहीका लागि ककरहवा भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ।








