वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई छुट्टाछुट्टै रक्तदान शिविर आयोजना गरेको छ ।
‘सेवा, संस्कार र संगठन’को भावनाअनुसार आयोजित पहिलो रक्तदान शिविर हुलास हिपको–लालपर्साको सहयोगमा सम्पन्न भएको थियो । उक्त शिविरमा ५० जनाले रक्तदान गरेका छन् । शिविरमा हुलास हिपकोका कमर्शियल जनरल म्यानेजर रवि सिन्हाको उपस्थिति रहेको थियो ।
त्यसैगरी, तेरापन्थ जैन भवनमा विशेष महिला रक्तदान शिविर आयोजना गरिएको थियो । नेपाल अग्रवाल महिला मञ्चसँगको सहकार्यमा आयोजित उक्त शिविरमा १५ जना महिलाले रक्तदान गरेका छन् । शिविरमा मञ्चकी अध्यक्ष नूतन सरावगीसहित उनको टोलीको सहभागिता रहेको थियो ।
दुवै शिविरमा गरी कुल ६५ जनाले रक्तदान गरेका छन् । आयोजकका अनुसार रक्तदानमार्फत बिरामीको उपचारमा आवश्यक रगतको आपूर्ति सहज बनाउन तथा समुदायमा सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनील दुगड, रक्तदान संयोजक सौरभ भुटोरिया, ‘रक्तदान अन कल’का आशीष चोरडिया, पंकज बैद र अनिल बैदलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।








