वीरगंज । संविधान दिवसको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगंजको आयोजनामा प्याब्सनस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना हुने भएको छ ।
असोज ३ गते शनिबार बिहान १० बजेदेखि वीरगंजस्थित डीएभी स्कुलमा आयोजना हुने प्रतियोगितामा प्याब्सनमा आबद्ध २८ वटा विद्यालयका एक–एक जना विद्यार्थीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट पाँच जनालाई पुरस्कृत तथा सम्मानित गरिनेछ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः पुरस्कार प्रदान गरिनेछ भने थप दुई जना प्रतियोगीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको समन्वयकका रूपमा डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा रहेका छन् ।
वक्तृत्वकला प्रतियोगितामार्फत विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक अभिव्यक्ति तथा सार्वजनिक प्रस्तुति सीपको विकासमा योगदान पुग्ने आयोजकको अपेक्षा छ ।








