वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई घाइते बनाएको जग्गाधनी प्रियंका सर्राफले आरोप लगाएकी छन्।
सर्राफका अनुसार आइतबार बिदाको दिन वीरगञ्ज–१५ स्थित ब्रह्मचोकमा पुगेको टोलीले जग्गामा निर्माण गरिएको कम्पाउण्डवाल र टहराहरू भत्काएको हो। उक्त क्रममा आफूलाई दुर्व्यवहार गरिएको र हातमा चोट लागेको उनले बताइन्।
वीरगञ्ज–१५ ब्रह्मचोक निवासी सर्राफ र वीरगञ्ज–१२ मुर्ली निवासी पारस साह कानूबीच ब्रह्मचोकस्थित १२.५ धुर निजी जग्गाको विषयमा पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। अदालतबाट अन्तिम फैसला नभइसकेको अवस्थामा र महानगरपालिकाबाट समेत पूर्वसूचना नआएको भन्दै सर्राफले संरचना भत्काइएकोप्रति आपत्ति जनाएकी छन्।
आफूले जग्गाको नक्साअनुसार संरचना निर्माण गरेको दाबी गर्दै सर्राफले भत्काउनुअघि कुनै आधिकारिक आदेश वा सूचना प्राप्त नगरेको बताइन्। वडाध्यक्ष यादवले आफ्नो मौखिक भनाइ नै आदेश भएको बताएको पनि उनले आरोप लगाइन्।
सर्राफले वडाध्यक्ष यादवले विपक्षीसँग मिलेर नगर प्रहरी परिचालन गरी संरचना भत्काएको आरोपसमेत लगाएकी छन्। उनले घटनाको निष्पक्ष छानबिन गर्न र आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेकी छन्।
यद्यपि, घटनाबारे वडाध्यक्ष यादव, वीरगञ्ज महानगरपालिका र अर्को पक्षको आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन। जग्गासम्बन्धी मुद्दाको अन्तिम फैसला तथा संरचना भत्काउने कार्यको कानुनी आधारबारे सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ।








