वीरगञ्ज । पर्सा प्रहरीले चोरी भएका सुनचाँदीका गहनासहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला बारा कोल्हवी नगरपालिका वडा नम्बर १० घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ मा डेरा गरी बस्दै आएकी २० वर्षीया आरती कुमारी चौधरीको कोठाबाट गहनालगायतका सामान चोरी भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आरतीले भदौ १४ गते दिउँसो करिब १२ बजे कोठामा ताला लगाएर सिलाइबुनाइको काम गर्न टेलर गएकी थिइन् । काम सकेर साँझ करिब ८ बजे डेरामा फर्किँदा कोठाको ताला फुटाएर गहनासमेत चोरी भएको पाइएको थियो ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरतीको डेरा नजिकै बस्दै आएका व्यक्तिहरूमाथि शंका लागेपछि उनीहरूको कोठामा खानतलासी गरिएको प्रहरीले जनाएको छ ।
खानतलासीका क्रममा चोरी भएका गहनाहरू फेला परेपछि प्रहरीले बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, देवापुर टेंटा निवासी २० वर्षीय अर्जुन प्रसाद यादव र सोही स्थानका २० वर्षीय ओमप्रकाश प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो ।
बरामद भएका चोरीका गहनासहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।








