वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा समेत सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जगदम्बा इन्टरप्राइजेजले जनाएको छ ।
कम्पनीले बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यका लागि आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरू छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ। यसबाट विपद्पछि आवश्यक पर्ने भौतिक पूर्वाधारको पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाका क्षेत्रमा उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। यस सहयोगले विपद्बाट प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरेका छन् ।
उनले प्राकृतिक विपद्को समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि राज्य, निजी क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।








