वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल ल्याउन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
स्थानिय विनय द्विवेदीका अनुसार जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी रामायण मुखिया बिनका माहिला छोरा बिरेन्द्र मुखिया बिन करिब एक महिनाअघि रोजगारीको सिलसिलामा भारतको केराला गएका थिए । एक साताअघि अचानक ज्वरो आएपछि उनी त्यहाँ उपचाररत रहेका थिए ।
उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आइतबार राति अचानक निधन भएको परिवारजनले बताएका छन् ।
भारतको केरालाबाट शव घर ल्याउन करिब २ लाख रुपैयाँ खर्च लाग्ने जानकारी पाएपछि आर्थिक रूपमा कमजोर परिवार शोकसँगै आर्थिक समस्यामा परेको थियो । शव ल्याउन आवश्यक रकम जुटाउन नसक्दा परिवारका सदस्य तथा गाउँलेहरू पीडामा रहेका बेला गाउँपालिका अध्यक्ष यादव पीडित परिवारको घरमै पुगेका थिए ।
गाउँलेहरूको रोहबरमा अध्यक्ष यादवले स्वर्गीय बिरेन्द्रको शव घर ल्याउन आवश्यक पर्ने करिब २ लाख रुपैयाँ बराबरको तत्काल सहयोग गर्ने घोषणा गरेका हुन् ।
अध्यक्ष यादवको सहयोग घोषणाप्रति पीडित परिवार तथा स्थानीय गाउँबासीले आभार र धन्यवाद व्यक्त गरेका छन् । स्थानीयले अध्यक्ष यादवलाई पीडामा परेका गरिब तथा असहाय परिवारको सहारा बनेको भन्दै प्रशंसा गरेका छन् ।
यसका साथै अध्यक्ष यादवले स्वर्गीय बिरेन्द्र मुखिया बिनकी श्रीमती र उनका तीन जना छोराछोरीलाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अचानक भएको निधनले मुखिया बिन परिवारमा शोक छाएको छ भने गाउँपालिकाको सहयोग घोषणाले शव नेपाल ल्याउने प्रक्रियामा राहत पुग्ने अपेक्षा गरिएको छ ।








