काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने निर्णय गरेको छ । मोर्चाले असोज १० गते काठमाडौंमा विशेष भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
शनिबार आजपा कार्यालय काठमाडौंमा बसेको मोर्चाको बैठकले बागमती प्रदेशका सबै जिल्लामा भदौ २० गते जिल्ला समन्वय समितिको बैठक बस्ने निर्णय गरेको हो । बैठकले जिल्लागत नेतृत्वको जिम्मेवारीसमेत तोकेको छ ।
काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, चितवन र मकवानपुरमा प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल तथा ललितपुर, सिन्धुली, रामेछाप र दोलखामा जनता समाजवादी पार्टी नेपालले समन्वय गर्ने जिम्मेवारी पाएको छ । यस्तै, भक्तपुर, सिन्धुपाल्चोक र धादिङमा आजपाले नेतृत्व गर्ने तय भएको छ ।
मोर्चाले प्रदेशस्तरीय जनसंगठनका लागि पनि जिम्मेवारी तोकेको छ । महिला मोर्चाको जिम्मेवारी लिला सिटौलालाई, युवा तथा विद्यार्थीको जिम्मेवारी शंकर पौड्याललाई, आईटी तथा मिडियाको जिम्मेवारी सुभाष प्रसाद साह र विकेश साहलाई तथा बुद्धिजीवी मोर्चाको जिम्मेवारी सुरेन्द्र प्रधानलाई दिइएको छ ।
बैठकले भदौ २३ गते आयोजना हुने जेनजी प्रदर्शनलाई संयुक्त रूपमा प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। मोर्चाको अर्को बैठक भदौ २१ गते जनता समाजवादी पार्टी नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने तय भएको छ ।
आजपाका सहअध्यक्ष तिलक थापा मगरको अध्यक्षतामा बसेको बैठकमा मोर्चाका आगामी कार्यक्रम तथा संगठन विस्तारका विषयमा विस्तृत छलफल भएको थियो । बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालका प्रमुख संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा, आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।








