वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगंजतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, उच्च अदालतका रजिष्ट्रार ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु, दिदी ३१ वर्षीया रिता बडु र चालक दाङ राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका छन् ।
दुर्घटनामा घाइतेमध्ये मुख्य न्यायाधीश डाँगीसहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, सवारी चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेर सबै घाइतेको उद्धार गरेको थियो ।
उनीहरूलाई प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








