वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीयसँग निरन्तर भेटघाट तथा संवाद गर्दा जनताले आफ्ना समस्या, गुनासा, सुझाव र समाधानका उपायबारे ठूलो अपेक्षा राखेको बताए।
उनले विगत लामो समयदेखि जरा गाडेर बसेका भ्रष्टाचार, अनियमितता र बेथिति केही सातामै अन्त्य गर्न कठिन भए पनि सरकारले त्यसतर्फ प्रभावकारी कदम चाल्नुपर्ने बताए। सरकारविरुद्ध भ्रम र निराशा फैलाउने प्रयास भइरहेको भए पनि स्थानीय जनता त्यसप्रति सचेत रहेको उनको भनाइ थियो।
पन्तले तत्कालको प्रमुख समस्या किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउनु रहेको बताए। साथै जिल्ला प्रशासन, जिल्ला प्रहरी, नापी, मालपोत तथा यातायात कार्यालयबाट जनताले बिना लेनदेन र बिना सिफारिस सहज तथा प्रक्रियागत रूपमा सेवा पाउनुपर्नेमा उनले जोड दिए।
नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी तथा इन्धनका लागि विगतमा जस्तै लामो समय लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए। जनताको सरकारप्रतिको आशा र भरोसा जायज भएकाले उनीहरूका चासो तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको पन्तले बताए।
जेन्जी आन्दोलनको जगमा बनेको सरकारप्रति नेपाली जनताको आशा, भरोसा र विश्वासलाई कमजोर हुन नदिन सरकारका काम, कर्तव्य र जिम्मेवारीप्रति कर्मचारीतन्त्रलाई समेत जिम्मेवार बनाउनुपर्ने उनले बताए।
पन्तले नेपाल सरकारअन्तर्गतका सचिव, सहसचिव, उपसचिव तथा अधिकृतदेखि जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य कार्यालय प्रमुखलाई जिम्मेवारीमा पठाउनुअघि छुट्टै संसदीय समितिमार्फत अभिमुखीकरण, तालिम तथा प्रशिक्षण दिने व्यवस्था गर्न सरकारसँग माग गरे।
‘जनताले पुरानाले गरेनन् वा गर्न सकेनन् भनेर नयाँलाई चुनेर पठाएका छन्,’ उनले भने, ‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने ब्युरोक्रेसीलाई तत्काल परिवर्तन गर्न सम्भव नभएकाले सरकारको स्प्रिट र जनताको म्यान्डेटअनुसार काम गर्न उनीहरूलाई प्रशिक्षित र जिम्मेवार बनाउन आवश्यक छ।’
सरकारले जनताको अपेक्षा र विश्वासअनुसार सेवा प्रवाहमा सुधार गर्दै सुशासनको अनुभूति दिलाउनुपर्नेमा उनले जोड दिए।








