Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

spot_img
spot_img

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्।

मदन भण्डारी फाउन्डेसन पर्साले मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा वीरगञ्जमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पूर्व पोलिटब्यूरो सदस्यसमेत रहेका पौडेलले जबज नेपाली कम्युनिष्ट आन्दोलनको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरे।

उनले २०४६ सालको चौथो राष्ट्रिय महाधिवेशनबाट एमालेले शान्तिपूर्ण संक्रमणको बाटो रोजेको स्मरण गर्दै नेपालको वस्तुगत अवस्था, अन्तर्राष्ट्रिय परिवेश र विश्व कम्युनिष्ट आन्दोलनको समग्र विश्लेषणपछि जनताको बहुदलीय जनवादको अवधारणा विकास भएको बताए।

पौडेलका अनुसार पाँचौँ महाधिवेशनले जबजलाई पार्टीको कार्यक्रमका रूपमा, छैटौँ महाधिवेशनले नवीन विचारका रूपमा र सातौँ महाधिवेशनले मार्गदर्शक सिद्धान्तका रूपमा पारित गरेको थियो। उनले जनताको बहुदलीय जनवाद नाममा बहुदलीयता भए पनि यसको मूल सार जनताको जनवाद नै रहेको बताए।

उनले सामन्ती शोषण र उत्पीडनबाट मुक्ति, राष्ट्रिय पुँजीको विकास, समाजवादको आधार निर्माण तथा समाजवादतर्फको संक्रमण जबजको मूल उद्देश्य रहेको उल्लेख गर्दै पार्टीले यसअनुरूपको कार्यनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा समस्या उत्पन्न भएको धारणा राखे।

पार्टीभित्र फरक विचार राख्ने अभ्यासलाई नियन्त्रण गरिनु, आन्तरिक लोकतन्त्र कमजोर हुनु तथा टिकट वितरणदेखि निर्वाचनसम्म विभिन्न विकृति मौलाएको भन्दै उनले त्यसले पार्टीलाई कमजोर बनाएको बताए।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य विजयकुमार सरावगीले जनताको बहुदलीय जनवादले तत्कालीन अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई संरक्षण गरेको उल्लेख गर्दै यसको मर्मविपरीत विकसित गलत प्रवृत्तिलाई सच्याउन आवश्यक रहेको बताए। उनले वर्तमान चुनौती क्षणिक रहेको र कम्युनिष्ट आन्दोलनले पुनः जनविश्वास जित्ने विश्वास व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा जीतपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले नेपाली कम्युनिष्ट दलहरू परम्परागत सोचबाट पूर्ण रूपमा मुक्त हुन नसकेको टिप्पणी गरे। उनले माओवादीले विगतमा जनताको बहुदलीय जनवादको आलोचना गरे पनि व्यवहारमा विभिन्न दलसँग सहकार्य गर्दै आएको उल्लेख गरे।

नेपाल कम्युनिष्ट पार्टीका नेता बालगोपाल थापाले सिद्धान्त र व्यवहारबीच एकरूपता नहुँदा कम्युनिष्ट आन्दोलनमा समस्या देखिएको बताए। प्राध्यापक वीरेन्द्र शाहले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला मदन भण्डारीले जबजको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिएको बताए। उनले पार्टीभित्र प्रश्न गर्ने संस्कृतिलाई कमजोर बनाइएको भन्दै त्यसले जबजको मूल मर्ममाथि नै प्रहार गरेको धारणा राखे।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले कम्युनिष्ट नेताहरूमा नवधनाढ्य शैली, विलासी जीवनशैली र बिचौलियाको प्रभाव बढ्दै जाँदा पार्टी र जनताबीच दूरी बढेको टिप्पणी गरे। उनले सादगी, पारदर्शिता र नैतिक आचरणमा नेतृत्व फर्किन नसके एमालेले थप चुनौती सामना गर्नुपर्ने बताए।

मदन भण्डारी फाउन्डेसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमलेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य फाउन्डेसनका पर्सा इन्चार्ज ठाकुर न्यौपानेले दिएका थिए। कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य अरविन्द सिंह, एमाले मधेश प्रदेश सदस्य मन्तुरा चौधरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, पर्सा अध्यक्ष निरञ्जन मिश्रलगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...