वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडा तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलको कुल अन्दाजी मूल्य ६ लाख ४६ हजार ७५० रुपैयाँ रहेको छ।
भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइँदै गरेका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाउँदै आएको छ।








