Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

spot_img
spot_img

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाको खाता सञ्चालन हुन नसक्दा कर्मचारी तथा शिक्षकले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । चाडपर्वको मुखमा समेत तलब र दशैं खर्च नपाउँदा उनीहरू आर्थिक समस्यामा परेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, वीरगंजका सूचना अधिकारी रामविनय मुखियाका अनुसार दुवै पालिकाको खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार प्रभावित भएको हो । नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएको तीन महिना बित्न लाग्दासमेत खाता सञ्चालन नहुँदा पालिकाको नियमित भुक्तानी प्रक्रिया अघि बढ्न सकेको छैन ।

पोखरिया नगरपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेका कारण खाता सञ्चालन हुन नसकेको हो । त्यस्तै, सखुवा प्रसौनी गाउँपालिकामा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबार सञ्चालन गर्ने अख्तियारी नदिएका कारण खाता सञ्चालन हुन नसकेको जनाइएको छ ।

खाता सञ्चालनमा रहेका अधिकांश स्थानीय तहले कर्मचारी तथा शिक्षकलाई तलब भुक्तानी गरिसकेका छन् । तर, पोखरिया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका कर्मचारी तथा शिक्षक भने तलब र चाडपर्व खर्चको प्रतीक्षामा छन् ।

दशैंजस्तो महत्वपूर्ण चाड नजिकिँदै गर्दा आम्दानीको नियमित स्रोत रोकिएपछि उनीहरूको पारिवारिक खर्च व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।

सरकारले कर्मचारीलाई १५ दिनमै तलब उपलब्ध गराउने नीति लिए पनि स्थानीय तहको आन्तरिक प्रक्रिया र प्रशासनिक निर्णयमा भएको ढिलाइका कारण कर्मचारी तथा शिक्षकले त्यसको लाभ लिन सकेका छैनन् । तीन महिनासम्म तलब नपाउँदा दैनिक घरखर्च, बालबालिकाको पढाइ तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न कर्मचारीलाई कठिनाइ भइरहेको छ ।

स्थानीय तहको बजेट पारित गर्ने र आर्थिक कारोबार सञ्चालनका लागि आवश्यक अख्तियारी प्रदान गर्ने प्रक्रियामा भएको ढिलाइको प्रत्यक्ष असर कर्मचारी तथा शिक्षकमा परेको छ । जनप्रतिनिधि र सम्बन्धित प्रशासनिक निकायबीचको प्रक्रियागत समस्या समयमै समाधान हुन नसक्दा सर्वसाधारणको सेवा प्रवाहमा समेत असर पर्न सक्ने देखिएको छ । यसका साथै विकास निर्माणकाे काम पनि ठप्प भएका छन् ।

दशैंअघि नै खाता सञ्चालन गरी रोकिएको आर्थिक कारोबार सुचारु गर्न नसकिए कर्मचारी तथा शिक्षकले तलब र चाडपर्व खर्चबिना नै चाड मनाउनुपर्ने अवस्था आउने देखिएको छ । त्यसैले सम्बन्धित पालिकाले बजेट पारित गर्ने तथा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी खाता सञ्चालनमा ल्याउन तत्काल पहल गर्नुपर्ने देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...