Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

सरकारी विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

‘निर्णय फिर्ता नभए सशक्त आन्दोलन’ : पत्रकार महासंघ

spot_img
spot_img

वीरगंज । सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी तथा स्वेच्छाचारी निर्णय गरिएको भन्दै देशभरका सञ्चारकर्मीहरूले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका ७७ जिल्लासँगै पर्सामा पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरिएको हो । धर्नामा सहभागी सञ्चारकर्मीहरूले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए । उनले सरकारले पत्रकारहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।

पत्रकार महासंघको लेखा समिति संयोजक केशी लामिछानेले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय अधिनायकवादी सोचको उदाहरण भएको बताए । उनले विज्ञापनदाता संस्थालाई आफ्नो आवश्यकता र इच्छाअनुसार सञ्चारमाध्यम छनोट गर्ने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै सरकारले उक्त अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत १८ गते जारी गरिएको पत्राचारका कारण देशभरका सञ्चारगृह प्रभावित भएको बताए । उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णय जनविरोधी रहेको भन्दै तत्काल फिर्ता लिन माग गरे ।

दुई महिनादेखि जारी आन्दोलनप्रति सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले आवश्यकता परे जनदबाबसहित थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए ।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार प्रेसमाथि नियन्त्रण कायम गर्ने दिशामा अघि बढिरहेको आरोप लगाए । उनले २०६० सालमा तत्कालीन राजतन्त्रले लोकतन्त्रमाथि हस्तक्षेप गर्दा सबैभन्दा पहिले सञ्चारमाध्यमलाई निशाना बनाइएको स्मरण गर्दै अहिले पनि मिडियामाथि नै प्रहार हुन थालेको बताए ।

“यो सरकारको स्वेच्छाचारी र निरंकुश अभ्यासको प्रयास हो । तर मिडियाले सरकारलाई निरंकुश बन्न कहिल्यै दिँदैन,” अध्यक्ष खनालले भने । उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम राय माझी, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी लगायत विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजिकरण पत्रकार महासंघ पर्साका सचिव विजय चाैहानले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्न, सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न तथा संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन् । साथै प्रेस स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ...

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...

राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय...