Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सिर्सिया नदी प्रदूषण नियन्त्रणमा ठोस कार्ययोजना बनाउने सहमती

spot_img
spot_img

वीरगंज । सिर्सिया नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका उपायबारे वीरगंज महानगरपालिकाले मंगलबार सरोकारवालाहरूसँग संयुक्त छलफल गरेको छ ।

पटक–पटक उद्योगीहरूले नदीमा फोहोर नफाल्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा पालना नभएपछि सिर्सिया अझै प्रदूषित बन्दै गएको भन्दै महानगरले सम्बन्धित निकाय, उद्योगी, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिलाई छलफलमा सहभागी गराएको हो ।

महानगर प्रमुख राजेशमान सिंहले उद्योगीहरूले ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि सञ्चालन नगरी फोहोर पानी सोझै नदीमा फाल्ने प्रवृत्ति रोक्न अब ठोस नतिजा देखिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कारखाना निर्वाध चल्नुपर्छ, तर प्रदूषण नियन्त्रण अनिवार्य छ । अब सबै जिम्मेवार भएर अघि बढे मात्रै सिर्सिया सफा हुन्छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सिर्सिया नदी मानव सभ्यताको प्रतीक भएको उल्लेख गर्दै यसको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभयो । उहाँले चेतावनी दिँदै भन्नुभयो, “यदि अब पनि फोहोर फाल्ने क्रम रोकिएन भने ट्रिटमेन्ट प्लान्ट बनाउनै पर्ने, नभए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”

त्यसैगरी बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले उद्योग स्थापना अनुमति दिँदा नै प्रदूषण नियन्त्रणको दायित्व उल्लेख भए पनि त्यसको पालना नभएको औंल्याउनुभयो । उहाँले जथाभावी नदीमा प्रदूषित पानी मिसाउनु दण्डनीय कार्य भएको चेतावनी दिनुभयो ।

मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशील साहले “केवल प्रतिबद्धताले होइन, व्यवहारिक कार्यान्वयनले मात्रै परिणाम देखिन्छ” भन्दै उद्योग सञ्चालन र वातावरण संरक्षण सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सबै सरोकारवाला इमानदार भएर लागे समस्या समाधान सम्भव रहेको बताउनुभयो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले दीर्घकालीन समाधानका लागि एकीकृत ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न सुझाव दिनुभयो ।

जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले सिर्सिया नदी सफा र आकर्षक बनाउन पर्यटनसँग जोडेर योजना अघि बढाउन सुझाव दिँदै भने, “जितपुरको ललका पुलदेखि वीरगंजसम्म डुङ्गा चलाउने वातावरण बनाऔं, त्यसपछि उद्योगीले पनि फोहोर फाल्ने काम रोकिनेछ ।”

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले “उद्योग बचाउँदै नदी सफा राख्ने वातावरण बनाउन पालिका तयार रहेको” बताउनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले वीरगंजका मेयर राजेशमान सिंहको नेतृत्वमा सुरु भएको सिर्सिया सफाइ अभियान निरन्तर रहनु सकारात्मक पक्ष भएको बताउँदै तीनै स्थानीय तहले संयुक्त रुपमा नदी संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो ।

छलफलमा सहभागी उद्योगीहरूले पनि नदी सफा राख्न आफूहरू प्रतिबद्ध रहेको र पानी प्रशोधनका उपायमा काम भइरहेको बताएका थिए ।

छलफलको निष्कर्षमा सिर्सिया सफाइलाई प्राथमिकता दिने, प्रदूषण नियन्त्रणका लागि ठोस कार्ययोजना बनाउने र नियमित अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...