वीरगंज । त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको सडक विस्तारको क्रममा वीरगंज महानगरपालिकाले सुरु गरेको संरचना हटाउने कार्यविरुद्ध घरधनीहरूले बिहीबार बजार बन्द र प्रदर्शन गरेका छन् ।

‘वीरगंज बचाउ संघर्ष समिति’ र ‘वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’को संयोजनमा गरिएको विरोधका क्रममा घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरिएको थियो। सो समितिहरूको राणीसति धर्मशालामा बसेको बैठकले शुक्रबार बिहान ११ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेपछि वीरगंज बजार आंशिक रूपमा प्रभावित बन्यो ।
सङ्घर्ष समितिका अध्यक्ष जवाहरप्रसाद गुप्ताले प्रमुख सडक क्षेत्रका घरहरूमा कालो झण्डा राखेर शान्तिपूर्ण तर शक्तिशाली रूपमा विरोध जनाउने निर्णय भएको जानकारी दिए ।
यसअघि, घरधनीहरूले जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापन पत्र बुझाउँदै संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका थिए । उनीहरूले महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई जबरजस्ती घर–टहरा भत्काएको आरोप समेत लगाएका छन् ।
तर, वीरगंज महानगरपालिकाले भने सर्वोच्च अदालतको आदेशअनुसार भन्सार क्षेत्रबाट सडक विस्तारको काम अघि बढाइएको दाबी गरेको छ । सोमबारदेखि सुरु गरिएको कार्य अन्तर्गत डोजर प्रयोग गरी दुई दिनसम्म सडक क्षेत्रका संरचना हटाइएको थियो । यद्यपि, जिल्ला प्रशासनको आग्रहमा महानगरले हालका लागि काम रोकेको छ ।
मुख्य सडक क्षेत्रका घरधनीहरू भने बिना मुआब्जा र पूर्वसूचना संरचना भत्काइएको भन्दै आक्रोशित छन् र आन्दोलन थप चर्काउने चेतावनी दिइरहेका छन् ।
सडक विस्तार पक्षधर समूहले भने वीरगंज सहरको विकासका लागि काम रोकिनु नहुने अडान लिएको छ । अहिले सडक विस्तार र नागरिकको सम्पत्तिको संरक्षणबिच सन्तुलन कायम गर्नु वीरगंज महानगर र प्रशासनका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।


