वीरगंज । पाेखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले नगरपालिकाकाे याेजना तर्जुमा एवं कार्यालय व्यवस्थापन बारे नगर प्रमुख राैनियारकाे ध्यानाकर्षण गराएकी छन् । उप प्रमुख खातुनले बुधबार नगरप्रमुख दिपनारायण रौनियारलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।
ध्यानाकर्षण पत्रमा उपप्रमुख खातुनले नगरप्रमुख रौनियार र कार्यालय प्रशासनले नगरवासीको गुनासोलाई गम्भिरतापुर्वक नलिएको आरोप लगाएकी छन् । खातुनले नगरपालिकाको काम कारवाहीको विषयमा आफु सधै तत्पर रहँदै आएपनि नगर प्रमुख राैनियारले कुनै चासाे नदेखाएकाे आराेप लगाएकी छन् ।
उनले चालु आर्थिक वर्षकालागि योजना तर्जुमा गर्न विभिन्न समितिहरुको बैठक बोलाउन विगत एक महिनादेखि ताकेता गर्दा पनि मेयर रौनियारले आनाकानी गरेको बताएकी छन् । त्यसैरी कार्यालयको सेवा प्रवाहमा समेत मेयर चुक्दै आएको उपप्रमुख खातुनको आरोप छ ।
मेयर रौनियारलाई बुझाएको ध्यानाकर्षण पत्र मार्फत उपमेयर खातुनले समुदाय स्तरमा कोरोना फैलिदाँ समेत नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक किन नबोलाएको भन्दै प्रश्न गरेकी छिन् । उपप्रमुख खातुनले मेयर रौनियारको कमजोरीका कारण नगरको वडाहरुमा कोरोना सङ्क्रमणको अवस्था पता लगाउन पिसिआर परिक्षण समेत सुरु हुननसकेको र फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको जोखिम भत्ता व्यवस्थापनमा समेत ढिलाई भएको बताएकी छन् ।
यस्तै, विद्यालयका बालिकाहरुको लागि नगरपालिकाले प्याड खरिद गरेको तर बाँड्न कुनै योजना नबनाएर थन्काइएको उपमेयर खातुनकाे भनाई छ ।
विगत ४ महिनादेखि नगरका विद्यालयमा पठन-पाठन बन्द रहे पनि वैकल्पिक शिक्षाका लागि नगरस्तबाट हुने पहलमा मेयर रौनियारले छलफलका लागि बैठक समेत नबोलाएको पत्रमा उल्लेख छ ।
उप प्रमुख खातुनले उल्लेखित मागहरुलाई छिटो भन्दा छिटो सम्बोधन नगरीए आफु आन्दोलनमा उत्रिने चेतावनी समेत दिएकी छन् ।