वीरगंज । वीरगंज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट एक घर एक परिक्षणकाे लागि स्वाब संकलन शुरु गरिएको हो ।
वडा नं ९ मा रहेको रेल्वे माविमा आइतबार एक सय १३ जनाकाे स्वाब संकलनको गरिएकाे महानगरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले जनाए ।
स्वाब संकलन भन्दा अघि महानगरका कर्मचारीले रेल्वे स्कूललाई डीसइन्फेक्टेड गरेका थिए ।
स्वाब संकलन कार्यको अवलाेकन गर्दै बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले महानगरका नागरिकको जीवन रक्षाका लागि महानगरले कुनै कसर बाँकी नराख्ने बताए ।
परिक्षणका लागि नारायणी अस्पताललाई सबै आवश्यक सामाग्री उपलब्ध गराएको वताउदै नारायणी अस्पताल र स्थानीय प्रशासनसंगको सहकार्य ठिक र सुमधुर रहेको जनाए ।
सरावगीले स्थानीय सरकार र स्थानिय प्रशास बिचकाे सम्बन्ध बिगार्ने र समन्वय हुन नदिने तत्व सदैब लागि रहेको चर्चा गर्दै उनीहरुलाई जनताले नै जवाफ दिने बताए । उनले अहिलेको निषेधाज्ञालाई परिक्षणको लागि उपयोग गर्ने र परिक्षण तिब्र बनाइने बताए ।
बीरगंजमा ४० हजार घरधुरीमा परिक्षण पुर्याउने उनकाे भनाई थियाे ।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो ।
यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा माईस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब सङ्कलन गरिएको छ ।
गहवामाई मन्दिरअगाडि एक सय ९ जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो ।
त्यसैगरि राधेमाईमा कन्ट्याक्ट ट्रेसिङमा परेका एक सय जनाको स्वाब संकलन गरिएको वताइएकाे छ ।