जनकपुरधाम । प्रदेश २ की प्रदेश सांसद रानी तिवारीले मदिराका कारण सीमा क्षेत्रमा भारतीयबाट महिलाहरु असुरक्षित रहेको बताएकी छिन् । धनुषा लगायत प्रदेश २ का विभिन्न जिल्लामा घरेलु मदिरा पिउँदा २ दर्जन भन्दा बढी सर्वसाधारणको ज्यान गएपछि प्रदेश सभामा चर्चाको विषय र प्रदेश २ लाई मदिरामुक्त बनाउने प्रस्ताव पेश भएपछि सांसद तिवारीले मदिराले ज्यान जाने मात्रै नभई सीमा क्षेत्रमा महिला समेत असुरक्षित रहेको बताएकी छिन् ।
बैठकमा पेश भएको प्रस्ताव उपर सहमति जनाउँदै उनले भनिन्,–‘बिहारमा मदिरामा पूर्णरुपमा प्रतिबन्द लागेपछि अहिले सीमा क्षेत्रमा बिहारबाट मदिरा सेवन गर्नेहरुको मेला लाग्ने गर्छ, वडा कार्यालयबाट एउटा सिफारिसको आधारमा सीमा क्षेत्रमा जताततै मदिरा भट्टीहरु खोलिएको छ र मदिरापान गर्न सो भट्टीहरुमा आउने भारतीयहरुले स्थानीय महिलाहरुलाई अवहेलना समेत गर्ने गरेका छन्, त्यसको जिम्मेवार को ?’ भन्दै प्रश्न गरिन ।
उनले दिउँसो ४–५ बजेपछि महिलाहरुलाई सीमा क्षेत्रका गाउँहरुमा हिड्न गाह्रो र असुरक्षित महसुस गरिरहेकोले यसको जिम्मेवार कसले लिने प्रश्न गर्दै प्रदेशमा महिला हिंसा अन्त्य गर्न पनि प्रदेशलाई मदिरा मुक्त बनाउनु आवश्यक रहेको बताईन् ।
सांसद तिवारीले मृतकहरुले त रमाईलो गर्न मदिरा खानु भयो ना कि बाध्यतामा र प्रदेशमा मदिराका कारण पनि घर–घरमा महिलाहरु महिला हिंसाका सिकार बन्दै गईरहेका छन् त्यसैले पनि यो प्रस्ताव सराहनीय रहेको बताईन ।
अर्को प्रसंगमा सांसद तिवारीले यसअघिको एक बैठकमा पुरुष सांसदहरुले पराग, गुटखा खाएर आउने गरेपछि महिला सांसदहरुले आवाज उठाएपछि महिलाहरु लिपस्टिक किन लगाउँछन् त ? भन्ने जवाफमा उनले लिपस्टिकले त महिलाहरुको सौन्दर्यमा निखार ल्याउँछन् तर ती गुटखा र मदिराले ज्यान लिने गरेको बताईन ।