काठमाडौं, २ वैशाख ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटना सार्वजनिक भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि सोमबार प्रदर्शन भएको छ । उक्त जग्गा व्यक्तिको नाममा सार्ने सहयोग गर्ने नेता, प्रशासक, व्यापारी र भूमाफियाको विरोधमा विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो ।

ठूला माछा समाउ अभियान नाम दिइएको उक्त प्रदर्शनमा ठूलो माछाको चित्रमा भ्रष्ट व्यापारी, भूमाफिया, भ्रष्ट व्यापारी र भ्रष्ट प्रशासक लेखिएको थियो । प्रदर्शनका सहभागीले बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, नेताहरुको सम्पत्ति छानबिन गर लगायतको नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझाले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।