बारा, २५ असोज ।
गुणस्तरहीन घिउ उत्पादन गरी वर्षौंदेखि बिक्री गर्दै आएका सञ्चालकमध्येका एक अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले दिएको छ ।

अदालतले ‘मिल्क फुड डेरी प्रोडक्ट्स’ उद्योगका प्रोप्राइटर रौतहटको गौर नगरपालिका १ का मनोजकुमार शर्मालाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको रजिस्ट्रार कौशलेश्वर ज्ञवालीले बताए ।
उनका अनुसार खाद्य ऐन २०२३ अनुसार कसुर अपराध गरेको देखिएकाले मुद्दामा थप अनुसन्धानका लागि पुर्पक्षमा पठाउने आदेश भएको हो । ‘मुद्दामा अपराध गरेको ठहर भएमा सोही ऐनको दफा ५ को उप दफा १ बमोजिम सजाय हुनेछ,’ उनले भने । अपराध ठहर भएमा ५० हजार जरिवाना र ६ महिना कैद हुने कानुनी व्यवस्था छ । अदालतमा यस्तो मुद्दा पहिलोपटक दायर भएको हो ।
२२ दिन थुनामा रहेका शर्मालाई छुटाउन बहालवालामन्त्री, पूर्वसांसदलगायतले स्थानीय प्रशासनलाई दबाब दिँदै आएका थिए । अभियुक्त शर्मा (उद्योगका प्रोप्राइटर) को बयानअनुसार गुणस्तरहीन घिउ उत्पादनमा भारतीय रमेश अग्रवाल र वीरगन्जका राजु मित्तललगायतले लगानी गरेका थिए । मित्तल र अग्रवालमाथि समेत मुद्दा दायर गरिएको छ । उनीहरू फरार छन् । प्रहरीले खोजी जारी राखेको जनाएको छ ।
११ वर्षदेखि खोजीको सूचीमा रहेको गुणस्तरहीन घिउ उत्पादन गर्ने यो उद्योग बल्ल फेला परेको हो । उद्योगले १३ वर्षदेखि गुणस्तरहीन उत्पादन गर्दै आएको थियो । उत्पादन सुरु गरेको दुई वर्षपछि नै गुणस्तरहीन उत्पादन गर्दै आएको पुष्टि भएपछि उद्योगको खोजी भइरहेको थियो । तर, फेला परेको थिएन । उद्योगले आधा दर्जन ब्रान्डको ठुलो परिमाणमा नक्कली घिउ उत्पादन गर्दै आएको थियो । विभिन्न १० जिल्लाबाट त्यस उद्योगको खोजीसँगै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बारामा परिपत्र आएको आएको थियो । तर, यसअघि फेला परेको थिएन ।
उद्योग सिल गरी उद्योगको लाइसेन्सवाहक शर्मामाथि खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानमा संलग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंंडाका प्रमुख राजकुमार रिजालले अभियुक्तको बयानअनुसार लगानीकर्तालाईसमेत छानबिनको दायरामा ल्याई मुद्दा दायर गरिएको बताए ।
भ्याट बिल र नवीकरणबिना गुणस्तरहीन घिउ उत्पादन गरेको पाइएकाले मुद्दा दायर गरिएको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय बारामा ०६२ मा दर्ता भई जिल्लाकै प्रसौनी गाउँपालिका ३ मा उक्त उद्योग सञ्चालनमा थियो । उद्योगले गोकुल, गोवद्र्धन, बालाजी, नेचर फ्रेस, शिवम्, एमडीएच र मिल्क फुड ब्रान्डको स्टिकर टाँसेको घिउ उत्पादन गरी टाढाको जिल्लामा सप्लाई गर्दै आएको थियो ।
बन्द र जंगल झाडी भएको कोल्ड स्टोरेजभित्र उत्पादन गर्दै आएको थियो । उद्योगको संरचना, लाइसेन्स र उत्पादनमा प्रयोग गरिने सामान छुट्टाछुट्टै व्यक्तिको भएको पाइएको छ । उद्योगलाई सिल गरेर सम्बन्धित व्यक्ति पक्राउ गरी अनुसन्धान गर्न थालेपछि बिचौलियाले छुटाउन र लगानीकर्तालाई जोगाइदिन दबाब दिन थालेका थिए ।
नवीकरणबिना उत्पादन गर्दै आएको घिउ मानवीय स्वास्थ्यका लागि अति हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख रिजालको भनाइ छ । उद्योग सञ्चालन भएको जग्गा, त्यहाँ सप्लाई भएको बिजुली र उत्पादनमा आगोका लागि चाहिने काठ बनाउन राखिएको स मिलबारे समेत अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनायो । साभार कान्तिपुर