Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 342

पुजा सामग्री प्राेडक्ट उद्याेगमा शिलबन्दी

वीरगंज । गुणस्तरहीन अखाद्य सामग्री उत्पादन र बेचबिखन गर्ने वीरगंजकाे एक उद्योगमा प्रशासनले बिहीबार शिलबन्दी गरेको छ ।
अनुगमनका क्रममा अखाद्य र गुणस्तरहीन वस्तु उत्पादन र बिक्री वितरण गरेकाे फेला परेका वीरगंज महानगरपालिका–६ रेशमकोठीमा रहेको पूजा सामग्री प्रोडक्ट उद्योगमा सिलबन्दी गरिएको हो ।
 
उद्योगबाट च्वाईस बेकरी, खाली कार्टुन, खाली बट्टा, डाल्डाको स्वस्तिक ब्रान्ड, तयारी घ्यु, नोभा मिल्क, अमृत डाल्डा लगायतका सामग्रीसहित उद्योगको भवनलाई शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उमेश साहले सञ्चालन गरेको उद्योगबाट बरामद भएका सामग्रीमध्ये केही सामान परीक्षणका लागि लिएर आएको पनि उनले जानकारी दिए । 
 
सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको संयोजकत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय पर्साका प्रमुख मनीषकुमार दास, उद्योग प्रतिनिधि कृष्णकुमार सर्राफ, उपभोक्ता हित संरक्षण मञ्चका विशाल झा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी लगायत सहभागी थिए ।

तेस्रो परवानीपुर गोल्डकपको फाइनलमा वीरगंज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगंज युनाइटेड क्लब वीरगंज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चैत १० गते शनिबार हुने फाइनलमा वीरगंज युनाइटेड क्लब र हेटौंडा फुटबल एकेडेमी भिडन लागेका हुन ।

परवानीपुर खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगंज युनाइटेड क्लबले वीरगंज युथ एकेडेमीलाई सडेन डेथमा १-० गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको हो । पहिलो सेमिफाइनलमा वीरगंज युनाइटेड क्लब र वीरगंज युथ एकेडेमीले निर्धारित समयमा २-२ गोलको बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा दुबै टिमका पाँच-पाँच खेलाडी मध्ये तीन-तीन खेलाडीले गोल हान्दा दुई-दुई जनाले गोल गर्न सकेका थिएनन । त्यसपछि खेलको नतिजा सडेन डेथ मार्फत निकालिएको थियो । सडेन डेथमा वीरगन्ज युनाइटेड क्लबले वीरगंज युथ एकेडेमीलाई १-० गोल अन्तरले हराएको हो ।

खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका गोलकिपर दिलमणी चौधरी घोषित भए उनलाई पर्सागढी निवासी जितेन्द्र यादवले नगद २१ सय सहित शिल्ड प्रदान गरे । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको पहिलो सेमिफाइनल खेलमा प्रमुख अतिथि पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार थिए ।

यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरले बाग्मती फुटबल क्लबलाई २-१ गोल अन्तर हराएर फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको २७ औं मिनेटमा हेटौंडा फुटबल एकेडेमीका खेलाडी प्रकाश पुन पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेर अग्रता दिलाए ।

सुरु देखि रोमाञ्चक बनेको खेलको ३६ औं मिनेटमा फेरि दिवस श्रेष्ठले आफ्नो टिमको लागि दोस्रो गोल गरे । गोललाई फर्काउन निकै प्रयास गरेको बाग्मती फुटबल क्लबका खेलाडीले खेल सक्नु भन्दा झन्डै दुई मिनेट अगाडि एक गोल फर्काए । बाग्मती फुटबल क्लबका खेलाडी कपिल मगरले आफ्नो टिमको लागि पहिलो गोल गरेका थिए ।

बिहिबार भएकाे खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमीका कप्तान प्रताप तामाङ घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका मधेस प्रदेश कमिटीका सदस्य मोबिन आलमले नगद २ हजार १ सय सहित शिल्ड प्रदान गरे । शुक्रबार निजगढ महिला फुटबल क्लब र वीरगंज युथ महिला फुटबल टिम बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ ।

बुधबार भएको बर्षाका कारण खेल मैदानमा पानी जमेपछी स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार पहिलो चरणमा र बिहीबार हुने दोस्रो सेमिफाइनल खेल दोस्रो चरणमा गराइएको थियो । 

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

१५ वर्षीया बालिकालाई प्रेम जालमा फसाएर भारत लग्दै गरेका मियाँ पक्राउ

वीरगंज । १५ वर्षीया बालिकालाई प्रेमकाे जालमा फसाएर भारत लग्दै गरेकाे एक जना युवालाई भारतिय प्रहरीले पक्राउ गरेकाे छ ।

कपिलबस्तुकाे बुद्धनगरपालिका निवासी बालिकालाई प्रलोभनमा पारेर भारत लग्दै गरेका वीरगंज महानगरपालिकाकाे वडा नं. २९ निवासी २८ बर्षिय मोहम्मद इम्तियाज मियाँलाई रक्साैलस्थित कस्टम चाैकबाट पक्राउ गरिएकाे मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय” (बेतिया) का इन्सपेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्सौल वा आसपासका क्षेत्रबाट नेपाल आएकी १५ वर्षीया किशोरीलाई कसैले लैजाने सम्भावना रहेको एएचटीयू टोलीका इन्चार्जलाई प्राप्त सूचना अनुसार एएचटीयूको टोलीले रक्साैल कस्टमबाट बालिकालाई उद्धार गर्नुकाे साथ मियाँलाई पक्राउ गर्न सफल भएकाे इन्सपेक्टर शर्माले वताए । 

उनका अनुसार सोधपुछकाे क्रममा पक्राउ परेका मियाँकाे श्रीमती र तीन छोराछोरी रहेका खुलेकाे थियाे । उनले ट्र्याक्टर वा अन्य कुनै किसिमको मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्छन् । मियाँले नाबालिग बालिकाकाे गाउँमा मजदुरीका लागि गएको बेला उनीसँग मित्रता गरेर प्रेम जालमा फसाएका थिए ।

साेधपुछकाे क्रममा युवतीले पहिले ती व्यक्तिले आफूलाई आफ्नो नाम वीरेन्द्र भएकाे बताएकाे वताइन । प्रेममा परेपछि उनले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ भएको बताए । त्यसपछि ती व्यक्तिले उनलाई इस्लामको बारेमा बुझाए, त्यसैले अब ती युवतीले इस्लामको पालना गर्न थाले र त्यसपछि उसलाई आफ्नो घरमा लगेर आफ्नी पत्नीसँग परिचय गराए । युवतीले आफ्नी श्रीमतीले दुवै जना सँगै बसेर घर चलाउने बताएकी थिइन् । सासू र ससुरा पनि निकै खुसी थिए । बालिकाले भनिन ।

त्यसपछि बालिकाका परिवारसँग कुरा गर्दा उनीहरुले छोरीलाई केही अपरिचित मजदुरले प्रलोभनमा पारेको र यस सम्बन्धमा नेपाल प्रहरीमा उनीहरुले किटानी जाहेरी दिएका थिए । उद्धार गरिएकाे बालिका र आराेपितलाई भारतिय प्रहरीले इनर्वा प्रहरी चौकी वीरगंजलाई बुधबार बुझाएको छ ।

ज्ञानेन्द्र शाहको लोकप्रियताबाट ठूला दलहरु अत्तालिए : अध्यक्ष लिङ्देन

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन ठुला दलहरूलाई चुनौती दिएका छन् ।  वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठुला दलहरूले दरबार हत्याकाण्डमा पूर्व राजालाई मुछ्ने खाेजेकाे वताए ।
 
उनले भने,`जब जब राजाको लोकप्रियता बढ्छ तब तब ठुला दलहरूले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन् ।´ उनले थपे,`बारम्बार दरबार हत्याकाण्डसँग जोडेर पूर्व राजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्य तथ्य सार्वजनिक गरुन् ।´
 
`यदि दरबार हत्याकाण्डमा पूर्व राजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरू पटक पटक प्रधानमन्त्री भए ।आफू पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरूले दरबार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई  जेलमा हालेनन् ?, लिङ्देनकाे प्रश्न थियो ।
 
अध्यक्ष लिङ्देनले गणतन्त्र र सङ्घीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए । राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थन पनि प्राप्त भइरहेको दाबी उनले गरे ।
 
अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र सङ्घीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए । यसमा कुनै पनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने उनले बताए ।
 
गणतन्त्र र सङ्घीयताले नेपालीको पहिचान, धर्म, भाषा, संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र सङ्घीयता खारेजीको माग गरेको उनले बताए । वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवल शम्सेर जबरा, नेता रवीन्द्र मिश्र, सांसद ज्ञानेन्द्र शाही, वीणा जयसवाल लगायतको पनि उपस्थिति थियो ।

नेताकाे दबाव र प्रभावमा पर्सा प्रहरी पर्दैन : एसपी ढुंगेल

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका नयाँ प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बुधबार पत्रकार तथा संचारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम गरेका छन् ।

एसपी ढुंगेले आफ्नै कार्यकक्षमा गरेकाे परिचयात्मक कार्यक्रममा वाेल्दै शान्ती सुरक्षा र अमनचयन कायममा कुनै किसिमका सम्झौता नगर्ने वताए । उनले आफु कुनै पनि राजनीतिक दल वा नेताकाे दबावमा आएर कुनै पनि काम नगर्ने वताए । 

एसपी ढुङ्गेलले आफ्नाे कार्यकालमा सर्वसाधारणलाई सेवा पाउन कुनै सास्ती खेप्न नपर्ने आश्वासन समेत दिए । उनले भने “आफुले नियम/कानुन अनुसार काम गर्छ, आफु कहाँ पिडितलाई आउन कसैकाे जरुरी पर्दैन । आफु कानुनी दायराभित्र रहेर शान्ती सुरक्षा, अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतको क्षेत्रमा सक्रिय पूर्वक काम गर्न प्रहरीले कुनै कन्जुस्याई गर्दैन ।” 

कानुनविपरित गएर कुनै पनि प्रहरी कर्मचारीले काम गरेमा कारवाही गर्ने चेतावनी दिँदै उनले प्रहरीको काममा सघाउन पनि पत्रकारहरुलाई अनुरोध गरे । उनले सबै प्रहरी राम्राे नरहेकाे भन्दै गलत प्रहरी सुध्रिन जरुरी रहेकाे वताए ।

आफु कसैप्रति बायस नहुने बिश्वास दिलाउँदै उनले सबैलाई समान रुपमा व्यवहार गर्ने बताए । उनले भने, ‘कोही पनि निर्दाेषले कुनै पनि बहानामा फस्नुहुँदैन । साथै दोषी कुनै पनि कारणले उम्किनुहुँदैन भन्नेमा म सचेत छु । राजनीतिक पहुँच र अन्य कुनै दबाब तथा प्रभावको भरमा कोही पनि जोगिन्छु भन्ने नसोचे हुन्छ ।’

घुमुवा भन्ने शब्द नेपाल प्रहरीमा कतै नभएको स्पष्ट पार्दै उनले बर्दी बिना सूचना तथा अनुसन्धानका लागि सिभिल प्रहरी तथा इन्टिलीजेन्सले काम गरीरहेको जानकारी गराए । 

भारतसँग खुला सीमा जोडि़एका पर्साका नाकाबाट हुने चोरी, तस्करी, लागु औषध ओसार पसारलगायत विभिन्न खाले आपराधिक गतिविधिबारे सूचना लिन सिभिल प्रहरी परिचालन गरिएको उनले बताए । आफ्नो कार्यकाललाई स्मरणीय बनाउने बताउँदै उनले पर्साबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

पत्रकारलाई सुचना पाउन आफ्नाे कार्यकालमा कुनै किसिमकाे कठिनाई नहुने वताउँदै सहजै रुपमा सूचना अधिकारी मार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाए । जिल्ला प्रहरी कार्यालय मै भएकाे परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापा लगायतकाे पनि उपस्थिती रहेकाे थियाे । 

भिष्वा होटलको क्यासिनोमा प्रहरीकाे छापा, चार जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं.१५ स्थित रहेकाे भिष्वा होटलको क्यासिनोमा मंगलबार सांझ प्रहरीले छापामारी गरेकाे छ ।

क्यासिनाेमा नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराइ जुवा खेलाउदै गरेको विशेष सूचनाको अधारमा मंगलबार सांझ ६:३० बजेको समयमा पुगेकाे प्रहरीले ४ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ पर्नेमा कास्कीकाे पोखरा महानगरपालिका वडा नं. १५ निवासी ३२ बर्षिय प्रताप लामा, सर्लाहीकाे बरहथवा नगरपालिका वडा नं. ११ निवासी ३४ बर्षिय उमेश कार्की, वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा निवासी ३४ बर्षिय पप्पु सिंह र वीरगंज महानगरपालिकाकाे वडा नं.८ निवासी ४० बर्षिय सुरज कुमार कलवार रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका मध्ये लामा सिएमजी क्लबका सेक्युरिटी गार्ड, कार्की मार्केटिङ्ग म्यानेजर र सिंह फ्लास मनिटर रहेकाे प्रवक्ता थापाले वताए । क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा बाधा अवरोध गरेको चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको थापाले वताए ।

मधेश प्रदेशकाे विकासकाे लागि विशेष बजेट दिन जरुरी : सांसद यादव

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारले हतारमा ल्याएको बजेटका कारण कतिपय प्राथमिकतामा रहेका आयोजनाहरु छुट्ने गरेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद यादवले संसदमा हप्तौदिन बजेटको बारेमा छलफल हुने तर संसदको सुझाव बजेटमा समावेस नहुने गरेको बताए । अब सरकारले कुनै बहाना नगरि बजेट माथि आएका संसदका सुझावहरु समिक्षा गर्ने प्रति विश्वास व्यक्त गरे ।

समन्यायिक समाजको परकल्पना गर्ने समेत नगरेको भन्दै सांसद यादवले विनियोनज विधेयकले कसरी उन्मुख समाजवाद्को आधारशिला खडा गर्न सक्छ भन्ने प्रश्न जाहिर गरे ।

सांसद यादवले वित्त नितिसंग जोडीएका राजश्व, बजेटघाटा, व्यापार घाटा सार्वजनिक ऋण खर्च, उत्पादकत्व, विदेश पलायन इत्यादिको बारेमा विनियोजन विधेयकले सम्बोधन गर्नुपर्ने प्राथमिकताहरुको स्पष्ट मुख्य खाका प्रस्तुत नगरिएको बताए ।

“अहिलेका परिवेसमा अर्थतन्त्रको सबै सुचक बलियो र सकारात्मक भनिताएपनि बाह्रय तथा मुद्राको स्थिति मात्र सकारात्मक हुदैमा समग्र अर्थतन्त्र कसरी सन्तुलित भयो ?,‘उनले भने अर्थतन्त्रका मुख्य चनौतिले परिरहेको असरको क्रमअनुसार सम्बोधन हुनसक्ने बजेट तथा कार्यक्रम ल्याउन आवश्य छ ।”

निजि क्षेत्रको आत्मबल तय हुने आधार तथा योजना सरकारले तय गर्नुपर्ने साथै आर्थीक समस्याले झुलिरहेको देशको चुनौतिहरुलाई प्राथमिकताका साथ समाधान गर्न अहिलेको आवस्यक्ता रहेको उनले बताए ।

विगतमा आलोचित रहेका केहि व्यवशायि घरानाहरुलाई कर तथा राजश्वको दायरामा ल्याउन नसक्नु तथा ठुला बडालाई काखी च्याप्ने असमान प्रवृतिले गर्दा आउदो बजेटले फेरी गरिब नेपाली जनता तथा साना व्यवशायिहरु नै मारमा पर्ने ध्यानाकर्षण गराए । साथै अहिले डिजेल र पेट्रोलको मुल्य बढी रहेकाले इलेक्ट्रीक गाडीहरु प्रति सरकारको ध्यान जान जरुरी रहेको सांसद यादवले भने ।

मधेश प्रदेश विकाशमा पिछिडिएकाले यसको लागी सरकारले विशेष बजेट दिन जरुरी रहेको उनले बताए । साथै नेपालमा आलु र प्याजको खेति न्युन रहेकाले गरिब जनताहरुको सहजताका लागी अन्य मुलुकबाट आयात हुने यस्ता आवस्यक कच्चा पदार्थहरुको कर हटाउन सांसद यादवले मांग गरेका छन् ।

वीरगञ्जको नारायणी रंङ्गशाला केहि वर्ष देखी जिर्ण हुँदै गइरहेकाले यस प्रति सरकारले विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । जिर्ण नारायणी रंङ्गशाला निर्माणका सांसद यादवले सरकारसँंग २ अर्ब रुपैया विनियोजन गर्न मांग गरेका छन् ।

“६ वर्ष अगाडी नारायणी रंङ्गशालाको लागी डिपिआर बनेको थियो, त्यसका लागी २ अर्ब ६४ करोड रुपैया लाग्छ भन्दै राज्य संग माँग पनि गरिएको थियो उनले भने , राज्यले ४ वर्ष अगाडी ७ करोड रुपैया मर्मतको लागी विनियोजन गरेको थियो, तर यतिमा रंङ्गशाला बन्दैन।”

बन्द रहेको चिनि कारखाना उखू किसानहरुका लागी राज्यले संचालन गर्न संञ्चालन गर्न आवस्य रहेको उनले बताए । बन्द रहेको कृषि औजार कारखाना संचालनका लागी अभियन्ता महाबिर पुनलाई राज्यले दिएको तर त्यसका लागी आवश्य बजेट नदिदा अहिले सो कार्य अलमल मा परेको सांसद यादवले बताए । किसानहरुका लागी रसायनीक मल अभाव हुन नदिन सरकारले बारम्बार भनेतापनि अहिले सम्म अर्थमंन्त्रिले बोल्ने कार्य मात्र गरेको सांसद यादको भनाइ थियो ।

चुरे संरक्षण, पर्सा वन्यजन्तु आरक्षण ,बन्द जनकपुर चुरोट कारखाना, कोशि टापु बन आरक्षण को बिकाशको परियोजना तथा कमला माई डाइभर्सनको बिकाशको कुरा लामो समय देखी उठाउदा पनि यस प्रति अब सरकारको योजना के रहेको भन्ने प्रश्न सांसद यादवले गरे ।

तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा

वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भइरहेकोे खेलको पहिलो हाफको २३ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । मगरले गरेको गोल फर्काउन निरन्तर प्रयास गरेपनि हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडी सकेनन् ।  

एक गोलले अग्रता बनाएको बाग्मती फुटबल क्लब सर्लाहीले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६१ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर १८ का खेलाडी सुदिप मगरले दोस्रो गोल गरे । बाग्मतीका खेलाडी कपिल र सुदिपले गरेकै गोल नै अन्तिम सम्म बाग्मती फुटबल क्लब सर्लाहीको लागि निर्णायक रहयो । बाग्मती फुटबल क्लब सर्लाहीका खेलाडीले गरेको गोल हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।

आजको खेलमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले म्यान अफ दि म्याचको पुरस्कार पाए । उनलाई परवानीपुर गाउँपालिका – ३ लिपनीमाल निवासी युवा राजेश सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे  । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए । अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी थिए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्ष्तामा भएको खेलमा प्रमुख अतिथि जसपा मधेस प्रदेशका सदस्य ओम प्रकाश बैठा थिए ।

बचत गर्ने बानीको विकास गर्नुपर्छ : नेता पटेल

वीरगंज । बचत गर्ने बानीको विकास गर्नुपर्ने एमालेका नेता शिव पटेलले वताएका छन् । खर्च गर्ने प्रवृती बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य पटेलले बचत गर्ने बानी बसाल्न सबैलाई आग्रह गरेका हुन् । 

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ नगरदाहास्थित साधना लघुबित्त वित्तिय संस्थाले ‘ग्लोबल मनी विक’ को अवसरमा आयोजना गरेको जनप्रतिनीधिलक्षित वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋणलाई सही ठाउँमा लगानी गर्न सुझाव दिए । 

ग्रामिण क्षेत्रका बासिन्दालाई बिना धितो समुह तथा गोलियाको अधारमा ऋण निकाल्न पाउने व्यवस्था गर्नुपर्ने र त्यसको लगानीको सुनिश्चितता गर्नेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए । 

महिला जनप्रतिनिधि सरस्वती देविको अध्यक्षतामा आयोजित साक्षरता कार्यक्रममा साधना लघुबित्त वित्तीय संस्थाका सिताराम पण्डीत, बिशाल कुमार यादव, स्थानिय बिजय कुमार, बिन्देबासिनि मन्दिरका पुजारी पुरुषोत्तम उपाध्याय लगयतले धारणा राखेका थिए ।

भन्सार नीतिले तस्करलाई बढावा दिइरहेको छ, संशोधन जरुरी छ : प्रदिप यादव

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदिप यादवले भन्सार नीतिमा व्यापक संशोधनको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद यादवले हुकुमी शैलीमा चलिरहेको भन्सारलाई समय सापेक्ष र आवश्यकताअनुसार नीतिगत रुपमा व्यवस्थित गर्नुपर्ने बताए ।

यादवले अवैध कारोबारलाई प्रोत्साहित गरिरहेको पेनाल्टी प्रावधान हटाउन पनि माग गरे । उनले भने “आयातकर्ताले भन्सार मूल्यको पुस्तिका भन्दा कम मूल्यको बिलबिजक पेश गरेमा भन्सारले ५० प्रतिशत पेनाल्टी तोक्छ । आव २०८०/०८१ को बजेटमा अन्त शुल्कमा समेत पेनाल्टी लिने प्रावधान राखिएको छ । पेनाल्टी जोगाउन आयातकर्ताले भन्सार किताबभन्दा बढीको बिलबिजक पेस गर्छन् र सोहीअनुसार एलसी पनि खुल्छ । जसले गर्दा नेपाली भन्सारमा पेनाल्टी लाग्दैन ।”

“अर्कोतिर बिलबिजकको वास्तविक मूल्यभन्दा बढी पठाएको रकम अवैध हुण्डीको माध्यमबाट नेपाल फर्किन्छ । तसर्थ भन्सार मूल्यांकन किताब तथा अन्तशुल्कमा लगाएको पेनाल्टी गर्दा अवैध कारोबारलाई प्रोत्साहित गरिएको देखिन्छ । यसकारण पेनाल्टी लिने प्रावधान हटाउन जरुरी छ ।” उनले भने ।

सांसद यादवले स्वदेशी उद्योग प्रवर्द्धनमा पनि वर्तमान कानुन बाधक रहेको बताए । ‘स्वदेशी उद्योगको प्रोत्साहन गर्नुछ भने पहिलो त डिप्टीमा फरक राख्नुपर्छ । हाम्रो भन्सारमा कच्चा पदार्थको डिप्टी महंगो छ, तयारी पदार्थमा सस्तो छ । यसको कारण स्वदेशी उद्योग पनि डुबिरहेको छ,’ उनले भने, ‘उदाहरणको रुपमा काँचो दाल (गोरो/मसुरो)मा १० प्रतिशत भन्सार लाग्छ । तर, तयारी दालको रुपमा आउँछ भने ९ प्रतिशत भन्सार लाग्छ । अनि स्वदेशी उद्योग कसरी बढावा भयो ? कच्चा पदार्थ आउँदा १० प्रतिशत कर लाग्ने, तयारी सामान आउँदा ९ प्रतिशत लाग्ने हुँदा स्वदेशी उद्योग त डुब्छ ।’

भारतबाट नेपालमा धान आउँदा भारतलाई २० प्रतिशत कर तिर्नुपर्ने र ५ प्रतिशत नेपाली भन्सारमा कर लाग्ने भन्दै यादवले २५ प्रतिशत तिरेर नेपालमा धान आयात गरेर उद्योगीले चामल उत्पादन गरेर विक्री गर्दा महंगो हुने गरेको बताए । ‘यसकारण अहिले तस्करलाई मजा भएको छ । भारतमा प्रत्येक केजी चामलमा ५ रुपैयाँ सस्तो छ । भारतमा सस्तो भएकाले सिधा बोर्डरबाट खुलेयाम तस्करी गरेर नेपाल ल्याइँदैछ,’ उनले भने ।

सांसद यादवले सानो सानो वस्तुमा तस्करीकै माध्यमबाट भित्रिँदा अपेक्षित राजस्व संकलन हुन नसकेको बताए । ‘जस्तै काजुको कुरा गर्ने हो भने नेपाली भन्सारमा प्रति केजी ६ सय रुपैयाँ भन्सार लाग्छ । त्यही काजु प्रत्येक केजी सय रुपैयाँमा तस्करहरु काठमाडौं पुर्याइरहेको छ । मलाई जहाँसम्म याद छ, माननीय अर्थमन्त्रीज्यू जुन काजु खानुहुन्छ, त्यो तस्करले काठमाडौं पुर्याएको काजु नै खानुहुन्छ । हामी पनि काठमाडौं बसेर खान्छौं । किनकि काजुको भन्सार भइरहेको छैन । अर्थमन्त्रीजीले कर्मचारीबाट तथ्यांक लिए हुन्छ । जुन पनि काजु आइरहेको छ, त्यो सबै तस्करी भएर आइरहेको छ । भुजिया, काजुलगायत सानो सानो सबै तस्करीमा आइरहेको छ,’ उनले भने ।

सांसद यादवले तस्करी नियन्त्रण हुनेगरी भन्सार नीतिमा संशोधन गर्न अर्थमन्त्रीलाई सुझाव दिए । ‘भारतमा ४ देखि २८ प्रतिशतसम्म रहेको जिएसटीलाई आधार मानेर कर निर्धारण गरौं । भारतमा ४ प्रतिशत कर छ, तपाई १३ प्रतिशत लिनुहुन्छ भने निश्चित रुपमा तस्करी हुन्छ । यस्तो नीतिले तस्करलाई बढावा दिइरहेको छ । यसमा अर्थमन्त्रीले गम्भीर रुपमा विचार गरेर संशोधन गर्नुपर्छ,’ उनले भने ।