Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 328

९० लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ९० लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट प्रहरीले ८७ लाख ५० हजार ४१५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

ना.६ ख ३८६१ नम्बरको ट्रक चेकजाँचको क्रममा खुद्रा सामानसँगै औषधी तथा कपडाहरु बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । 

त्यस्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले पनि २ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकबाट प्रहरीले विभिन्न खुद्रा तथा औषधी जन्य सामग्रीसँगै कपडा बरामद गरेको डिएसपी थापाले बताए । बरामद सामग्रीलाई ट्रकसहित आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ । 

फुटेर बनेको जसपा पर्साकाे भेला सम्पन्न, काे काे भए त सहभागि ?

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) को वीरगंज अगुवा कार्यकर्ता भेला बुधवार सम्पन्न भएको छ ।

जसपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनलाल चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम् वीरगंज महानगरका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा जिल्ला समन्वय समितिको सभाकक्षमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मेयर सिंहले उपेन्द्र यादवको जसपा नेपाल भन्दा आफूहरूको पार्टी प्रत्येक जिल्लामा शक्तिशाली र सबल रहने बताए । त्यसका लागि सङ्गठन निर्माणमा आजैदेखि सशक्त भएर लाग्न नेता कार्यकर्ताहरूलाई उनले निर्देशन पनि दिए ।

जसपा नेपाललाई उपेन्द्र यादवले पार्टीलाई एउटा प्राइभेट कम्पनी लिमिटेडेका रूपमा चलाएकोले आफूहरूले त्यसको विद्रोह गरेर नयाँ दल बनाएको मेयर सिंहले बताए । उपेन्द्र यादवले रकम लिएर मन्त्री बनाउने, प्रदेश सरकारका मन्त्रालयका योजनाहरू पहिल्यै कमिसन लिएर पालिकाहरूलाई वितरण गर्ने, जिल्लामा पार्टीभित्र कुनै विवाद हुँदा समाधानको सट्टा आफूले नै गुटउपगुट बनाएर हिँड्ने जस्ता अराजकता मच्चाएको आरोप पनि उनले लगाए ।

नयाँ दल जसपालाई अब नयाँ शीराबाट अगाडि बढाउने भन्दै उनले यो दलमा सबै तहका नेता कार्यकर्ताको समान मूल्याङ्कन गरिने भएकाले आफूहरूको दलमा आबद्ध हुन उनले आह्वान पनि गरे ।

भेलामा जिल्ला समन्वय समिति पर्साका सभापति  निरञ्जन साह सोनार (अजय सर्राफ), पूर्व प्रदेशसभा सदस्यहरू जनत अन्सारी, भीमा यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, वीरगंज ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १८ का वडाध्यक्ष उमाशंकर तिवारी, वडा नम्बर २९ का धर्मेन्द्र चौधरी, वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादव, वडा नम्बर ३२ का वडाध्यक्ष रियाज लगायत जसपाका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियाे । कार्यक्रममा स्वागत मन्तव्य जसपाका युवा नेता ईश्वरचन्द्र यादवले राखेका थिए ।

पिएमसी एकेडमीकाे बिदाई कार्यक्रम भव्य रुपमा सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे पर्सा मैनेजमेन्ट सेन्टरल एकेडमी (पिएमसि)काे बिदाई कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । 

वीरगंजकाे पानीटंकीस्थित ओम पार्टी प्यालेसमा भएकाे कार्यक्रममा एकेडमीकाे कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुकाे बिदाई गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चाैधरीले अहिलेकाे जबानामा शिक्षा नै सबै थाेक भएकाे वताए । उनले अहिलेकाे जबानामा शिक्षित नभएकाे मानिसकाे कुनै महत्व नभएकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता चाैधरीले जिवनलाई सार्थक बनाउन शिक्षा जरुरी रहेकाे वताए । उनले शिक्षाबाट नै जिवनकाे सापना पुरा हुने भएकाेले अनुशासित भएर पढ्नु पर्ने सुझाए ।

पिएमसि एकेडमीका निर्देशक प्रकाश यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल निजामती कर्मचारी ट्रेड युनियनका निर्वतमान अध्यक्ष सुवेदार प्रसाद यादव, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरी, जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सराेज चाैरसिया, बिन्दवासिनी गाउँपालिकाका लेखा अधिकृत मिथिलेश कुशवाहा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिराभवानी गाउँपालिकाका लेखा अधिकृत मुकेश मिश्र, नेकपा एमालेका जिल्ला कमिटी सदस्य पवन यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष एवम् कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, पिएमसी एकेडमीका निर्देशक सुशिल ठाकुर, मिनु कुमारी, सपना झा, नरेन्द्र महताे काेइरी लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन एकेडमीका रामप्रबेश यादवले गरेका थिए ।

कार्यक्रममा एकेडमीका छात्र/छात्राले विभिन्न किसिमकाे सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

नारायणी अस्पतालका डाक्टरकाे लापरवाहीले एक बालककाे अवस्था गम्भिर

वीरगंज । नारायणी अस्पतालको चिकित्सकको लापरवाहीका कारण एक ७ वर्षीय बालककाे शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भएको छ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी अशेसर पटेलको ७ वर्षीय छोरा कृष्णा पटेलको छातीमा समस्या आई नारायणी अस्पतालमा उपचारका लागि लगेकोमा त्यहाँ कार्यरत डा. पप्पु जयसवाल र डा. सुरज कुर्मीको चरम लापरवाहीको कारण बालकको शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भएको हो ।

छातीमा साधारण चोट लागि ५० एम.एल. रगत जमेको देखिएपछि उपचारको लागि शुक्रबार नारायणी अस्पताल लगिएकोमा चिकित्सकद्वयले तीन दिनसम्म उपचार नगरेका कारण छातीमा गम्भिर समस्या आई नेशनल मेडिकल कलेजमा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बालकका बुवा अशेसर पटेलले जानकारी दिए । उनका अनुसार शुक्रबार अस्पतालमा लगेपछि चिकित्सकहरुले शुक्रबार, शनिबार र आइतबारसम्म उपचार नगरेकै कारण आइतबार साँझ छातीमा गम्भिर समस्या आएको बताए ।

तीनसम्म बच्चाको कुनै किसिमको चेकजाँच नगरि औषधी नचलाएको उनको आरोप छ । शुक्रबार अस्पतालमा लैजाँदा चिकित्सक डा. पप्पु जयसवालले आफ्नो निगरानीमा अस्पतालमा भर्ना गराएका थिए । त्यस पश्चात दुईदिनसम्म उनले अस्पतालमा राखेर कुनैकिसिमको उपचार नगर्दा समस्या जटिल बन्दै गएपछि आइतबार साँझ मात्रै ड्युटीमा आएका डा. सुरज कुर्मीले यहाँ उपचार सम्भव नरहेको भन्दै नेशनल मेडिकल कलेजमा रेफर गरेका थिए ।

विरामी बच्चाका बुवा अशेसर पटेलले भने ‘शुक्रबार ५० एम.एल. मात्रै रगत जमेको थियो, चिकित्सकले आफ्नो निगरानीमा राख्नका लागि भर्ना गरेर उपचार नगर्दा आइतबार छोराको अवस्था गम्भिर भएपछि आफैले सिटि स्केन गराउँदा २५० एम.एल. रगत जमिसकेको थियो, त्यसपछि डा. सुरज कुर्मीले बच्चाको अवस्था गम्भिर भएको भन्दै नेशनल मेडिकल कलेज लैजान भनेर रेफर गरे’ । दुईदिनसम्म अस्पतालमा राखेपनि कुनै किसिमको चेकजाँच तथा बच्चाको उपचार नभएको कारण छोराको अवस्था विग्रिएको उनको भनाई छ ।

अहिले बच्चालाई नेशनल मेडिकल कलेजमा राखेर उपचार भइरहेको छ । बच्चाको छातीमा समस्या भएर साँस फेर्न गाह्रो भइरहेको कारण छातीमा ‘चेस्ट ट्युब’ हाल्नु परेको छ । बुधबार साँझ शल्यक्रिया गरेर चेस्ट ट्युब हाली जमेको रगतलाई निकाल्नुपर्छ । यसरी उपचारमा चरम लापरवाही गरेका चिकित्सक डा. पप्पु जयसवाल र डा. सुरज कुर्मीलाई कारवाहीको लागि नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. चित्तरन्त साहलाई जानकारी गराइएको छ । सोमबार मेसुको कार्यकक्षमा पीडित पक्ष, उपचारमा संलग्न चिकित्सक, अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता सहित सञ्चारकर्मीको रोहबरमा भएको छलफलमा चिकित्सकहरुको चरम लापरवाहीले बच्चाको अवस्था गम्भिर भएको पाइएको थियो ।

मेसु डा. साहले यसबारे आवश्यक छानविन गरि दोषीलाई कारवाही गर्ने आश्वासन दिएका थिए । दुई तीन दिन भित्र छानविन समिति बनाई यस घटनामा संलग्न रही लापरवाही गरेका चिकित्सकलाई कारवाही गर्ने बताए । छलफलको क्रममा अस्पतालको आन्तरिक रिपोर्टिङ्गमा कमि देखिएको थियो । दुईदिन सम्म आफ्नो निगरानीमा राखेका डा. पप्पु जयसवालले आइतबारका दिन ड्युटीमा आएका चिकित्सक डा. सुरज कुर्मीले बालकको अवस्थाबारे जानकारी नगराएको कारण उपचारमा लापरवाही भएको पाइएको थियो । तीन दिनसम्म भर्ना रहेका बच्चाको बारेमा चिकित्सकहरुलाई जानकारी नै नभएको कारण उपचारमा लापरवाही भएको देखिएको थियो ।

वर्तमान अवस्थामा नारायणी अस्पतालमा सर्वसाधारणले भरपर्दो सेवा पाउन सकेका छैनन् । चिकित्सकहरुले समयमा ड्युटीमा नआउने, उपचारमा लापरवाही गर्ने, आफ्नो मनमौजी तरिकाले अस्पतालमा आउने र राउण्ड गरेर सुटुक्कै आफ्नो निजी क्लिनिकमा जाने गरेको कारण नारायणी अस्पतालको उपचार सेवा प्रभावकारी हुन सकेको छैन । वीरगंजमा रहेका निजी क्लिनिकहरुको चिकित्सकहरुको बोर्डमा नारायणी अस्पतालको नाम चिप्काइएको हुन्छ तर कुनै चिकित्सक समयमा नारायणी अस्पतालमा भेट हुँदैन, दिनभरि क्लिनिकमा बस्ने गरेको कारण नारायणी अस्पतालमा सेवाग्राहीहरुले प्रभावकारी सेवा पाउन सकि रहेको छैन ।

स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रलाई कमाई खाने भाँडो बनाएका नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई समयमै सुधारिएन भने नारायणी अस्पतालको नाम बेचेर अकुत सम्पत्ति कमाउन पल्केका यस्ता चिकित्सकहरुको कारण नारायणी अस्प्तालको भविष्य धरासायी बन्दै गएको छ । भर्खरै दुई दिन अघि मात्रै इमर्जेन्सी वार्डमा खटेका मेडिकल अफिसरले रगत परीक्षणका लागि निजी ल्याबमा पठाएको घटना सार्वजनिक भएको थियो । नारायणी अस्पतालको ल्याब हुँदाहुँदै कमिशनको लागि उनीहरुले रगत पिसाब चेकजाँचको लागि निजी ल्याबमा पठाउने गरेको कारण स्वास्थ्य क्षेत्रमा माफियातन्त्र हावी भएको सहजै अनुमान लगाउन सकिन्छ ।

नारायणी अस्पतालको नाम बेचर निजी क्लिनिकमा विरामी पठाउन पल्केका यस्ता चिकितसकहरुको पर्दाफास हुन आवश्यक छ । अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ताले यस्ता घटनाहरुप्रति सम्वेदनशील भई अस्पतालको सेवालाई सुधार्नुपर्ने आवश्यक रहेको बताइएको छ । स्वास्थ्यमा राजनीतिमात्रै नभई सेवा पनि सुधार गर्नुपर्ने देखिन्छ ।

मितेरी पुलबाट पेस्तोलसहित नेपाली नागरिक पक्राउ

वीरगंज । वीरगंज-रक्साेलस्थित मितेरी पुलबाट भारतीय प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट हतियार पेस्तोलसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो । 

नेपालको नवलपरासी गैँडाकोटका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोल र दुई थान म्याग्जिनका साथ पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ । सोही क्रममा नवलपरासीकै विवेक मल्ल ठकुरी फरार भएको एसएसबीले जनाएकाे छ ।

एसएसबिका अनुसार बरामद दुवै पेस्तोल ९ एमएमका हुन् । तिमध्ये एक मेड इन यू एस ए र अर्काे मेड इन इटली रहेको छ । एउटा पेस्तोलमा म्याग्जिन लोड थियो भने अर्काेमा थिएन ।

हत्या वा लुट तथा कुन प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गर्न लागेको भन्ने यकिन भइसकेको छैन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको भारतीय एसएसबीले जनाएको छ ।

दुई जना अपराधीक गतिविधिमा संलग्न व्यक्ति भारत प्रवेश गरेको विशेष सूराकीका आधारमा चेकजाँच गर्न खोज्दा दुवै जना डंकन रोडतर्फ भागेका थिए । अझै अगाडी बढेपछि उनीहरुले झाडीमा पेस्तोल र म्याग्जिन फालेका थिए ।

सोही क्रममा एक जनालाई एसएसबीले पक्राउ गर्न सपल भयो भने विवेक मल्ल ठकुरी भाग्न सफल भएको इन्स्पेक्टर राजीव नन्दन सिन्हाले बताए । नेपाल प्रहरीसँग समन्वय गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको उनले वताए । 

अझै टेरेनन् उद्याेगी, चोरबाटो सिर्सिया नदीमा प्रदुषित पानी मिसाउँदै

वीरगञ्ज । सिर्सिया नदी प्रदूषण गराउनमा सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित अरनीको टेक्सटाइलको हात छ । वीरगञ्ज महानगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन महाशाखा अन्तर्गतकाे वातावरण शाखा प्रमुख प्रकाश ऐरकाअनुसार नदी प्रदूषण गर्ने उद्योगमध्ये अरनीको टेक्सटाइल पहिलो नम्बरको उद्योग हो । 

पटकपटक ताकेता गर्दा पनि अटेरका गरेका उद्योगहरुलाई वीरगञ्ज महानगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम पूरा भएकै दिन महानगरको टोलीले मंगलवार उद्योगहरुमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । जसमा अरनीको टेक्सटाइलले तीन वटा पोखरी बनाएको छ । पोखरी भरिएपछि पुन: नदीमै प्रदूषित पानी मिसाइएको पाइएको हुँदा ध्यानाकर्षण गराइएको उनले बताए । प्लान्ट निर्माणका लागि प्राविधिक टोलीलाई बोलाएको हुँदा केही समयभित्रै प्लान्ट बन्ने उद्योग पक्षको दाबी छ । 

त्यस्तै सिद्धि टेक्सटाइलले पनि पोखरी बनाएको छ । तर प्रभावकारी रुपमा प्लान्ट नबनाएको पाइएको अनुगमनमा सहभागी वीरगंज महानगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयालले बताए । उनकाअनुसार अधिकांश उद्योगले प्राविधि टोली बोलाउने र अध्ययन गर्ने काम गरीरहेका छन् । उद्योग सुरु गर्ने समयमै गर्ने काम वीरगंज महानगरपालिकाको दबाबले अहिले सुरु गरेको उनको भनाई छ । 

महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नदीलाई प्रदुषणमुक्त बनाउनका लागि महानगरपालिकाले गम्भिरतापूर्वक काम गरीरहेको प्रमुख सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले बताए । 

मारुती पेपरले पछिल्लो समय महानगरको निर्देशनलाई मान्दै नमुना काम गरेको वातावरण शाखा प्रमुख प्रकाश ऐरले बताए । उनले भने, ‘मारुती पेपरले अहिले नमुना काम गरीरहेको छ । यो उद्योगले आफ्नै प्रशोधन केन्द्र बनाएको छ । यसले अहिले नदीमा प्रदुषित पानी मिसाएको छैन भन्दा पनि हुन्छ ।’ 

दुर्गा पेपर एण्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएको छ । तर पानी प्रशोधन गरेपनि उद्योगका अन्य विकार पदार्थले भने नदी प्रदुषित भइरहेको छ । विकार पदार्थलाई पनि उद्योगभित्रै व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरले संचारकर्मीहरुसंग भने । 

बाराको जितपुर सिमरा उपमहानगरपालिकाभित्र पर्ने नारायणी लेदर उद्योगमा पनि टोलीले अनुगमन गरेको थियो । वीरगंज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिका लगायतको सम्मिलित टोली मिलाएर बनाइएको समिति अन्तर्गत रहेर उक्त उद्योगमा अनुगमन गरिएको हो । 

नारायणी लेदर उद्योगले प्रशोधन केन्द्र भएपनि प्राविधिक टोली नहुँदा सञ्चालन गर्न नसकिएको बताएको छ । त्यसका लागि प्राविधिक व्यक्ति बोलाएर काम गराउने प्रतिबद्धता जनाएको वातावरण शाखाका प्रमुख प्रकाश ऐरले बताए । 

त्रिवेणी टेक्सटायल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाउने र प्रशोेधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको बताएका छन् । अनुगमनमा पुगेको टोलीसमक्ष उद्योगले कम्तीमा २/३ महिनाको अझै समय माग गरेका छन् । 

३ महिनाको समय दिन महानगर तयार भएपनि उक्त अवधिभर उद्योगको प्रदुषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने वातावरण निरीक्षक ऐरले बताए । उनले भने, ‘हामीले पटकपटक समय दिएका छौँ, ताकेता गरीरहेका छौँ । तर पनि अटेर गरेको पाइएको छ । यद्यपी केही उद्योगले काम गरीरहेका पनि छन् । त्यसैले अब महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।’

नारायणी अस्पतालकाे एमआरआई मेसिनमा समस्या, बिरामीहरु मर्कामा

वीरगंज । नारायणी अस्पताल वीरगंजमा दुई सत्तादेखि एमआरआई नहुँदा बिरामीहरु मर्कामा परेका छन् । गत बर्षकाे कार्तिक महिनामा कराेडाैंकाे लागतमा खरिद गरिएकाे एमआरई मेसिनमा समस्या आउँदा एमआरआई हुन नपाएकाे हाे । 

वीरगंजकाे एक मात्र सरकारी अस्पताल नारायणीमा एमआरआई नहुँदा गरिब, बिपन्न परिवारका बिरामीहरु बाहिर महँगाे शुल्क तिरेर गराउन बाध्य भएका छन् । नारायणीमा ८ हजारमा हुने एमआरआई बाहिर सिधै दाेब्बर रु १६ हजार जतिमा हुने गरेकाे छ ।

नारायणी अस्पतालमा आउने अधिकांश बिरामीहरु गरिब, बिपन्न परिवारका हुन्छन् । तर अस्पताल भित्र एमआरआई नहुँदा ति बिरामीहरुलाई समस्या भएकाे हाे ।

नारायणी अस्पतालका रेडियाेलाेजी विभाग प्रमुख अभिनाश झाका अनुसार नारायणीमा एमआरआई सेवा सुरु भएपछि दिनहु ८ देखि १० जना बिरामी सम्मकाे एमआरआई हुँदै आएकाे थियाे । केही दिनदेखि मेसिनमा समस्या आउँदा त्यहीं संख्यामा दिनहु बिरामीहरु अस्पताल बाहिरबाट गराउन बाध्य भएका छन् ।

नारायणी अस्पतालकाे एमआरआई मेसिनमा एमआरआई गर्दा ईराेर हुने समस्या देखिएका छन् । १५ देखि २० मिनेटमा हुने एमआरआईमा आधि घण्टा भन्दा बढी लाग्ने गरेकाे छ । त्यसले गर्दा बिरामीलाई थप समस्या हुन सक्ने भएर गर्न नसकिएकाे झाले वताए । हाेल स्पेनकाे कुनै पनि एमआर आई गर्न नसकिएकाे उनले वताए ।  

चाइनाकाे युनाईटेड इमेज कम्पनीबाट खरिद गरिएकाे एमआरआई मेसिनकाे बाकी रहेकाे २० प्रतिशत रकम भुक्तानी नहुँदा मेसिनमा देखिएकाे समस्या समाधान नगरेकाे नारायणी अस्पतालका मेसु डा. चितरन्जन साहले वताए ।

उनले भने “अहिले वारेन्टी पेरियडमा रहेकाे मेसिनकाे सम्पुर्ण जिम्मेवारी खरिद गरिएकाे कम्पनीकाे छ । डलरकाे रेट अनुसार खरिद गरिएकाे मेसिनकाे बाकी रहेकाे २० प्रतिशत रकम हाल डलरकाे रेट बढेका कारण भुक्तानी गर्न नसकिएर कम्पनीले मेसिनमा देखिएकाे समस्या समाधान नगरिदिएकाे हाे ।”

मेसु डा. साहले अपुग रकम स्वास्थ्य मन्त्रालयसंग माग गरिएकाे वताए । उनले मन्त्रालयमा पनि बजेट अभाव रहेकाेले अगामी बर्षकाे बजेटमा अपुग रकम राख्ने मन्त्रालयले अश्वासन दिएकाे वताए ।

नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज गुप्ताले पनि एमआरआई मेसिन खरिद गरिएकाे कम्पनी बाकी रहेकाे भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न नसकेर समस्या भएकाे वताए । उनले डलरकाे रेट बढेर अपुग भएकाे रकम पठाउन स्वास्थ्य मन्त्रालयमा पहल भइरहेकाे वताए । 

आफ्नै घरमा आगाे लगाउने सिंह पक्राउ

वीरगंज । आफ्नै घरमा आगो लगाई अपराधिक उपद्रव गर्ने एक जनालाई राैतहट प्रहरीले नियन्त्रणमा लिएकाे छ । रौतहट राजदेवी नगरपालिका वडा नं. ०९ ब्रहम्पुरी टोलका ४५ बर्षिय नितेश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

सिंहले मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा साेमबार सांझ ७ बजेकाे समयमा आगो लगाएको  लगाएकाे थियाे । उक्त आगो तत्कालै स्थानिय मानिसहरु तथा प्रहरी टोली गई आगो निभाएको, उक्त आगो तत्काल नियन्त्रणमा नआएको भए सोबाट वरपरका अन्य मानिसहरुको समेत घर जली ठूलो जनधनको क्षति हुन सक्ने प्रवल सम्भावना देखा परेको थियाे ।

त्यसैले आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “अपराधिक उपद्रव” शिर्षकमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी सुचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन । 

स्राेत नखुलेको रु १३ लाख नगदसहित वीरगंजबाट एक जना पक्राउ

वीरगंज । प्रहरीले हुण्डी कारोबारमा सलंग्न एक जनालाई वीरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडकखण्डबाट  पक्राउ गरेकाे छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ३ बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर निवासी २८ बर्षिय रवि कुमार पटेललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३-०१० प ६७१९ नम्बरको माेटरसाइकल रोकी खानतलासी गर्दा माेटरसाइकलमा सवार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेरु १३ लाख १५ हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उनकाे साथबाट नेपाली रु १ हजार दरको नोट ८८९ थान रु ८ लाख ८९ हजार, नेपाली रु ५ सय दरको नोट ८५० थान रु. ४ लाख २५ हजार  र नेपाली रु एक सय दरको नोट १० थान रु. एक हजार फेला परेकाे प्रवक्ता थापाले वताए । साथै उनकाे साथबाट बिभिन्न बैंकको खाली चेकहरु ७ थान समेत फेला परेकाे थापाले वताए ।

पक्राउ परेका पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले अस्पतालमा प्रेटिकलका लागि आउने छात्राहरुसंग याैन दुर्व्यवहार गर्ने गरेकाे आराेप लागेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनी निवासी ३० बर्षिय अगन्ध चाैरसियाले याैन दुर्व्यवहार गरेकाे भन्दै १७ बर्षिय र २२ बर्षिय छात्राले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागाउँदै पिडित छात्राहरुले उजरी दिएका हुन् ।

पीडित मध्येका एक छात्राका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् ।

उनले कालिका टाईम्ससंग कुरा गर्दै भनिन स्वयम् आफुलाई चाैरसियाले बैशाख ६, ७ र ८ गते लगातार डियुटकाे क्रममा याैन दुर्व्यवहार गर्दै मानसिक तनाव दिएकाे वताइन । त्यसपछि आफु दाईकाे विहेमा गएकाे र विहेबाट फर्केर आउँदा पनि त्यस्तै हर्कत दाेहाेर्‍याउँदै धम्की समेत दिएपछि आफुले बाध्य भएकाे प्रहरीमा उजरी दिएकाे वताइन ।

विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित उनले बताइन ।

प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’

पिडितहरुले उजरी दिएपछि प्रहरीले आराेपित चाैरसियालाई साेही दिन नियन्त्रणमा लिएकाे हाे । पिडितले दिएकाे उजरीकाे आधारमा अनुसन्धान गर्न आइतबार नै चाैरसियालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा प्रहरीलाई हेर्न नमिल्ने भन्दै पक्राउ परेका चाैरसियालाई आज छाेड्न लागिएकाे उनले वताए । कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा जिल्ला प्रशासनले हेर्न अधिकार रहेकाे डिएसपी थापाले वताए । नत्र पिडितले सिधै अदालत जान्न मिल्ने उनकाे भनाई थियाे ।

यता केही नेताहरुकाे दबावमा प्रहरी आराेपित चाैरसियालाई छाेड्न लागेकाे बुझिएकाे छ । नेताहरुकाे दबावका कारण प्रहरीले मुद्दा दर्ता नगरी विभिन्न बहाना बनाउँदै यसरी नै छाेडन लागेकाे हाे ।

यस बिषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।