Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वीरगंजको सडक विस्तार अब रोकिनु हुँदैन

spot_img
spot_img

वीरगंज नेपालको प्रमुख व्यापारिक केन्द्र र सीमावर्ती सहर, विकासको ठूलो सम्भावना बोकेको भए पनि अव्यवस्थित पूर्वाधारका कारण पछाडि परेको वास्तविकता आज कसैबाट लुक्दैन । विशेषगरी गण्डक–घण्टाघर–मितेरी पुल सडकखण्डको अवस्था यति नाजुक भइसकेको छ कि सामान्य सवारी साधन चलाउनु वा पैदल हिँड्नु पनि जोखिमपूर्ण हुन थालेको छ । यस्तो स्थितिमा, यो सडकलाई २५ मिटरको मापदण्डअनुसार तत्काल चौडा गर्नु विकासको चाहना मात्र होइन, अपरिहार्यता बनिसकेको छ ।

आजको वीरगंज सडक साँघुरो छ, अतिक्रमित छ, फुटपाथ छैनन्, पार्किङ अव्यवस्थित छन्, ट्राफिक जाम भने दिनहुँको नियति बनेको छ । बिहानदेखि बेलुकासम्म यात्रुहरू सवारी जाममा फस्छन्, एम्बुलेन्सलाई बाटो छैन, विद्यालय जानेलाई जोखिम छ, र व्यापारीहरू ढुवानीमै ढिलो भएर आर्थिक नोक्सानी भोगिरहेका छन् । यो अवस्था के केवल केही घर जोगाउनका लागि अनिश्चितकालसम्म जस्ताको तस्तै राखिराख्न सकिन्छ ?

सडक विस्तारका लागि सरकार र डिभिजन कार्यालयले प्रस्ताव गरेको २५÷२५ मिटरको चौडाइको योजना भर्खरै सर्वोच्च अदालतबाट पनि वैधानिक मान्यता पाइसकेको छ । यसपछि अब ढिलो नगरी सो योजना कार्यान्वयन गर्न सरकार अघि सर्नु अनिवार्य भएको छ । यसलाई फेरि राजनीतिक, भावनात्मक वा व्यक्तिगत दृष्टिकोणबाट पछि धकेल्न खोज्नु स्वयं वीरगंजको भविष्यको खिल्ली उडाउनु हो ।

यहाँ केहीले तर्क गर्छन्, “घरहरू भत्कन्छन्, व्यापार गुम्छ, बस्ती उजाडिन्छ ।” हो, यी समस्या छन् । तर, यसको समाधान भनेको विकास रोकिनु होइन, समावेशी रणनीति अपनाउनु हो । पूर्वाधार निर्माण केवल बुलडोजर चलाएर होइन, संवादमार्फत अघि बढ्न सकिन्छ । तर त्यसको लागि इच्छाशक्ति चाहिन्छ, जुन अब देखाउनु पर्ने बेला आइसकेको छ ।

यसबाहेक, सहरमा आकस्मिक सेवाहरू जस्तै एम्बुलेन्स, दमकल र सुरक्षासम्बन्धी गतिविधिका लागि समेत हालको सडकले सहयोग गर्न सकेको छैन । भविष्यमा वीरगंजले अन्तर्राष्ट्रिय व्यापार केन्द्रको रूपमा अझ धेरै लोड सहनुपर्नेछ । तर आधारभूत पूर्वाधार नै कमजोर रहे, त्यो सम्भावना केवल सपना मात्र रहनेछ ।

हामीले सम्झनुपर्छ, वीरगंज केवल आजका बासिन्दा मात्रको सहर होइन—यो भविष्यको पुस्ताका लागि बनाइँदैछ । त्यसैले के आज केही पुराना संरचना भत्किए भनेर पुरै सहरको विकास रोकिनु उपयुक्त होला?

शहर विकासका लागि कहिलेकाहीं कठिन निर्णय लिनुपर्ने हुन्छ । तर कठिन निर्णय मानवीय संवेदनशीलतासँग सन्तुलनमा लिएर गरियो भने त्यसले समृद्धिको ढोका खोल्दछ । यस्तै मोडमा अहिले वीरगंज उभिएको छ । सडक विस्तार नगर्ने हो भने यो शहर केही वर्षमै ट्राफिक, अतिक्रमण, प्रदूषण र अव्यवस्थाको स्थायी बन्दी बन्न सक्छ । त्यसैले अब विकल्प छैन—वीरगंजको सडक चौडा गर्नैपर्छ, व्यवस्थित गर्नैपर्छ ।

अन्त्यमा, विकासलाई रोक्ने होइन, सहमतिमा अघि बढाउने हो । घर बचाउने प्रयास स्वाभाविक हो, तर सहर बचाउनु राष्ट्रिय जिम्मेवारी हो । वीरगंज केवल भौगोलिक भूभाग होइन, नेपालको गौरव र सम्भावनाको सहर हो । त्यसैले यसलाई साँघुरो सोच होइन, खुला योजनाले अघि बढाउनुपर्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...