Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 160

पर्सा–२ को अलौंमा सयभन्दा बढी एमालेमा प्रवेश, उम्मेदवार रिमालाई जिताउने प्रतिवद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अकतर मियाँ पवरीयाको नेतृत्वमा एक सय जनाभन्दा बढीले नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेमा प्रवेश गर्नेहरूमा कनवर मियाँ मन्सुरी, राजवंशी साह कानु, उमेश सहनी, शिवपुजन साहलगायत रहेका छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका किशुनदेव यादवको नेतृत्वमा एक दर्जनभन्दा बढीले पनि एमालेमा प्रवेश गरेको एमाले वीरगंज महानगर लेखा समिति संयोजक अजय साहले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले पर्सा क्षेत्र नम्बर २ की एमाले उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। वक्ताहरूले यस क्षेत्रबाट निर्वाचित सांसद तथा मन्त्रीहरूले अपेक्षित विकास गर्न नसकेको भन्दै यसपटक परिवर्तन आवश्यक रहेको बताए।

वक्ताहरूले जेन–जी आन्दोलन र जनचाहनाअनुसार एमालेले युवा तथा महिला उम्मेदवार अघि सारेको उल्लेख गर्दै सबै मिलेर उम्मेदवार यादवलाई विजयी गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, एमाले मधेश प्रदेश उपाध्यक्ष तथा वीरगंज महानगर इन्चार्ज विचारी यादव, उम्मेदवार रिमा कुमारी यादव, वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी, क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, वीरगंज–१७ का वडा अध्यक्ष संजिव छतकुली, वडा नम्बर २४ का वडा अध्यक्ष विजय कुर्मी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पर्सा २ मा मुकेश द्विवेदी र पूर्व वडाध्यक्ष कलवार एमालेमा प्रवेश

0

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको आयोजनामा केन्द्रीय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व सभापति तथा जसपा युवा नेता मुकेश द्विवेदी, वीरगंज महानगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष मनोज कलवार तथा वडा नं. ३ का पूर्व वडा सदस्य एवं न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशी नेताहरूलाई केन्द्रीय उपमहासचिव योगेश भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। आयोजकका अनुसार उक्त प्रवेश कार्यक्रमले पार्टी संगठनलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा एमाले एकजुट भएर अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी, पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंगासान साह कलवारलगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएका छन्।

उपमहासचिव भट्टराईको घोषणा : प्रदीप यादवलाई जिताएर पठाउनुस्, एमालेले मन्त्री बनाउँछ

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१२ श्रीपुरमा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको सम्पर्क कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। बिहीबार नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले उक्त सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा एमाले उपमहासचिव भट्टराईसँगै पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले फागुन २१ गतेको निर्वाचनपछि देशमा एमाले नेतृत्वकै सरकार बन्ने दाबी गर्दै सो सरकारमा प्रदीप यादवलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने स्पष्ट पारे। त्यसका लागि पर्सा–१ का मतदातालाई यादवलाई अत्यधिक मतका साथ जिताएर संसदमा पठाउन आग्रह गरे।

यादव कर्मठ, जनताको माझमा रहने र लोकप्रिय नेता भएको उल्लेख गर्दै भट्टराईले यस्ता नेतालाई प्रतिनिधिसभामा पठाउनु आवश्यक रहेको बताए। उनले यादवको नेतृत्व क्षमताको प्रशंसा गर्दै पर्सा–१ को विकासमा निर्णायक भूमिका खेल्न सक्ने नेता भएको दाबी गरे।

कार्यक्रममा बोल्दै एमाले उम्मेदवार प्रदीप यादवले संविधान संकटमा परेको अवस्थामा त्यसको रक्षा गर्नकै लागि आफूले एमाले रोजेको बताए। “संविधान नै नरहे मधेसका मुद्दा पनि रहँदैनन्,” भन्दै उनले संविधान र मधेसका मुद्दा जोगाउन एमालेसँगै अघि बढेको स्पष्ट पारे।

उपमहासचिव भट्टराईले आफ्नो वीरगंज आगमनसँगै एमाले पर्साभित्र रहेका केही तीतामिठा कुराहरू समाप्त भएको उल्लेख गर्दै आजको कार्यक्रमले पर्सामा एमाले एकताको सशक्त सन्देश दिएको बताए। उनले यसपटकको निर्वाचनमा पर्साका चारै क्षेत्र एमालेले जित्ने दाबीसमेत गरे।

“अहिलेको लडाइँ संविधान जोगाउने लडाइँ हो, राष्ट्र र राष्ट्रियता जोगाउने लडाइँ पनि हो। त्यसैले एमाले जित्नैपर्छ,” भट्टराईले भने।

एमाले पर्सा क्षेत्र नम्बर–१ का संयोजक मानदेव हजराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रभु हजरा र निर्मला देवकोटा, मधेस प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल, प्रदेशसभा पूर्व सदस्य जन्नत अन्सारी, एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास, एमाले नेतृ मुन्नी श्रीवास्तव लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‘म नेता होइन, जनताको सेवक हुँ’ : उम्मेदवार अशोक टेमानी

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आगामी निर्वाचनको तयारीलाई थप तीव्र बनाएका छन्। टेमानीले बिहीबार वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीवीर्ता लगायत विभिन्न क्षेत्रमा भव्य घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा टेमानीले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवासम्बन्धी स्थानीय समस्याहरू नजिकबाट सुने। मतदाताका सुझाव र अपेक्षालाई गम्भीर रूपमा लिँदै उनले निर्वाचित भएमा ती विषयहरूलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।
“म नेता होइन, जनताको सेवक भएर काम गर्ने लक्ष्यमा छु। विगतको राजनीतिक अभ्यासभन्दा फरक, जवाफदेही र परिणाममुखी राजनीति आजको आवश्यकता हो,” टेमानीले बताए।

वडा नं. २६ का मतदातासँगको संवादमा उनले मधेश र पर्साको दीर्घकालीन विकास योजनाको आवश्यकता औँल्याउँदै वीरगंजलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व अपरिहार्य रहेको धारणा राखे।
“जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,” उनले थपे।

घरदैलो अभियानमा सहभागी स्थानीय मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको प्रशंसा गरेका छन्। विगत केही समयदेखि निरन्तर क्षेत्रमै सक्रिय रहँदै आएका टेमानी जनताको विश्वास जित्ने क्रममा रहेको उनीहरूको भनाइ छ। यसले आगामी निर्वाचनमा टेमानीलाई व्यापक जनसमर्थन प्राप्त हुने अपेक्षा गरिएको छ।

जसपा नेपालले पर्सा–२ लाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै चुनावी गतिविधि सशक्त बनाएको छ। त्यसैअनुसार उम्मेदवार टेमानीले घरदैलो, टोलसभा र प्रत्यक्ष संवादमार्फत अभियानलाई प्रभावकारी बनाइरहेका छन्। उनको अभियानमा युवादेखि वृद्धवृद्धासम्मको उल्लेखनीय सहभागिता देखिएको छ।

उम्मेदवार टेमानी मधेश प्रदेशका सफल उद्योगी–व्यवसायीका रूपमा परिचित छन्। उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नेतृत्व गरिसकेका उनी विभिन्न संघ–संस्थामा अध्यक्षका रूपमा काम गरिसकेका अनुभवी व्यक्तित्व हुन्। विगतदेखि सामाजिक सेवामा सक्रिय टेमानीले नीतिगत तहमा पुगेर क्षेत्रीय समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन्।

घरदैलो, टोलसभा र प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिँदै आएका अशोक टेमानीले पर्सा–२ मा जसपा नेपालको बलियो उपस्थिति र विकासमुखी सन्देश फैलाइरहेका छन्। उनको अभियानले मतदातामा विकास, सेवा र जवाफदेहिताप्रतिको आशा थप बलियो बनाएको देखिन्छ।

‘पर्सा–३ लाई भाषण होइन परिणाम चाहिन्छ’ : उम्मेदवार रूपेश पाण्डे

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा देवरवाना काफला समितिका अगुवा व्यक्तित्वहरूलाई युवा प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेले सम्मान गर्नुभएको छ।

सम्मान कार्यक्रमसँगै सम्पन्न भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले क्षेत्रका विद्यमान समस्या, जनताको दुःख–कष्ट तथा विकासका क्रममा देखिएका बाधा–अवरोधहरूको स्पष्ट चित्रण गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, कृषि विकास, पूर्वाधार निर्माण तथा सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“अब पर्सा–३ लाई भाषण होइन, प्रत्यक्ष परिणाम चाहिएको छ,” भन्दै उहाँले जनताको विश्वास र अपेक्षालाई कार्यान्वयनमार्फत पूरा गर्ने दृढ अठोट दोहोर्याउनुभयो।

कार्यक्रममा सहभागी स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूले उम्मेदवार पाण्डेप्रति खुला समर्थन व्यक्त गर्दै आगामी निर्वाचनमा सफलता प्राप्त गर्न शुभकामना दिएका थिए। उनीहरूले पाण्डेको उम्मेदवारीले पर्सा–३ मा विकास र परिवर्तनको नयाँ आशा जगाएको धारणा राखेका छन्।

आयोजकका अनुसार उक्त भेलाले पर्सा–३ मा रूपेश कुमार पाण्डेको उम्मेदवारी केवल आश्वासनमा सीमित नभई काम र परिणाममार्फत प्रमाणित हुने विश्वास थप बलियो बनाएको सन्देश दिएको छ।

साे अवसरमा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, पटेर्वा सुगाैली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिक्षकबाट सांसद उम्मेदवारसम्मः पर्सा–२ की रिमा कुमारी यादवको फरक राजनीतिक यात्रा

0

वीरगंज । राजनीति उनको बाल्यकालको सपना थिएन, न त उनी कुनै ठूला राजनीतिक परिवारको पृष्ठभूमिबाट आएकी हुन् । तर समाजलाई नजिकबाट बुझ्दै जाने क्रममा उनी आज प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर जनताको माझमा उभिएकी छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी २९ वर्षीया रिमा कुमारी यादव पुस्तान्तरण हुँदै गएको राजनीतिमा नयाँ सोच र फरक यात्राको परिचायक बनेकी छन्।

रिमा कुमारी यादव बुबा विश्वनाथ राउत अहिर र आमा सिकीली देवीकी छ सन्तानमध्ये दोस्रो सन्तान हुन्। साधारण पारिवारिक वातावरणमा हुर्किएकी उनले सानैदेखि शिक्षा र अनुशासनलाई प्राथमिकतामा राखिन् । प्राथमिक तहको अध्ययन काठमाडौंको हाँडेगाउँस्थित एकता सदन बोर्डिङ स्कुलबाट गरेकी उनले एसएलसी कलैयास्थित ज्ञानदीप सेकेण्डरी स्कुलबाट उत्तीर्ण गरिन्। त्यसपछि प्लस टु र स्नातक तहसम्मको अध्ययन हरिखेतान बहुमुखी क्याम्पसबाट पूरा गरिन्।

शिक्षा हासिल गरेपछि उनी गाउँकै विद्यालयमा अध्यापन पेशामा संलग्न भइन्। शिक्षकका रूपमा काम गर्ने क्रममा विद्यालयको भौतिक अवस्था, नीतिगत कमजोरी र विद्यार्थीका व्यावहारिक समस्यालाई उनले नजिकबाट बुझ्ने अवसर पाइन्। पढाइ बीचमै छोडेर रोजगारीमा जान बाध्य विद्यार्थी तथा सीमित स्रोतसाधनमै संघर्ष गरिरहेका शिक्षकहरूको अवस्था देख्दा शिक्षा सुधार भाषणमा सीमित हुन नहुने निष्कर्षमा उनी पुगिन्।

सन् २०१८ मा अधिवक्ता प्रधुमन प्रसाद यादवसँग विवाह गरेकी उनी एक छोरा र एक छोरीकी आमा हुन्। पारिवारिक जिम्मेवारीसँगै समाजप्रति उत्तरदायी भूमिकामा सक्रिय रहँदै आएकी यादव शिक्षा, कृषि तथा महिला सशक्तीकरणका विषयमा समेत निरन्तर सरोकार राख्दै आएकी छन्।

गाउँ–समाजमा महिलाहरू अझै पनि निर्णय प्रक्रियामा पुरुषमा निर्भर रहनुपर्ने अवस्था र आर्थिक अभावका कारण धेरै विद्यार्थीले आफ्नो भविष्य अधुरै छोड्नुपर्ने बाध्यता उनले आफ्नै आँखाले देखेकी छन्। यस्ता समस्याको समाधानका लागि राज्यको नीति र नेतृत्व दुवै जिम्मेवार हुनुपर्ने उनको धारणा छ। यही उद्देश्यले संसदसम्म जनताका आवाज पुर्‍याउने अठोटका साथ उनी राजनीतिमा होमिएकी हुन्।

राजनीतिमा नयाँ भएकै कारण पारिवारिक राजनीतिक पृष्ठभूमि नरहेको प्रश्न उठ्ने गरेको स्वीकार्दै उनी भन्छिन्, “राजनीति कसैले जन्मिँदै जानेको हुँदैन। देख्दै, सुन्दै र पढ्दै आएको अनुभवलाई अहिले प्रत्यक्ष अभ्यासमा उतार्ने अवसर पाएकी छु।” जनताका समस्या र गुनासो प्रत्यक्ष सुन्दा समाजको वास्तविक अवस्था अझ प्रस्ट देखिएको उनी बताउँछिन्।

विगतमा धेरै नेताहरूले आश्वासन मात्र बाँडेको भन्दै उनी असन्तुष्टि व्यक्त गर्छिन्। गर्न नसक्ने कामको वाचा गर्नु गलत भएको र बोलेपछि गरेर देखाउनुपर्नेमा उनको जोड छ। यही सोच र प्रतिबद्धतासहित रिमा कुमारी यादव आज पर्सा–२ का मतदातामाझ नयाँ विकल्पका रूपमा अघि बढिरहेकी छन्।

निर्वाचन सुरक्षाका लागि बारा १ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त गस्ती सुरु

0

वीरगंज । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले बाराको कोल्हवी क्षेत्रमा आजदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त गस्ती सुरु गरिएको छ।

नेपाल सरकारको निर्णयअनुसार निर्वाचन सुरक्षालाई लक्षित गर्दै आवश्यक जनशक्ति परिचालन गरिएको हो। संयुक्त गस्तीमा नेपाली सेनाका मेजर बेगम चन्द, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण निजगढका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्दीप अर्याल तथा इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक रञ्जन मिश्रको नेतृत्व रहेको छ।

प्रहरीका अनुसार कोल्हवी नगर क्षेत्रका मुख्य सडक, चोक–चोक तथा संवेदनशील स्थानहरूमा संयुक्त गस्ती सञ्चालन गरिएको छ। विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल तथा मोबाइल गस्तीलाई तीव्र बनाइएको छ। मतदान केन्द्र तथा मतगणनास्थलको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाइएको छ।

निर्वाचन सुरक्षाका लागि तीन घेराको सुरक्षा प्रणाली लागू गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना तैनाथ रहने व्यवस्था गरिएको छ। आवश्यक परेमा मात्र नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गर्ने सुरक्षा निकायले बताएका छन्।

यसअघि मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएपछि सेनाको परिचालन सुरु गरिएको हो।

सुरक्षा निकायहरूले निर्वाचन अवधिभर कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको जनाउँदै सर्वसाधारणलाई ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

उपचारका लागि वीरगंज आएका कालिकामाईका बरईको कुटपिटबाट मृत्यु

0

वीरगंज । वीरगंजमा उपचारका लागि आएका एक जेष्ठ नागरिकको कुटपिटबाट मृत्यु भएको छ। पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ६५ वर्षीय केपी चन्द राउत बरईको कुटपिटबाट ज्यान गएको हो।

घटना वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयलाई लिएर सुरु भएको थियो। बिहीबार राति मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद भएको र सोही विवाद शुक्रबार बिहान पुनः चर्किएर कुटपिटमा परिणत भएको बताइएको छ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवले जेष्ठ नागरिक बरईमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बरईलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

स्थानीयका अनुसार मृतक बरई उपचारका लागि राधेमाईस्थित आफ्नै घरमा आएका थिए । घर अगाडि मोटरसाइकल जबरजस्ती पार्क गर्न खोजेपछि विवाद बढेको जनाइएको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पार्किङ विवादकै कारण धकेलाधकेलको अवस्था सिर्जना भएको र सो क्रममा बरई गम्भीर घाइते भएको जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनासम्बन्धी थप अनुसन्धान तथा मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता पीडित परिवारले घटना बारे जानकारी गराउँदा समेत स्थानीय प्रहरी समयमै नपुगेको आरोप लगाउँदै त्यसकै कारण ज्यान गएको दाबी गरेका छन् ।

पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको घरदैलो तीव्र, धोबिनीमा स्थानीयको उत्साहजनक समर्थन

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले शुक्रबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । पूर्वमन्त्री एवं निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले शुक्रबार धोबिनी गाउँपालिका वडा नं. ४ अन्तर्गत बखरी टोला र लङ्गडी क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले उम्मेदवार रिजाललाई आत्मीय स्वागत गर्दै समर्थन जनाएका थिए । सो अवसरमा रिजालले आगामी निर्वाचन आफ्नाे लागि अन्तिम चुनावी प्रतिस्पर्धा हुन सक्ने उल्लेख गर्दै क्षेत्रको विकासका लागि सहयोग गर्न आग्रह गरे । उनले छोटो समय मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि शिक्षा, स्वास्थ्य, सडक र आधारभूत पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे ।

रिजालले जनतासँग सिधा संवाद गर्दै आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको सुख–दुःखमा साथ दिने नेता भएको उल्लेख गरे । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।”

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता बशिष्ठ नारायण कुर्मी, पर्सा जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, क्षेत्रीय सचिव बलिष्टर अहमदसहित बुथ सभापति, अगुवा कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पर्सा–४ को समग्र विकासका लागि अनुभवी र जनतासँग नजिक रहेको नेतृत्व आवश्यक रहेको बताउँदै कांग्रेस उम्मेदवार रमेश रिजाललाई विजयी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

वीरगंजमा मोटरसाइकल पार्किङ विवादले एक जनाको ज्यान गयो

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादले एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान स्थानीय ६५ वर्षीय केपी चन्द राउत बरई र वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिट हुँदा राउत गम्भीर घाइते भएका थिए । घाइते राउतलाई उपचारका लागि तराई अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा बिहान ०७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार विवाद चर्किँदै जाँदा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।

धकेलाधकेलको क्रममा गम्भीर घाइते भएका राउतलाई तत्काल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान तथा मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।