Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 161

प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिता : मुनलाईट र सनलाईट मावि फाइनलमा प्रवेश

0

वीरगंज । प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट मावि र सनलाईट मावि प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स र मुनलाईट मावि आमनेसामने भएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो। सेन्ट जेभियर्सका ब्याट्सम्यानहरू मुनलाईटका बलरहरू अगाडि खुलेर खेल्न सकेनन्।

८१ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मुनलाईट माविले १३।१ ओभरमै ६ विकेट गुमाएर ८४ रन बनाउँदै ४ विकेटको सहज जित दर्ता गर्‍यो। यस जितसँगै मुनलाईट मावि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो। मुनलाईट यसअघि पनि प्रतियोगिताको नवौँ संस्करणको उपाधि जितिसकेको टोली हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत मुनलाईटका दिलराज यादव ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल सनलाईट मावि र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ रोजेको सनलाईट माविले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। सनलाईटका ब्याट्सम्यानहरूले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

जवाफमा ब्याटिङमा उत्रिएको गोल्डेन फ्युचर ९६ रनमै अलआउट भएपछि सनलाईट मावि १६ रनले विजयी भयो। उक्त खेलमा सनलाईटका सागर रौनियार उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि मुनलाईट मावि र सनलाईट मावि माघ २४ गते शनिबार दिउँसो १ बजे वीरगन्जस्थित टीबी साह क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।

यसअघि सोही दिन बिहान ८ बजे तेस्रो स्थानका लागि सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच प्रतिस्पर्धा हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।

त्यसैगरी, माघ २३ गते शुक्रबार क्वाटरफाइनलबाट बाहिरिएका गौतम मावि र मनकामना मावि तथा वीरगन्ज एकेडेमी र डिएभी स्कूलबीच हुने खेलका विजेताहरूबीच प्लेट च्याम्पियनसिप उपाधिका लागि प्रतिस्पर्धा हुने सचिव संग्रौलाले बताए।

वीरगंज–२७ मा नेकपाको वडा भेला सम्पन्न, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगरपालिका वडा नम्बर–२७ को वडा भेला बिहीबार टोल घुर्मिमा सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलाले पार्टीको संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको छ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीले यसपटकको निर्वाचनमा नेकपाको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । उहाँले जनताको हितमा आधारित नीति, संगठनात्मक एकता र कार्यकर्ताको सक्रियताका कारण नेकपालाई जितको विकल्प नभएको बताउनुभयो।

अकलु यादवको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य किशोरी कुशवाहा, बृजलाल पासवान, विपिन यादव र बिरेन्द्र यादव लगायतका नेताहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै पार्टीलाई जिततर्फ अग्रसर गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

भेलाले अकलु यादवको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। उक्त कमिटीको सह–संयोजकमा मनोज कर्ण चयन हुनु भएको छ। नवगठित कमिटीले वडा तहमा पार्टीको संगठन विस्तार, मतदाता परिचालन र चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय समेत गरेको छ।

पर्सा–१ काे प्रसाैनी बिर्तामा रास्वपा उम्मेदवार हरि पन्तको घरदैलो सम्पन्न

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले प्रसाैनी बिर्ता क्षेत्रका मतदातासँग भेटघाट तथा संवाद गरेका छन्। बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर २३ मा आयोजना गरिएको घरदैलो कार्यक्रममार्फत उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो।

घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरी गरिएको थियो। त्यसपछि कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो। घरघरमा पुगेर उम्मेदवार पन्तले मतदाताको समस्या, गुनासा र अपेक्षा सुन्दै प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य र आगामी कार्यदिशाबारे जानकारी गराउँदै सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक अभ्यासप्रति पार्टीको प्रतिबद्धता स्पष्ट पार्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद, सहभागितामूलक कार्यक्रम तथा घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। पर्सा–१ मा रास्वपाको अभियान जनमुखी र संवादप्रधान ढंगले अघि बढिरहेको संकेतका रूपमा यस कार्यक्रमलाई हेरिएको छ।

पर्सा–४ को भिखमपुर पिपरामा कांग्रेसको घरदैलो, उम्मेदवार रिजालले सुने जनताका गुनासा

0

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत धोबिनी गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने भिखमपुर पिपरामा बिहीबार नेपाली कांग्रेसले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलो कार्यक्रमका क्रममा पर्सा–४ का कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजालले घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गर्नुभयो। भेटघाटका क्रममा स्थानीय मतदाताहरूले गाउँका विभिन्न समस्या, अधुरा तथा अलपत्र परेका विकास योजनाबारे जानकारी गराउँदै उम्मेदवार रिजालको ध्यानाकर्षण गराएका थिए।

स्थानीयको कुरा ध्यानपूर्वक सुन्दै उम्मेदवार रिजालले आफू सधैं जनताको दुःख–सुखमा साथ दिंदै आएको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका क्षेत्रमा आफूले अहिलेसम्म गरेका कामबारे जानकारी गराउँदै आगामी कार्यकालमा विगतमा अधुरा रहेका तथा गर्न नसकेका कामहरूलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘म यही माटोको मान्छे हुँ। जनता नै मेरा शक्ति हुन्। जनताको सेवामा म हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु,’ रिजालले भन्नुभयो।

नेपाली कांग्रेसले युवाको भावना र चाहनालाई सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले पार्टीभित्र नेतृत्व पुस्तान्तरण भएको बताउनुभयो। ‘अहिले कांग्रेसको नेतृत्व गगन थापाजस्ता जुझारु युवाको हातमा आएको छ। कांग्रेस पार्टी परिवर्तनको बाटोमा अघि बढेको छ। हामीले कांग्रेस बदल्यौं, अब कांग्रेसले देश बदल्छ,’ उहाँले भन्नुभयो।

घरदैलो कार्यक्रममा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, नेपाली कांग्रेस पर्साका जिल्ला सहसचिव नवीन सिंह, पर्सा क्षेत्र नम्बर ४ का कांग्रेस क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, बुथ सभापति, अगुवा कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सखुवा प्रसौनीमा एमालेको कार्यकर्ता भेला सम्पन्न, उम्मेदवार पाण्डेद्वारा विकासको भिजन प्रस्तुत

0

वीरगंज । नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटीको आयोजनामा पालिका-स्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिका कमिटी अध्यक्ष शिवनारायण महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा सहभागी हुनुभएको थियो।

कार्यक्रममा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, सखुवा प्रसौनी गाउँपालिका प्रमुख तथा युवा नेता जसवंत यादव, एमाले नेतृ फुलमती चौधरी, बाशुदेव थारू लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका विद्यमान समस्या औँल्याउँदै समाधानमुखी योजना र विकासको स्पष्ट भिजन प्रस्तुत गर्नुभयो। उहाँले आफ्नो नेतृत्वमा विकास, परिवर्तन र जवाफदेही राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले युवा उम्मेदवार पाण्डेलाई पूर्ण समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयी हुने शुभकामना व्यक्त गरे। साथै, आउँदो शनिबार बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई सक्रिय रूपमा लाग्न आह्वान गरिएको छ।

पर्सा–२ की उम्मेदवार रिमा यादवको झावराहामा घरदैलो, स्थानीयद्वारा भव्य स्वागत

0

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले आज पर्सागढी नगरपालिकाको वडा नम्बर–३ झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार यादवलाई भव्य स्वागत गर्दै उत्साहका साथ समर्थन जनाएका थिए। विशेषगरी जेन्जी उमेर समूहका युवाहरूले युवा उम्मेदवार यादवप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै परिवर्तनको पक्षमा उभिएको सन्देश दिएका थिए।

मतदातासँगको प्रत्यक्ष संवादमा उम्मेदवार यादवले आफू राजनीतिमा नयाँ भए पनि समयको माग र युवापुस्ताको चाहनाअनुसार चुनावी मैदानमा उत्रिएको बताइन्। उनले देशले अब नयाँ सोच, नयाँ ऊर्जा र व्यवहारिक नेतृत्व खोजिरहेको उल्लेख गर्दै त्यसै परिवर्तनको अभियानका रूपमा आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन्।

“जेन्जी युवाको आवाजलाई सदनसम्म पुर्‍याउनु र उनीहरूको चाहनाअनुसार नीति निर्माणमा भूमिका खेल्नु मेरो प्राथमिकता हुनेछ,” यादवले भनिन्। उनले रोजगारी सिर्जना, शिक्षा र सीप विकास, प्रविधिमैत्री नीति तथा युवामैत्री विकास कार्यक्रममार्फत नयाँ पुस्तालाई अवसर दिने प्रतिबद्धता व्यक्त गरिन्।

यादवले एमालेको संगठनात्मक शक्ति र अनुभवलाई युवाको जोशसँग जोडेर विकास र स्थायित्व दुवै सुनिश्चित गर्ने दाबी गरिन्। उनले स्थानीय स्तरका समस्या समाधानमा जनताको सुझावलाई केन्द्रमा राखेर काम गर्ने र जनप्रतिनिधिका रूपमा जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाइन्।

घरदैलो कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरू, महिला कार्यकर्ताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

उम्मेदवार यादवले आगामी दिनमा निर्वाचन क्षेत्रका अन्य वडाहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिँदै जनताको मत जित्ने अभियानलाई थप सशक्त बनाउने जानकारी दिइन्।

रास्वपा उम्मेदवार सुशील कानुको रामगढवामा घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू सुने। उनले आफू चुनावमा केवल मत माग्न नभई जनताको वास्तविक आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यसहित उम्मेदवार बनेको स्पष्ट पारे।

मतदातासँगको संवादमा कानुले सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने तथा युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने रास्वपाका प्रमुख चुनावी एजेन्डाहरू प्रस्तुत गरे।

“देशमा दीर्घकालीन परिवर्तनका लागि इमानदार नेतृत्व र काम गर्ने राजनीतिक संस्कार आवश्यक छ, र त्यो जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ,” कानुले भने।

उनले स्थानीय विकासका सन्दर्भमा खानेपानी, सडक, सरसफाइ तथा आधारभूत पूर्वाधारको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै जनताको करको सदुपयोग हुने गरी नीति निर्माण र कार्यान्वयनमा आफू दृढतापूर्वक लाग्ने बताए।

घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार कानुलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा उनीहरूले आगामी निर्वाचनमा कानुलाई विजयी गराउने आश्वासन दिँदै परिवर्तनका लागि रास्वपालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा निर्वाचन क्षेत्रका अन्य वडाहरूमा पनि यस्ता जनसम्पर्क तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने उम्मेदवार कानुले जानकारी दिए।

प्याब्सन टी–२० क्रिकेट: मुनलाईट–सेन्ट जेभियर्स र सनलाईट–गोल्डेन फ्युचरबीच सेमिफाइनल भिडन्त तय

0

वीरगंज । प्याब्सन टी–२० क्रिकेट प्रतियोगिताको रोमाञ्चक क्वार्टरफाइनल चरण सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचर र सनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेपछि प्रतियोगिता थप प्रतिस्पर्धात्मक बनेको छ।

सेमिफाइनल चरणमा चार सशक्त टोलीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ। पहिलो सेमिफाइनल खेलमा मुनलाईट स्कूल र सेन्ट जेभियर्स स्कूल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सनलाईट माध्यमिक विद्यालय र गोल्डेन फ्युचरबीच भिडन्त हुनेछ।

क्वार्टरफाइनल खेलमा गोल्डेन फ्युचरले वीरगंज एकेडेमीलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। सो खेलमा निरञ्जन यादवको प्रभावशाली प्रदर्शन निर्णायक बन्यो। त्यस्तै, सनलाईट माविले डिएभी स्कूलविरुद्ध १०३ रनको फराकिलो जित निकाल्दै आफ्नो दबदबा देखाएको थियो, जहाँ अब्दुल मलिक अन्सारी म्यान अफ द म्याच घोषित भए।

आगामी सेमिफाइनल खेलहरूमा सबै टोली उत्कृष्ट लयमा देखिएकाले दर्शकहरूले उच्चस्तरीय र रोमाञ्चक क्रिकेटको मजा लिन सक्ने अपेक्षा गरिएको छ।

प्याब्सनका सचिव अशोक संग्रौलाका अनुसार सेमिफाइनल खेलहरू २० ओभरका हुनेछन्। प्याब्सन पर्सा अन्तर्गत आबद्ध ४० विद्यालयको सहभागितामा माघ ८ गतेदेखि सुरु भएको १०औँ संस्करणको प्याब्सन नेपाल मेडिसिटी अन्तर–विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने विद्यालयहरू माघ २४ गते शनिबार आमनेसामने हुनेछन्।

योगेश भट्टराईको उपस्थितिमा पर्सा–३ मा एमालेको बृहत कार्यकर्ता भेला हुँदै

0

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले आउँदो शनिबार पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनसपति गाद्दीमाई मन्दिर परिसरमा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। भट्टराई एमाले पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेको निर्वाचन प्रचार–प्रसारणलाई सशक्त बनाउन पर्सा आउन लागेको जनाइएको छ।

आयोजकहरूले उक्त कार्यक्रमलाई पर्सा–३ मा एमालेको निर्वाचन अभियानको टर्निङ प्वाइन्टका रूपमा लिएको बताएका छन्। कार्यक्रममार्फत संगठन सुदृढीकरण, कार्यकर्ताबीच आपसी समन्वय र एकता मजबुत बनाउने तथा निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

कार्यक्रममा घरदैलो अभियानलाई अझ आक्रामक बनाउने, विपक्षी पक्षले फैलाएको भ्रम चिर्ने रणनीतिबारे समेत गहन छलफल हुने आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि एमालेको जित अपरिहार्य रहेको सन्देश दिने र पर्सा–३ लाई पार्टीको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्न कार्यकर्तालाई स्पष्ट कार्यदिशा तथा चुनावी रणनीति दिने तयारी रहेको छ।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । एमाले नेताहरूले सामूहिक उपस्थिति र कार्यकर्ताको उत्साहले पर्सा–३ मा चुनावी माहोल थप तातिने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमलाई आगामी निर्वाचनका लागि नेकपा एमालेको शक्ति प्रदर्शन र एकताबद्ध संघर्षको घोषणाका रूपमा हेरिएको छ।

सिर्सियामा नेकपा उम्मेदवार मनोज चौधरीको युवा भेला, घरदैलोमार्फत जनसम्पर्क विस्तार

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले वीरगंज महानगरपालिका वडा नम्बर–२५ स्थित सिर्सियामा युवा भेला सम्पन्न गरेका छन्।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले नेकपासँग स्पष्ट एजेन्डा र समाजवादी आन्दोलनको ठोस मार्गचित्र रहेको उल्लेख गर्दै युवाहरूलाई एकजुट भई पार्टीको पक्षमा उभिन आह्वान गरे। उनले नेकपा सधैं गरिब, श्रमिक तथा सर्वहारा वर्गको हक–हितका लागि संघर्षरत रहँदै आएको बताए।

चौधरीले देशमा देखिएका विभिन्न विध्वंस र अस्थिरताका लागि नेकपा एमाले जिम्मेवार रहेको दाबी गर्दै परिवर्तनका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको धारणा व्यक्त गरे।

भेलामा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, बृजलाल पासवान, नेता रामाश्रय राम, वीरेंद्र यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

यसैक्रममा उम्मेदवार चौधरीले आजै पर्सागढी नगरपालिकाको वडा नम्बर–७ र ९ अन्तर्गत टिकुलिया–एकटङ्गा तथा बडेरवा क्षेत्रमा घरदैलो कार्यक्रमसमेत सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम तथा प्रतिबद्धताबारे जानकारी गराए।

घरदैलो कार्यक्रममा नेकपाका सुशील हजरा, दीपेन्द्र सिंह पटेल, सोम लामा, जीवन राम, टेकनारायण महतो लगायतका अगुवा कार्यकर्ता तथा नेताहरूको सक्रिय सहभागिता रहेको थियो।