Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 13

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ २९ गते गरेको उपसचिव तथा अधिकृतहरूको सरुवाअन्तर्गत यादवको जगरनाथपुर गाउँपालिकाबाट बाराको विश्रामपुर गाउँपालिकामा सरुवा भएको हो । बिश्रामपुर जान लागेका यादवलाई जगरनाथपुर गाउँपालिकाकाले एक कार्यक्रमबिच सम्मान सहित बिदाई गरेकाे गाउँपालिकाका कर्मचारी मन्जय गिरीले जानकारी दिए ।

विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका केशरीको जगरनाथपुर गाउँपालिकामा सोमबार हाजिर भएपछि उनकाे स्वागत गरिएको गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बविता सिंह क्षेत्री, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारीलगायतले यादवलाई बिदाई गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए । सोही अवसरमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत गर्दै गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन अपेक्षा व्यक्त गरिएको थियो ।

बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृतका रूपमा यादवले गाउँपालिकाको प्रशासनिक तथा विकासका काममा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिए । उनले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यबाट गाउँपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीले गाउँपालिकाको विकास, सेवा प्रवाह र प्रशासनिक कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधि तथा कर्मचारीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले दुवै अधिकृतलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न महानगरको माग

0

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई पत्र पठाउँदै सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत्का तार व्यवस्थापन गर्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या हुने भन्दै अहिले नै विद्युत् तार भूमिगत गर्न आग्रह गरेका हुन् ।

महानगर प्रमुख सिंहले सडक विस्तारको सुरुवातदेखि नै विस्तारपछि निर्माण हुने मुख्य सडकखण्डमा विद्युत् प्रणाली भूमिगत गर्नुपर्ने माग गर्दै आएका थिए । तर डिभिजन सडक कार्यालय, हेटौँडाले नयाँ सडक डिजाइनमा विद्युत्का तार हालकै ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिएपछि महानगरले भूमिगत प्रणालीका लागि पुनः पहल थालेको हो ।

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर विस्तारको काम अन्तिम चरणमा पुगेको अवस्थामा सडकसँगै विद्युत् प्रणालीसमेत भूमिगत गर्नुपर्ने महानगरको धारणा छ ।

महानगरका अनुसार वीरगंज मुलुककै प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई दीर्घकालीन रूपमा आधुनिक, सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन भूमिगत विद्युत् प्रणाली आवश्यक छ ।

विद्युत्का तार भूमिगत गरिए सडकमा रहेका पोल तथा तार हट्ने, सडकको दृश्य सौन्दर्य बढ्ने र विद्युत् प्रणालीसमेत थप सुरक्षित तथा व्यवस्थित हुने महानगरको अपेक्षा छ ।

महानगर प्रमुख सिंहले सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्न तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन ऊर्जा मन्त्रालयसँग आग्रह गरेका छन् ।

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

0

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका साथै सयौँ बिघा खेतीयोग्य जमिनसमेत डुबानमा परेको स्थानीयले बताएका छन्।

डुबानका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ भने आवतजावतमा समेत समस्या भएको छ। लामो समयदेखि पानी निकासको समस्या झेल्दै आएका स्थानीयवासीले तत्काल निकासको व्यवस्था गर्न माग गर्दै आज अलौस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को गेटमा चक्काजाम गरेका छन्।

स्थानीयका अनुसार पानी निकासको उचित व्यवस्थापन नहुँदा वर्षायाममा हरेक वर्ष अठराहा सुगौली क्षेत्र डुबानमा पर्ने गरेको छ। यसपटक पनि लगातारको वर्षापछि ठूलो क्षेत्रफलमा पानी जम्दा खेतीपाती प्रभावित भएको छ भने बस्तीसमेत जोखिममा परेको छ।

समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पानी निकासको व्यवस्था गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। चक्काजामका कारण आईसीपी क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको छ।

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

0

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट होटलमा आइतबार आयोजित कार्यक्रममा नवआबद्ध पत्रकारहरूलाई स्वागत तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

संस्थामा आबद्ध हुनेहरूमा अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा महतो, जितेन्द्र साह, भगवानप्रसाद कुर्मी (कुणाल), पुनम चौधरीलगायत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले नवआबद्ध पत्रकारहरूलाई गम्छा तथा टीका लगाएर प्रमाणपत्र प्रदान गर्दै स्वागत गरे । उनले युवा पत्रकारलाई संगठित गर्दै पत्रकारिताको व्यावसायिक विकासमा संस्थाले भूमिका खेल्नुपर्ने बताए ।

लामिछानेले सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने गतिविधिप्रति पत्रकार महासंघले आवाज उठाउँदै आएको उल्लेख गर्दै पत्रकारहरूले प्रविधिको प्रयोगसँगै खोज तथा अनुसन्धानमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पछिल्लो समय प्रविधिको सहजताका कारण समाचार उत्पादन छिटो भए पनि तथ्यको गहिराइ र विश्वसनीयतामा कमी आउन नदिन पत्रकारहरू सचेत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सञ्चारमाध्यमको आर्थिक अवस्था, पत्रकारले भोग्दै आएका समस्या तथा व्यावसायिक सुरक्षाका विषयमा धारणा राखे । उनले पत्रकारहरूको श्रमको सम्मान, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताका लागि पत्रकारबीच सहकार्य आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारितासँग सम्बन्धित महत्वपूर्ण विषयमा बहस गर्ने वातावरण निर्माण गर्न क्रियाशील युवा पत्रकार मञ्चले भूमिका खेलिरहेको बताए । उनले महासंघ र मञ्चबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेलले पत्रकारहरू विभिन्न पक्षबाट आउने दबाब र घेराबन्दीको सामना गर्दै काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले पेशागत अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले नयाँ पुस्ताका पत्रकारलाई निरन्तर अध्ययन, सिकाइ र तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे ।

संस्थाका सल्लाहकार प्रताप श्रेष्ठले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगले पत्रकारितामा नयाँ चुनौती र अवसर दुवै थपिएको बताए । उनले एआईको प्रयोग गरे पनि पत्रकारहरूले मौलिकता, तथ्य जाँच र खोजमूलक क्षमतालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव तथा प्रेस युनियनका अध्यक्ष विजय चौहान, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार जगत राई, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महासचिव अमित आलोक, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी प्रकाश उपाध्याय तथा संस्थाका निवर्तमान अध्यक्ष प्रणय साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राकेश कुमार साहले सहजीकरण गरेका थिए ।

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

0
एआईकाे सहयाेगमा तयार पारिएकाे तस्बिर

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय राजकपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन् ।

गत आइतबार राति स्थानीय श्रीनिवास साह तुराहाको घरमा चोरी भएको थियो । घरको दोस्रो तल्लामा सुतेकी उनकी पत्नी ६२ वर्षीया लखरजिया देवी सोमबार बिहान सोही कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको कोठामा रहेको दराज र बाक्सा फुटाएर नगद तथा गरगहना चोरी भएको थियो ।

प्रहरीका अनुसार घटनाको राति तीनै जनाले बैठाको घरमा गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएका थिए । त्यसपछि घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलाको झ्यालबाट उनीहरू घरभित्र प्रवेश गरेका थिए । दराज फुटाएर नगद तथा गरगहना चोरी गरेपछि अर्को कोठामा रहेको टिनको बाक्सा फुटाउँदै गर्दा लखरजिया देवी ब्युँझिएर माथिल्लो तलामा पुगेकी थिइन् ।

उनीहरूलाई देखेपछि तीनै जनाले फलामको धारिलो वस्तुले प्रहार गरी लखरजियाको हत्या गरेको र नगद तथा गरगहना लिएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले पटेललाई शुक्रबार वीरगंजबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट चोरी भएको रकम, सुनका गरगहना, गाडीको स्प्रिङ पत्ता एक थान, पिलास एक थान र चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसूरमा सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

0

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनबाट यादव दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन भएका हुन् । यादव जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

क्षेत्रीय सचिवमा बलिष्टर अहमद र सहसचिवमा सञ्जय चौधरी पुनः सर्वसम्मत चयन भएका छन् । यस्तै क्षेत्रीय समिति सदस्यमा अर्जुन तिवारी, गोपीचन राउत कुर्मी, सरेश प्रसाद कुशवाहा, अरुण कुमार अधिकारी, प्रभु प्रसाद चौहान, रञ्जन कुमार चौरसिया र बालकेश्वर राम सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा पूर्व उद्योगमन्त्री रमेश रिजाल, प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, जिल्ला सहसचिव नवीन सिंह, तबरेज अहमद, सहरुम राउत गदी, किशोरी प्रसाद कानु, पञ्चानन्द मिश्र, रेखा चौधरी, गोमा उपाध्याय, गीता विष्ट र शोभा शर्मा सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार क्षेत्र नम्बर ४ (क) प्रदेशसभा निर्वाचन क्षेत्रको सभापतिमा जीवनकृष्ण सापकोटा चयन भएका छन् । उपसभापतिमा मनमोहन महतो थारु, सचिवमा मुकेश महतो तथा सहसचिवमा ललिता देवी र सेवालाल महतो कोइरी चयन भएका छन् ।

सोही प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिमा नवराज फुयाँल, नेपाली प्रसाद कुशवाहा, अफताब मियाँ, दीपेन्द्र चौहान, अनोज चौधरी, सुरेन्द्र महतो, केशव खड्का, रुना माझी, बबिता सिंह क्षेत्रीलगायत २४ जना निर्वाचित भएका छन् ।

निवर्तमान क्षेत्रीय सभापति श्रीकान्त यादवको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

0

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे ।

अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन् ।

त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिनुभयो  ।

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

0

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ ।

यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो ।  देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने र त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने पक्षमा रहेको सो समूहको मागलाई बेवास्ता गर्दै असोज ३ गतेबाट प्रतिनिधि छनोट प्रक्रियामा होमिएको संस्थापन पक्ष अहिले १५औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

यसैबीच, आसन्न महाधिवेशनका क्रममा देउवा समूहद्वारा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेखरेललाई क्रियाशील सदस्यताको विवरण शनिबार हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

संयोजक पौडेलले यही असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको र कूल सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसमध्ये पाँच लाख ७३ हजार ३६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको छ ।”

संयोजक पौडेलले भन्नुभयो, “पहिला पार्टीेले महामन्त्री गगन थापालाई यो जिम्मेवारी दिएकोमा समयमै क्रियाशील सदस्यता नटुङ्गिदा समस्या आएको थियो, तर अहिले शेरबहादुर देउवाले मलाई जिम्मेवारी दिएपछि यसलाई समयमै टुङ्गो लगाएर हस्तान्तरण पनि गरिसकेको छु । अब समयमै महाधिवेशन हुन्छ, यसमा कुनै समस्या छैन ।”

यसैगरी, देउवा समूहका नेता डा महतले भन्नुभयो, “हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ, यसका लागि अन्तिमसम्म प्रयास पनि गरेका हौँ र सबै ढोका खुला राखेर कोसिस पनि गरेका हौँ । तर सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ ।”

वीरगंजमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

0

वीरगंज । वीरगंज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरुप सार्वजनिक विद्युत्का खम्बा तथा सार्वजनिक स्थानमा नियमविपरीत राखिएका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री आजदेखि हटाउन सुरु गरेको हो ।

महानगरपालिकाले सार्वजनिक पोल तथा स्थानमा विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिन आग्रह गर्दै वीरगञ्जका विभिन्न चोक तथा सडकका विद्युत् खम्बामा जथाभावी टाँगिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री हटाउने कामको थालनी गरिएको महानगरका हरियाली संयोजक प्रकाश खेतानले जानकारी दिनुभयो ।

महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत वीरगञ्जका मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका प्रचार सामग्री हटाउने कार्य तीव्र पारिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने दायित्व हामी सबैको हो, त्यसैले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने र अनुमतिविना विज्ञापन राख्ने छुट कसैलाई छैन ।”

महानगरपालिकाले कुनै पनि अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री नराख्नसमेत सम्बन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको छ ।

अहिले सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको मुख्य सडकलाई आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने उद्देश्यअनुरुप त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्ने उद्देश्यअनुसार घरहरु भत्काउने काम सम्पन्न गरेको छ ।

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

0

रौतहट । अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित तटबन्धमा कटान तीव्र बनाएसँगै आसपासका बस्ती तथा भू–भाग प्रभावित भएको छ ।

सो नदीमा पानीको बहाव बढेसँगै तटबन्ध आसपासका क्षेत्रमा कटान भइरहेकाले तटबन्ध भत्की नदीको पानी बस्ती तथा खेतीयोग्य जमिनमा पस्नसक्ने जोखिम बढेको छ ।

यसैबीच, निरन्तरको वर्षासँगै आएको बाढीले स्थानीय जनजीवन प्रभावित भइरहेको अवस्थामा जिल्ला प्रशासन तथा स्थानीय जनप्रतिनिधि सम्मिलित टोलीले आजै जोखिम क्षेत्रको अवलोकन गरी बाढी प्रभावित स्थानीयलाई आश्वस्त रहन अनुरोध गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजालसहित सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साहलगायत जनप्रतिनिधि सम्मिलित टोलीले तटबन्ध तथा कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी बाढी प्रभावित क्षेत्रको जनतासँग आज छलफल गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले मर्यादपुरस्थित लालबकैया नदीको तटबन्ध भत्किएमा मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहित आसपासका बस्ती प्रभावित हुनसक्ने भनी सचेत गराउँदै प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थासहित आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरी तटबन्धको अवस्था तथा नदीको बहावबारे निरन्तर अनुगमन गर्न निर्देशन दिएको जानकारी दिँदै वर्षाको समयमा सचेत र सजग रहन प्रभावित  क्षेत्रका जनतासँग अनुरोध गर्नुभयो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्ध पनि कटानमा परेकाले त्यसबाट प्रभावित आसपासका क्षेत्रसहित सदरमुकाम गौरसम्मका जनतालाई पनि सजकता अपनाउन अनुरोध गरेको छ ।