वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका साथै सयौँ बिघा खेतीयोग्य जमिनसमेत डुबानमा परेको स्थानीयले बताएका छन्।
डुबानका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ भने आवतजावतमा समेत समस्या भएको छ। लामो समयदेखि पानी निकासको समस्या झेल्दै आएका स्थानीयवासीले तत्काल निकासको व्यवस्था गर्न माग गर्दै आज अलौस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को गेटमा चक्काजाम गरेका छन्।
स्थानीयका अनुसार पानी निकासको उचित व्यवस्थापन नहुँदा वर्षायाममा हरेक वर्ष अठराहा सुगौली क्षेत्र डुबानमा पर्ने गरेको छ। यसपटक पनि लगातारको वर्षापछि ठूलो क्षेत्रफलमा पानी जम्दा खेतीपाती प्रभावित भएको छ भने बस्तीसमेत जोखिममा परेको छ।
समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पानी निकासको व्यवस्था गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। चक्काजामका कारण आईसीपी क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको छ।








