वीरगञ्ज। पर्साको बहुदरमाई नगरपालिका–२, पिपरामा ऐतिहासिक बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा आयोजना हुने पाँचदिने मेलाको पहिलो दिन बिहानैदेखि भक्तजन तथा दर्शनार्थीहरूको उल्लेख्य भीड लागेको छ।
कार्तिक पूर्णिमाका दिन नजिकै रहेको तिलावे नदीमा स्नान गरी बहुदरमाई माताको दर्शन गर्ने धार्मिक परम्पराअनुसार बिहानैदेखि श्रद्धालुहरू मेला क्षेत्रमा पुगेका थिए। मेलामा पर्सा र बारा जिल्लाका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थीहरू सहभागी भएका छन्।
बहुदरमाई माताको नामबाटै नगरपालिकाको नामकरण भएकाले यस मेलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व विशेष रहेको छ। सयौँ वर्ष पुरानो इतिहास बोकेको यो मेला परम्परागत रूपमा पाँच दिनसम्म सञ्चालन हुँदै आएको स्थानीय नेता शिव पटेलले जानकारी दिए।
पटेलका अनुसार यस वर्ष मेलालाई थप आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक साधन तथा अन्य सुविधाको व्यवस्था गरिएको छ। धार्मिक आस्थासँगै मनोरञ्जनका विभिन्न साधन मेलाका मुख्य आकर्षण बनेका छन्।
मेलामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता देखिएको छ। परिवार तथा आफन्तसँग मेला भर्न आउनेहरूको चहलपहलले पिपरा क्षेत्रको वातावरण उत्सवमय बनेको छ।
धार्मिक आस्था, परम्परा र स्थानीय सांस्कृतिक पहिचानसँग जोडिएको बहुदरमाई मेलाले सामाजिक सद्भाव कायम राख्नुका साथै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मंगलबारदेखि सुरु भएको मेला आगामी पाँच दिनसम्म सञ्चालन हुनेछ।








