वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा निकालिएको सचेतनामूलक र्यालीले यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने, हिंसामुक्त समाज निर्माणका लागि नागरिकलाई जिम्मेवार बनाउने तथा यस्ता घटनाको रोकथाममा समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्य राखेको थियो ।
वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः घण्टाघर चोकमै पुगेर समापन भएको थियो । र्यालीमा सहभागीहरूले यौनजन्य हिंसा अन्त्य गर्नुपर्ने, महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र हिंसाविरुद्ध सबै नागरिक एकजुट हुनुपर्ने सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेललगायत सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा यौनजन्य हिंसा समाजको गम्भीर समस्या भएकाले यसको नियन्त्रणका लागि प्रहरी प्रशासनको प्रयास मात्र पर्याप्त नहुने र परिवार, विद्यालय, समुदाय तथा नागरिक समाजको समेत सक्रिय भूमिका आवश्यक रहेको सन्देश दिइएको थियो ।
विशेषगरी महिला तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहार, हिंसा र शोषणका घटनालाई न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतना बढाउनुपर्नेमा जोड दिइएको थियो । यस्ता घटनाविरुद्ध आवाज उठाउने, पीडितलाई न्याय प्रक्रियामा सहयोग गर्ने र हिंसाका घटनालाई लुकाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो ।
प्रहरीको स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी समुदायसँगको सम्बन्ध सुदृढ बनाउने र सामाजिक अपराधविरुद्ध नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।








