वीरगञ्ज । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
देशभर मंगलबार र बुधबार सञ्चालन भइरहेको अभियानअन्तर्गत पर्साका १४ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि तथा बालभिटा वितरण गर्न लागिएको हो।
जनस्वास्थ्य कार्यालय पर्साका पोषण कार्यक्रम प्रमुख अनिल मिश्राका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
उनका अनुसार वीरगञ्ज महानगरपालिकामा ३३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र ३० हजारलाई जुकाको औषधि खुवाउने लक्ष्य छ। त्यस्तै, बहुदरमाई नगरपालिकामा ५ हजार ४०० र पोखरिया नगरपालिकामा ५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ।
यसैगरी जगरनाथपुर गाउँपालिकामा ४ हजार ४००, सखुवाप्रसौनीमा ४ हजार, छिपहरमाईमा ३ हजार ६००, धोबिनीमा ३ हजार ४०० तथा जिराभवानी, कालिकामाई, पटेर्वासुगौली र पकाहामैनपुरमा जनही २ हजार ८०० बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य छ।
त्यस्तै, ठोरी गाउँपालिकामा २ हजार ६००, पर्सागढी नगरपालिकामा २ हजार ६०० र बिन्दवासिनी गाउँपालिकामा २ हजार ८०० बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ।
जुकाको औषधितर्फ वीरगञ्जमा ३० हजार, पोखरियामा ४ हजार ४००, बहुदरमाईमा ४ हजार ५००, जगरनाथपुर र सखुवाप्रसौनीमा जनही ४ हजार तथा छिपहरमाईमा ४ हजार बालबालिकालाई औषधि खुवाउने लक्ष्य रहेको मिश्राले जानकारी दिए।
यसअघि हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको पहिलो चरणको कार्यक्रम यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गरिएको हो।
नेपाल सरकारले बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तथा दोस्रो चरणको कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन गरिनेछ।
बालबालिकालाई निर्धारित उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानमा सहभागी गराउन जनस्वास्थ्य कार्यालयले अभिभावकलाई आग्रह गरेको छ।








