वीरगन्ज । भारतबाट भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको चाँदीसहित दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र बाराको गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ मा बस्दै आएका ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट उनीहरूलाई २७.७० तोला चाँदीसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ४४१७ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गरेको थियो । सोही क्रममा मोटरसाइकलमा सवार सर्राफ र सहनीको साथबाट २७.७० तोला चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद चाँदीसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।








