वीरगन्ज । भन्सार राजस्व नतिरी लामो समयदेखि वीरगन्जमा सञ्चालन हुँदै आएका दुई वटा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा सोमबार खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकबाट भारतीय नम्बर प्लेटको बोलेरो र मारुती सुजुकी कार बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो ।
पर्सा जिल्लाका ग्रामीण तथा बजार क्षेत्रमा अनधिकृत रूपमा भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालन भइरहेको भन्ने सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा ती गाडी फेला पारेको जनाएको छ ।
बरामद गरिएका दुवै सवारीसाधनको हकदाबी गर्न कोही पनि नआएपछि प्रहरीले करिब २२ लाख रुपैयाँ मूल्यांकन गरेको थियो ।
प्रहरीले थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि मंगलबार दुवै सवारीसाधन वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








