वीरगंज । वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा दक्षिण टोलमा जनमत पार्टीले टोलस्तरीय दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले मधेस आन्दोलन तथा ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न मधेसी जनता सदैव सचेत रहनुपर्ने बताएका छन् ।
उनले वर्तमान सरकारले मधेस र मधेसी जनताको हकअधिकार कटौती गरिरहेको आरोप लगाउँदै सीमाक्षेत्रमा सर्वसाधारणलाई अपराधीजस्तो व्यवहार गर्ने गरिएको दाबी गरे । यस्ता गतिविधिविरुद्ध मधेसी जनताले खबरदारी गर्नुपर्नेमा जोड दिँदै उनले छठ पर्वपछि ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रम्भा मिश्र, जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्ता, जिल्ला सचिव फुलेना कुशवाहा, सहसचिव सत्जुग साह, जिल्ला सदस्यहरू निकेश महतो, तुलसी राम, अलि अकबर मियाँ, दलित जिल्ला अध्यक्ष रामनरेश राम, नेता नसिबलाल सेठ, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी नेताहरूले दीपावली तथा छठ पर्वको अवसरमा टोलवासी र नगरवासीमा सुख, शान्ति, समृद्धि तथा आपसी सद्भावको शुभकाम व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जनमत पार्टी पर्साका जिल्ला प्रवक्ता सहनवाज राकीले गरेका थिए ।








