Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

काम नसकिँदै अस्पताल उद्घाटन गर्न खोज्दा फेटामा किन चल्यो गोली ?

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन् । घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गोली लागेर घाइते भएका पासवानको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बालकको शरीरबाट गोली निकालिएको छ भने उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेका छन् । स्थानीयले प्रहरीको एउटा मोटरसाइकलसहित १० वटा मोटरसाइकलमा आगो लगाएको बताइएको छ । झडपका क्रममा शिक्षक लालबाबु साहसहित केही स्थानीय र प्रहरीसमेत घाइते भएका छन् ।

सुरक्षाकर्मीको बाक्लो परिचालनपछि अस्पताल आसपासको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन् ।

काम नसकिँदै उद्घाटन गर्न खोजेको भन्दै स्थानीयको विरोध

फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर केही दिनदेखि विवाद चलिरहेको थियो । तत्कालीन विवेकशील साझा पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले शनिबार दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरेका थिए । हाल अध्यक्ष अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका छन् । उद्घाटनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा तत्कालीन विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा आउने कार्यक्रम थियो ।

तर, अस्पतालको निर्माण तथा व्यवस्थापनसम्बन्धी काम पूर्ण रूपमा सम्पन्न नभएको भन्दै गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल पाल, वडा नम्बर ३ का पूर्ववडाध्यक्ष उपेन्द्र साह, शिक्षक लालबाबु साहलगायत स्थानीयले उद्घाटन कार्यक्रम रोक्न माग गरेका थिए ।

स्थानीयका अनुसार अस्पतालमा विद्युत् जडान, फर्निचर व्यवस्थापनलगायतका काम बाँकी नै थिए । ती काम पूरा भएपछि मात्रै अस्पताल उद्घाटन गर्नुपर्ने उनीहरूको माग थियो । स्थानीयले यस विषयमा स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराएका थिए ।

विवादकै बीच सांसद बास्कोटा उद्घाटन कार्यक्रममा सहभागी हुन बारा पुगेकी थिइन् । स्थिति तनावपूर्ण बन्न सक्ने देखिएपछि स्थानीय प्रशासनले गाउँपालिका अध्यक्ष अंसारीलाई कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो । तर, अध्यक्ष अंसारी उद्घाटन कार्यक्रम पछाडि सार्न तयार नभएपछि विवाद थप चर्किएको थियो ।

अस्पताल उद्घाटनको विरोधमा रहेका स्थानीयले शनिबार बिहान ९ बजेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले अस्पताल परिसरमा लगाइएको टेन्ट र शिलालेख भत्काएका थिए । उद्घाटन रोक्नुपर्ने मागमा अडिग स्थानीय र कार्यक्रम सञ्चालन गर्ने पक्षबीच तनाव बढ्दै गएको थियो ।

प्रहरी र स्थानीयबीच झडप, गोली लागेर बालक घाइते

विवाद बढ्दै गएपछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले पूर्वअध्यक्ष पाल र पूर्ववडाध्यक्ष साहलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि प्रहरी र स्थानीयबीच झडप सुरु भएको थियो ।

झडपका क्रममा स्थानीयले प्रहरी र नवनिर्मित अस्पताल भवनमा ढुङ्गामुढा गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय आदित्य पासवान घाइते भएका हुन् । बालकलाई गोली लागेपछि आक्रोशित स्थानीयले अस्पताल परिसरमा तोडफोड र आगजनी गरेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि अस्पताल परिसरमा रहेका सुरक्षाकर्मी, कर्मचारी र केही सञ्चारकर्मीसमेत केही समय फसेका थिए । सञ्चारकर्मीहरू बाहिर निस्कन सफल भए पनि सुरक्षाकर्मी र कर्मचारीलाई थप मद्दतका लागि पुगेको प्रहरी टोलीले उद्धार गरेको थियो ।

घटनापछि फेटा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवाद गोलीकाण्ड र आगजनीसम्म पुगेपछि स्थानीय प्रशासनले दुवै पक्षसँग संवाद गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...