Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पर्सामा बेमौसमी वर्षाले हिउँदेबालीमा क्षति, किसान दोहोरो मारमा

spot_img
spot_img

सेढवा । शुक्रबार बिहानदेखि परेको बेमौसमी अविरल वर्षाका कारण पर्सा जिल्लाका किसानले लगाएको हिउँदेबालीमा क्षति पुगेको छ । वर्षाले तोरी, सुर्ती तथा विभिन्न हिउँदे तरकारीबाली प्रभावित बनाएपछि किसान चिन्तित बनेका छन् । पाकेको धान भित्र्याउनसमेत समस्या भएपछि किसान दोहोरो मारमा परेका छन् ।

पर्साको ठोरी गाउँपालिकामा वर्षाको असर बढी देखिएको छ । त्यहाँका किसानले लगाएको तोरी, सुर्ती, राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बालीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।

ठोरी गाउँपालिका–४ विजयबस्तीका किसान अर्जुन श्रेष्ठका अनुसार यस क्षेत्रका किसानको मुख्य नगदेबाली सुर्ती हो । सुर्तीको रोपाइँ सम्पन्न भइसकेको अवस्थामा परेको बेमौसमी वर्षाले बालीमा ठूलो क्षति पुर्‍याएको उनले बताए । पुनः रोपाइँका लागि आवश्यक बिरुवा उपलब्ध नहुने र खेती गर्ने समयसमेत घर्किसकेकाले किसान थप समस्यामा परेको श्रेष्ठको भनाइ छ ।

त्यस्तै, पर्सामा सबैभन्दा बढी तोरी खेती हुने ठोरी गाउँपालिका–५ सुवर्णपुरका किसान पनि वर्षाबाट प्रभावित भएका छन् । सुवर्णपुरमा प्रत्येक वर्ष करिब ६ सय बिघा जमिनमा तोरी खेती हुँदै आएकोमा यस वर्षको अविरल वर्षाले अधिकांश खेतीमा क्षति पुर्‍याएको वडाध्यक्ष अष्टबहादुर लोप्चनले बताए ।

उनका अनुसार यस क्षेत्रका करिब ९५ प्रतिशत खेतीयोग्य जमिनमा तोरी छरिसकिएको थियो। किसानले खेत दुई पटक जोतेर रासायनिक मल प्रयोग गरी बीउ छरेका थिए । तर, बीउ उम्रिन नपाउँदै परेको अविरल वर्षाले तोरी खेती नष्ट गरेको उनले जानकारी दिए ।

एकातिर तोरी खेतीका लागि आवश्यक डीएपी, युरिया र पोटासलगायतका रासायनिक मलको अभाव थियो। अर्कोतिर जसोतसो बीउ र मलको व्यवस्थापन गरेर छरेको तोरीसमेत वर्षाले नष्ट गरेपछि किसान थप चिन्तित बनेका छन् ।

अब पुनः खेती गर्न किसानले बीउबिजन, रासायनिक मल र खेत जोताइमा दोहोरो खर्च गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष लोप्चनले बताए ।

ठोरीसँगै अन्य पालिकाका किसान पनि प्रभावित हुने चिन्ता

बेमौसमी वर्षाको असर ठोरीमा मात्रै सीमित नरही पर्सा जिल्लाका अन्य पालिकामा समेत परेको हुन सक्ने देखिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको हिउँदे तरकारीबाली र खेतमा पाकेर तयार भएको धान वर्षाका कारण प्रभावित हुन सक्ने भन्दै किसान चिन्तित छन् ।

विशेषगरी धान काट्ने र भित्र्याउने समयमा परेको वर्षाले किसानको मेहनत र लगानी जोखिममा पारेको छ । खेतमा पानी जम्दा धान काट्न, सुकाउन र सुरक्षित रूपमा भण्डारण गर्न समस्या हुने देखिएको छ । तरकारीबालीमा समेत पानी जम्ने र अत्यधिक चिस्यानका कारण क्षति पुग्न सक्ने जोखिम छ ।

ठोरीका किसानले राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बालीमा समेत वर्षाले क्षति पुर्‍याएको गुनासो गरेका छन् ।

यसरी बेमौसमी वर्षाले एकातिर हिउँदेबाली नष्ट गरेको छ भने अर्कोतिर पाकेको धान भित्र्याउन अवरोध पुर्‍याएको छ । खेतीमा भएको क्षतिको यकिन विवरण संकलन, प्रभावित किसानको पहिचान र आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्न सम्बन्धित स्थानीय तहले ध्यान दिनुपर्ने देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...