वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी (आईसीपी) को स्थलगत अनुगमन गरेका छन्।
मंगलबार गरिएको अनुगमनका क्रममा उनीहरूले बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापन, रेल सञ्चालन तथा आयात–निर्यात प्रक्रियाबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा बन्दरगाह सञ्चालक कम्पनीका प्रतिनिधिहरूले प्रवेशद्वार २४ सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेका थिए। त्यसपछि समितिका सभापति गजुरेलले आवश्यक सहजीकरणका लागि भन्सार विभागका महानिर्देशकलाई अनुरोध गरेका छन्।
हाल वीरगञ्ज सुक्खा बन्दरगाहमा मासिक औसत ११० वटा मालवाहक रेल आउने गरेका छन् भने एकीकृत जाँचचौकीबाट दैनिक करिब ८०० मालवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
अनुगमनका क्रममा सभापति गजुरेलले रेल पूर्वाधारको अधिकतम उपयोग गरी मालसामान ढुवानी प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विशेषगरी रासायनिक मल आयातका क्रममा हुने भन्सार प्रक्रियालाई सहज र व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
त्यसैगरी, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेललाई अन्य पूर्वाधार क्षेत्रमा समेत विस्तार गर्ने विषयमा छलफल भएको थियो। सभापति गजुरेलले सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यबाट बन्दरगाहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिने बताएका छन्।
वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको सञ्चालन तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै आयात–निर्यात प्रक्रियामा हुने ढिलाइ कम गर्न अनुगमनले सहयोग पुग्ने अपेक्षा गरिएको छ।








