वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै आगामी कात्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म मधेश प्रदेशलगायतका क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न प्रशासनले कात्तिक १२, १३ र १४ गते विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रशासनले किसानहरूलाई पाकेको धान काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न वा उक्त अवधिमा स्थगित गर्न आग्रह गरेको छ। त्यस्तै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था आएमा मौसमको अवस्था बुझेर मात्र निस्कन सुझाव दिएको छ।
जिल्लाका साना तथा ठूला नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्दै आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई विशेष चनाखो रहन प्रशासनले अनुरोध गरेको छ।
विपद्को जोखिमबाट बच्न तथा आवश्यक जानकारी लिन प्रशासनले विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। जसअनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्सम्बन्धी सूचनाका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रशासनले मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक मौसम पूर्वानुमान र पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गरी आवश्यक सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।









