वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका छन्।
वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष धुरन प्रसाद कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सन्तोष पटेल, कलावती देवी, आरती पटेल, छठु प्रसाद कुर्मी र वीरेन्द्र महरालगायतले रक्तदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले रक्तदान मानव सेवाको उत्कृष्ट कार्य भएको बताए। उनले रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन रक्तदान कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरे।
स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै उनले रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिए। रक्तदानले समाजमा मानवीय सेवा, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, हिन्दूवादी नेता सन्तोष पटेल, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे तथा समाजसेवी हरेन्द्र पटेललगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, संस्थाका सचिव मुकेश पटेल, कोषाध्यक्ष मुनेश पटेल तथा अन्य सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।








