काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन, जिम्मेवार कार्यशैली र नेतृत्व क्षमताका लागि परिचित थापालाई उहाँले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एसएसपी थापालाई सम्मान गर्नुभएको हो ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत अन्वेषण निर्देशनालयमा कार्यरत थापा अनुभवी र जिम्मेवार प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ । उहाँले सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन तथा संगठनात्मक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै प्रहरी सेवाको व्यावसायिकता अभिवृद्धिमा योगदान पुर्याउँदै आउनुभएको छ ।
काठमाडौं जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, सम्भावित सुरक्षा चुनौतीको व्यवस्थापन गर्ने तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने कार्यमा समेत थापाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । संवेदनशील परिस्थितिमा समयमै निर्णय लिन सक्ने क्षमता, मातहतका प्रहरी कर्मचारीको प्रभावकारी परिचालन र जिम्मेवारीप्रतिको प्रतिबद्धताले उहाँलाई कुशल नेतृत्वकर्ताका रूपमा स्थापित गरेको छ ।








