काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ ।
त्यस्तै, मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
दिउँसो देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने विभागले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।








