वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै दैनिकले वार्षिकोत्सवलाई उत्सवमा मात्र सीमित नराखी सेवामूलक कार्यक्रमका रूपमा मनाएको हो ।
हाम्रो नेपाल दैनिककी सञ्चालक प्रीति चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया प्रमुख अतिथि थिए । उनले दैनिकको छैटौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चारमाध्यमको उत्तरोत्तर प्रगति, निरन्तर सफलता र व्यावसायिक विकासको कामना गरे ।
पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै उनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । वार्षिकोत्सवका अवसरमा मानवसेवा आश्रममा भोजन सेवा सञ्चालन गर्नु सकारात्मक सामाजिक पहल भएको उनको भनाइ थियो ।
कार्यक्रमकी अध्यक्ष तथा सञ्चालक प्रीति चौरसियाले दैनिकको छैटौँ वार्षिकोत्सवसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने विज्ञापनदाता, पाठक, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरिन् । पाठकहरूको विश्वास, विज्ञापनदाताको सहयोग र शुभेच्छुकहरूको सद्भावले सञ्चारमाध्यमलाई निरन्तर अगाडि बढ्न प्रेरणा मिलेको बताउँदै उनले आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले असहाय तथा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा नेको इन्स्योरेन्स लिमिटेड वीरगंज शाखाका प्रमुख तथा मधेस प्रदेशका क्लस्टर हेड विक्रम आले, रामेश्वर चौरसियालगायत पर्सेली सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमले पत्रकारिता र सामाजिक सेवाबीचको सम्बन्धलाई उजागर गर्दै समाजमा सहयोग, सद्भाव र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । दैनिकले आगामी दिनमा पनि पत्रकारितासँगै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।








