वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।
गाउँपालिकाको सभाहलमा अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जु देवी पटेलको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाका कार्यक्रम सञ्चालन गरिने बताए । उनले स्थानीय आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकास निर्माणका कामलाई अगाडि बढाइने उल्लेख गरे ।
अध्यक्ष चौहानले गाउँसभा ढिलो गरी सम्पन्न हुँदा विकास निर्माणका काम तथा सर्वसाधारणको दैनिक कामकाजमा समेत असर परेको स्वीकार गरे । गाउँसभा सम्पन्न भएसँगै रोकिएका तथा प्रभावित विकास निर्माणका कामलाई तीव्रता दिने र गाउँपालिकाबाट प्रदान गरिने सेवालाई छिटोछरितो तथा प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले आफूले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए । उनले गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
गाउँसभामा वडाध्यक्षहरू बन्धु साह तेली, देवेन्द्र पटेल, राजकिशोर पटेल, अबास मियाँ चुरिहार र मनाउर मियाँलगायत गाउँसभा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख दीपेन्द्र प्रसाद चौहानले गरेका थिए ।








