वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी कार्यालयको अभिलेखमै नदेखिएको श्रेस्ता भूमि प्रशासन कार्यालय, पर्सामा पुगेपछि प्रक्रिया रोकिएको हो ।
वीरगंज १० स्थित रहेको कित्ता नम्बर २९, ५५ र १४७ को जग्गा वीरगंज–८ निवासी श्रीमती सुलोचना देवी प्रधान, आनन्द प्रसाद श्रेष्ठ, जुनि प्रधान श्रेष्ठ र आशा प्रधान श्रेष्ठसहित पाँच जनाको नाममा दर्ता तथा हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको प्रमाण कालिका टाईम्सलाई फेला परेको छ ।
करिब ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको श्रेस्ता नापी कार्यालयलाई जानकारी नै नदिई भूमि प्रशासन कार्यालयमा पुगेको जनाइएको छ । उक्त विषयको सूचना बाहिरिएपछि भूमि प्रशासन कार्यालयले टिपनी आदेश तथा निर्णयसमेत तयार पारिसकेको अवस्थामा हालसाबिकको प्रक्रिया रोकेको हो ।
प्रचलित प्रक्रियाअनुसार नापी कार्यालयले सम्बन्धित जग्गाको नापजाँच गरी व्यक्ति वा ऐलानी जग्गा के हो भन्ने यकिन गर्नुपर्ने हुन्छ । त्यसपछि टिपनी आदेशसहित स्थायी लालपुर्जा तथा श्रेस्ता कायम गरी निर्णयको पत्रसहित अभिलेख भूमि प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीहरू बताउँछन् ।
तर, उक्त जग्गाको हकमा नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र भूमि प्रशासन कार्यालयमा पुगेको देखिएको छ । नापी कार्यालयका अमिन तथा नापी अधिकृतको हस्ताक्षरसमेत रहेको उक्त श्रेस्ता नक्कली भएको आशंका भएपछि भूमि प्रशासन कार्यालयले प्रक्रिया रोकेको वताएकाे छ । उक्त निवेदन असोज ९ गते भूमि प्रशासन कार्यालयमा दर्ता भएको देखिएको छ ।
भूमि प्रशासन कार्यालयका कर्मचारी श्रीनारायण साह र मिरा राईमार्फत प्रक्रिया अघि बढाइएको थियो । सेवाग्राही मार्फत हाल नामसारी कायम गरी जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्न निवेदन दर्ता भएपछि श्रेस्तामाथि शंका उत्पन्न भएको कर्मचारी साहले बताए ।
“नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र निवेदनमा आएको थियो । नापी कार्यालयले जारी गरेको श्रेस्तामाथि शंका लागेपछि प्रक्रिया रोकिएको हो,” साहले भने ।
नापी कार्यालय, पर्साका सूचना अधिकारी तथा नापी अधिकृत ई. राजकुमार विश्वकर्माले उक्त श्रेस्ता नापी कार्यालयको अभिलेखमा नदेखिएको बताए । नापी कार्यालयको मूल ढड्डामा समेत सो श्रेस्ता प्रमाणित भएको अभिलेख नभेटिएको उनको भनाइ छ ।
यता, भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीले नापी कार्यालयबाट जारी हुने श्रेस्ताको जिम्मेवारी सम्बन्धित नापी कार्यालयकै हुने बताए । नापी कार्यालयले जारी गर्नुपर्ने श्रेस्ता नक्कली अवस्थामा आफ्नो कार्यालयमा पुगेपछि त्यसबारे जानकारी माग्दै नापी कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए ।
“श्रेस्ता नक्कली सावित भएमा त्यसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ,” खत्रीले भने ।
नक्कली श्रेस्ताको आधारमा बहुमूल्य जग्गाको लालपुर्जा बनाउने प्रक्रिया अघि बढेको विषयले भूमि प्रशासन र नापी कार्यालयको भूमिकामाथि समेत प्रश्न उठाएको छ । समाचार स्रोतका अनुसार यश कार्यमा नापी र भूमि प्रशासन कै कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ ।
यस विषयमा बुझ्न जग्गाधनी पक्षसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । यश विषयमा थप समाचार अर्को अंंकमा प्रकाशित गरिने छ ।








