बैंकक । थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक तथा बस्तीमा पानी जम्दा यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
एपी न्युजका अनुसार बैंककमा गत बिहीबारदेखि हिजो दिउँसोसम्म ३०० मिलिमिटरसम्म वर्षा भएको छ। भारी वर्षापछि बैंककका सबै ५० जिल्लालाई बाढी प्रभावित विपद् क्षेत्र घोषणा गरिएको छ।
लगातारको वर्षाका कारण राजधानीका विभिन्न सडक जलमग्न भएका छन्। थाइल्याण्डको मौसम विभागले सक्रिय न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बैंककसहित मध्य थाइल्याण्डमा आजसम्म अत्यधिक भारी वर्षा हुनसक्ने जनाएको छ।
नदी तथा नहर आसपासका क्षेत्र र होचा भूभागमा बाढी तथा डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। भोलिदेखि वर्षा केही कम हुने अनुमान गरिए पनि उत्तरी तथा मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै भारी वर्षा हुनसक्ने मौसम विभागले जनाएको छ।








